– व्यंग्यनारान पाँडे
थैट् ! गफाडी पनि कति थरिथरि थर-गाेत्रका गाँठे !…
एउटा गफाडी अथवा हाँकडाँकेले अध्यक्ष पद कब्जा गरेर चलाइरहेकाे, पार्टीकाे बगालमा जन्डाे पार्टी भनेर चिनिने, काटीकुटी द्वापर युगकाे ‘कबिला’ चलाएर फाइदा उठाउनसम्म उठाएपछि साे पार्टीका अध्यक्ष (मालिक ?)-ले र उनका ठीक मुन्तिरका अथवा मातहती दाेस्रा दर्जादेखि तल-तल अथवा बालुवाटार-सिंहदरवारमा पहूँच हाँकिसकेकादेखि देशका वार्ड-वार्डसम्मका दर्ज्यानी नेता-अगुवाहरूलाई झ्याइँकुटी खेलाइरहेका छन् । यद्यपि त्याे त एउटा मान्छेकाे हुकुमी-पीडाकाे कुराे मात्र हाे र उसैका हाल ‘आवारा’-काे ‘ट्याग्’ लागेका र तिनका गाेहाे पछ्याउने दर्ज्यानी झाेले-गुइँठेहरूले मात्र बेहारिरहेकाे कुराे हाे । तर, हामीले त त्यस्तै किसिमथरिका घमण्डी, अहंकारी, फटिचर, लाेक्ते, लम्फु, डेढ अक्कली, फुइँबाज, धतुरे , दाेमुखे, सन्काहा, साइँदुवा, गाढे-च्याने, हर्रामी, कपटी, लम्पट, ढँटुवा, पढ्के, लाेभी-पापी, हनुमाने, झाेले, गणेश चक्करे, पुच्छरे, बखेडे, गेजु-गुल्चे, अरिमठे, अचाढू, उरन्ठ्याैलाे, काैडे-कन्दने आदि-इत्यादि किसिमथरिका मनुवाहरूका कुनै न कुनै किसिमकाे प्रकाेप भाेगिरहेका छाैं । हामी भनेकाे काे भनेकाे ? भन्नु हाेला फेरि !…याे संघीय लाेकतान्त्रिक गणतन्त्रकाे लागि, तलब-भत्ता हसुर्न पाउने गरी, लाखाैं वयस्क नेपाली नागरिकले मतदान गरेर अगुवा बनाई ‘संविधानसभा सदस्य’-काे चुनावमा जिताइदिएका ५९७ जनाले जम्मा २०३१ दिन (५ वर्ष ६ महिना २६ दिन)-काे तलब-भत्ता डकार्दै जम्मा ३२८ दिन मात्र काम गरेर बनाएकाे संविधान र त्यही संविधानले नै ‘सार्वभाैमसत्ता र राजकीयसत्ता जनतामा निहीत’ भनिइएका ‘हामी’ मेचीदेखि महाकालीसम्मका पुस्ताैंदखि बसिआएका माैलिक नेपाली नागरिक क्या त ! तर, संविधानकाे किताबमा मात्र त्यस्ताे उच्च स्थान छ हाम्राे ! तर, वास्तवमा राज्यशक्तिका ‘वीर मशाने’-हरू चाहिँ हामीलाई ‘जनता’ भन्छन् र हेपिने, छलिने, ढाँटिने, डाँटिने, जिल्ल्याइने, फुस्ल्याइने, हप्काइने ठाउँमा राखिइएका छाैं । त्यसाे हुँदा हामीलाई वा हामीमध्ये काेही एकजनालाई अनेक प्रकारका थुतुनेमध्ये एक न एकले पालैसान्ती झर्काे लाग्ने गरी ढ्वाँस पिट्तै भलुभुत्ते गफ हाँकेर हैरान गर्छ भने, याे समयमा, त्यसलाई महत्व दिएर किन बखान लाइरहनु र ? तैपनि, एकपछि अर्काे उस्तै उस्ता बकमफुसे स्वाँठहरूले पाँडेलाई निसाना किन बनाइरहेका छन् भन्नै कुरा चाहिँ यसकाे चित्तले पचाउन सकेकाे छैन ! ……
गएकाे आइतवारभन्दा अघिल्लो चाहिँ आइतवारसम्म छिमेकी टाेलकाे हरिराम बाजे नामक नम्बरी पाङ्दुरेले मातेर लुब्रुक-लुब्रुक आउँदै कान थाेत्राे हुने गन्थनले पाँडेलाई खप्नु-खानु गर्दैनथ्याे । बीचमा ऊ नआउँदा कान न्यानाे भएकाे थियाे । फेरि साउन एकतीस गते आइतवार पुरानाे गफाडी ऐंसेलु झाँगे आएर दुई-तीन घन्टा आफ्नाे मनचिन्ते हावा हाँकेर पाँडेकाे गिदी गिजाेलेकाे थियाे । लगत्तै पर्सिपल्ट अझ पुरानाे ऐंठने धक्कुबाज मुसीकाे बाऊ टुप्लुक्क आइपुग्दै धमाधम भन्याे -“खाेइ हओ याे ‘बउमुखे पर्तिबा’ गरिखान र साे-उक्त पर्तिबाले आफ्नु धर्म निर्बा गर्दाकाे अन्नुभाै आँफइँ सर्सरी मूल्लेङकन गर्दा त अबकाे भबिसेकमा याे पढ्के गरीप देशाँ मेराे जैसाे बउमुखे पर्तिबा खेलिखाने काेइ पनि नभओस् पाे भन्ठान्न थालें हउ मैले त !”
