एक वर्षअघि केपी ओलीले सुनपानी छर्केर ३६ महिना प्रधानमन्त्री बनेर पनि ओलीको सुनपानीलाई ‘फलामको खियापानी’ भनेर बुढानिलकण्ठ पुगेर देउवाको हातबाट सुनपानी छर्किमागेर एक वर्ष ‘पवित्र’ बनेका प्रधानमन्त्री एक वर्षपछि फेरि बालकोट आएर ओलीका हातबाट फेरि सुनपानी छर्किमाग्न पुगे ।
सुनपानी त लिए लिए, त्यो भन्दा बढी कुरा त के भने म बाँचुञ्जेल यस्तो उथलपुथल भइरहन्छ पनि भने । दायाँबायाँ गरेमा जुनसुकै ठाउँबाट जोसुकैलाई लात्तले हानेर निस्किने पनि बताए । अहिलेको ग्ल्यामरस कुरा यही हो नेपाली राजनीतिको बजारमा ।
ग्रीसका कथावाचक ईसपले आजभन्दा छब्बीस सय वर्ष अघि भनेको एउटा कथाबाट आजको उठान गर्न अनुमति चाहन्छु । प्राचिन समयमा एउटा धनी मुलुकको धनी राजा थिए । उनले दरबार बाहिर कहिल्यै पनि जानु परेन, नत कुनै काम गर्नु पथ्र्यो । कतै जाँदा पनि घोडा सवार हुन्थ्यो उनको लागि । उनका खुट्टाले ढुँगा त के, माटो पनि छुनु पर्दैनथ्यो । एक दिनमाथि डाँडाको सुन्दर वातावरणले उनलाई लोभ्यायो । त्यो कठीन बाटो थियो । घोडा पनि नहिंड्ने । उनले आप्mना मान्छेको हूल लिएर उकालोको यात्रा सुरु गरे । उनले कहिल्यै जुत्ता लगाउनु परेको थिएन, यस पटक पनि उनी खाली खुट्टै हिंडे, सबै जनताखाली खुट्टै हिंड्छन् भने म चाहिं किन नहिंड्ने ? तर जव उनीहरु केही माथि पुगे, राजाका पाइतालामा फोका उठे, पाइलो नसर्ने भयो । तुरुन्तै उनले आदेश दिए, ‘ल, रोडाले मेरा खुट्टा नाश ग¥यो । यी सबै बाटाहरुमा छाला ओछ्याउनु । तुरुन्त ।’ सबैजना जिल्ल परे । कहाँबाट ल्याउने त्यत्रो छाला ? खर्च पनि उति नै लाग्ने भयो । यो उटपट्याङ कुरालाई कसरी समाधान गर्ने भन्ने बारे मन्त्रीहरुले सल्लाह गरे । र, एकजना मन्त्रीले साहस लिएर भने, ‘सरकार, यो त हजूरले भनेको ठिकै हो । तर हाम्रा सबै प्राणी मार्नु पर्ने भयो । हजुरको घोडा पनि जाने भयो, गाई पनि, कुकुर पनि । सबै । अनि खर्च पनि अति धेरै हुन्छ । बरु हजुरले नै एकजोर जुत्ता लगाउनु भए हामी तयार गरेर ल्याइदिन्थ्यौं । यो सबै कुनै पनि काम गर्नु पर्ने थिएन ।’
राजालाई यो सल्लाह उचित लाग्यो । र, उनले आप्mनालागि एकजोर छालाका जुत्ता बनाउन लगाए । त्यसपछि उनको खुट्टा पनि ठीक भयो, खर्च पनि बच्यो । मुलुक र मुलुकका प्राणीहरु प्नि जोगिए । तर राजाको त्यो बिकामे विचार अगाँलिएको भए मुलुकको हालत के हुन्थ्यो ?
यो हप्ता प्रचण्ड, रवि लामिछाने र केपी ओली एकै ठाउँमा उभिएर नयाँ सरकारी समीकरण बनाएको घोषणा गरे । एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न समेत सकिने भन्दै उद्घोष गर्दै थिए कतिपय कम्युनिष्ट नेताहरु । नेपाल फेरि कम्युनिष्टिकरणमा जाने होकि भन्नेहरु पनि भेटिए । तर यो यसअघि नै फेल भइसकेको डक्ट्रिन हो । यो गठबन्धनलाई नेपाली कांग्रेसले निकै हतासको मनस्थितिमा प्रतिकृया दियो । र, उसले सत्ता साझेदार मावोवादी केन्द्रले धोका दिएको निश्कर्ष पनि निकाल्यो । अनि कांग्रेसले पनि यो समीकरण इतर अर्को समीकरण बनाउने प्रयास गरिरहेको पनि छ ।
भरोसा
प्रजातन्त्र भनेको दलहरुको प्रतिष्पर्धा हो । विचारहरुको प्रतिष्पर्धा हो । अनेकौं विचार भएका मानिसहरुले बाँच्ने ठाउँ भनेको प्रजातन्त्र हो । यसमा दलहरुको उपस्थिति र तिनको सतकर्मले जुन प्रतिफल दिन्छ समाजमा, त्यो नै