खास नाम ठकप्रसाद गाेतामे भए पनि यतातिर याे नामले उसलाई कमै चिनिन्छ र सबैले जानेकाे सजिलाे नाम ‘मुसीकाे बाऊ’ भएकाे मान्छे याे झन ! पहाडकाे उसकाे गाउँकाे दुई कार्यकाल ‘उप’ हुँदा, पसिनामा मात्र काङरेस र कमिनिस्ट गनाउने कसैकाे लागि पनि काउछाे समान थियाे अरे याे मान्छे । त्यति मात्र हाेइन, कुनै काङरेस वा कमिनिस्टकाे मितबाऊकाे ससुराकी फूपाजुका छाेराेकाे जेठान र सालाेका छाराछाेरीसम्मकाे नाता केलाएर पानीखेदाे गर्ने गर्थ्याे अरे । र, जाेकाेहीसँग गफ लडाउँदा भन्ने गर्थ्याे अरे -“हेर्लाऊ न, एसबाजी चइँ एस गाउँकाे च्याम्पेन ‘उप’ भन्-र मेराे नाम सिरिपान सर्खार मउसुपबड मुल्लेङकित भइबक्सेर ‘गाेर्खा दख्खिन बाऊ’-काे गाेदबा मलाई नै बस्सिने सिउरली छ ।” उसबेला पहाडी गाउँमा यस्ता काइते-कन्दनेकाे उच्च मूल्यांकन हुने गर्थ्याे पनि अरे । तर, मुसीकाे बाऊले दुई कार्यकाल उपप्रधान पञ्च छिर्लिप्पै सकिँदा पनि गाेदबा नपाएपछि रक्सी र गाँजा बेस्सरी खान थालेछ अनि दिनहुँ जसाे गाउँ पञ्चायतमा गएर कचेडा गर्न थालेछ । केही नलागेपछि प्रहरीमा उजुरी परेछ र प्रहरीले पक्रेर तुरुङमा हालेछ अनि थलापर्ने गरी ‘गाेदबा’-काे सट्टा ‘गाेदाइ’ भेटेपछि मधेश भासिन बाध्य भएकाे सत्य-कथा समेत पाँडेले सुनेकाे थियाे ।
ऊ भनिरहेकाे थियाे -“मेराे अन्नुभाै बम्जिम म जत्तिकाे गइन्न बउमुखे पर्तिबा हुने मान्छेलाई, नढाँटी बइन् गर्ने हाे भने, टट्टी लाग्दा समेत धित मरुन्ज्याल कन्दै टट्टी बस्न भ्याइओस् न पेसाब नै ढुक्कसँग निखार्न भ्याइओस् ! कुदेकाे छ – कुदेकाे छ, हत्तु हइरान साला ! साइत्तिकहर्का कबित् कम्पेटिसन हुने भाे – मैले नै नपुगी हुँदैन । पत्रकार गर्नेहर्ले बिग्याँब्ती पास गर्न बइठककाे लागि मिटिन गर्ने पाेर्गाम बनाएसि मैलाई हारदिक्क उपस्तिथिका लागि रिकाेएस् गर्छन् । मैले पुगेर बिग्याँब्तीकाे खेस्रा डाफ् लेखेर मुचुल्का नकाेर्दि हुँदैन । अच्कलका केटाहेरू पत्रकार गर्न रहर गर्छन् नि गर्न त बिचाराहेरू, भाका र लहे मिलेकाे थेउरीमा लिखितम् मिलाउने ढंग छैन, सिक्ने हाेइनन् ! ओैटाेरेक्सा, मट्टर र बस कुदाउन रङ्गढङ्ग नभ’र र ‘मापसे’ घिचेर टुन्नाराम ‘तेस्सिमाललाने’ भ’का मान्छेले गुर्जी गरेसि टाफिख प्ररीले कसरी कन्टाेल गरून् ? झाप्पैमा मात्तै साहुन मैनामा मात्तै पन्चानब्बइ ओटा दुर्गटना भ’छ र चउद जाना सइद भ’छन् अनि नउँ जाना हस्पिटालहेरूमा सिरेसली भ’र अइँ-अइँ र उइँ-उइँ गर्दै बटारिंदै बाँचिराख्या छन् भन्ने मैले इन्फाेरमिसन पाइराँछु र एउटा तेसकाे रेकथामकाे अबिमुखीकर्न गर्ने समाराे अलि राम्राे हुटेलमा नभई भ’न भन्ने खब्बर दिरछु सन्बन्दित ठाममा । तेहाँ पनि मैले टाफिक न्याम र अइन्-काननकाे पर्बच्चन दिन पुग्नु छ ।
अब ‘भद्रपुर नर्पाल्का’-लाई पनि ‘उप’-काे पगरी लाइदिने भन्ने सुन्दैछु । ताे पनि मैले नै रहेरी नहुने सभ्जेट नै हाे केरे । मेराे बिचारमा, ताे नयाँ ‘उपरी’ गर्ने च्वाँक उधाेगिक ओजनाकाे रेखरुपा त्याडी भएसि कसरी अघ्रगम्मन गर्ने, काे-काे डेलिगेसिनकाे बिल्ला भिरेर, उइले म पाहाडमा ‘उप’ भका बेला पञ्चका भाले-भाले काटमाडुँ जाने गरे झैं, गर्ने भन्ने फिक्-स गरेसि साएत मलाई नै अदच्छे बनाउलान् र याँकाे रुँगालाे राख्लान् । याे ‘उप’ भन्ने जिनिस कति खत्डा छ भन्नेमा मभन्दा एस्पीरेन्ट आर्काे व्याक्ति काे छ त एस जिल्ला येरिआमा ? ‘उप’-काे अब्ठ्याराे-सब्ठ्याराे के-कसाे छ नबुजी केटाहर्ले मिटिनकाे बइठक गरिहालेछन् । केटाहर्काे अरू-अन्ने रामरमाइलाे गर्ने आइटिम तेस फुर्सुतकाे दिनमा थेन हाेला र साे-उक्त सार्भजानिक भेला गरेर साे उपलच्छेमा नरपाल्काकाे खर्चबड दिम्साे ठन्डा-उन्डा खाने पिकनिके मज्जा भा पनि गरे अरे भन्ने सम्चार साेर्तहेरूबड मेरा कानाँ पनि परिरछ । अब छे-सात मैना त छ नि ताे पाल्कामा जनताले तिरेकाे तिराेले ‘फुपूकाे सराद्दे’ गर्ने म्याध-अब्धी । जन्तालाई कर-तिराेकाे भारीमाथि सुपारी थप्ने र काे-कसले भाेट्टर-भाेट्टर्नीमा लगनी गरेर कमाउने भविसेक हेरेका हाेलान् उँधेर्ले । जनताले थुक-पसिनाका थाेपा जाेगा’र तिरेकाे तिराेले मनग्गे नपुग्न थालेसि कुनै उपाए त गर्नै त पर्छ त ! एसाे नगरे याे सङगीए गनतन्त्रमा के मज्जा गर्ने त ? अर्ताथ, तपइँ र ममा एइ त डिफरेन छ त । म बउमुखे पर्तिबा भकाले एस्ता-एस्ता सइएउँ सइकडउँ ट्यान्सिनकाे भारी छ मेराे थाप्लामा भने तपइँमा पर्तिबा नभकाले घरैमा थच्चिरन्छऊ – ताताे न चिसाे ! हाेइन्त ?
र, अब म हिने पनि । भाेलि बेहारकाे गलगलेबड चार मइल उत्ता काेनि के बाडी भन्ने गाममा हामेरकै कैलु बेहारीकाे छाेटे भाइ बन्बारीले खाेलाकाे बाेडिङमा अङरेजीका इङलिस कवि सेस्पिएर, बइग्यानिक आइझ्याक निउँट्यान र अम्रिकान कवि मिल्टेनका बारेमा भारु रुप्पे गाेडा दसेक हज्जार दामकाे बन्दबसृतमा एक घन्ट पर्सिच्छेन् दिन रिक्काेस् गरिर’छ र अब घर ग’र पिर्पेर गर्नुछ , हइ त ?”….
बल्ल ऊ हिंड्याे । र, खैनी माेल्दै गइरहेतिर हेर्दै पाँडेले मनमनमा भन्याे -“खै, जमाना के भयाे काेनि ! गफाडी बाैलाउनुभन्दा पहिला हावादारी गफ सुन्नेहरू बाैलाउने हुन् कि ? कुरै पाे बुझिएन त हँ !!”….
***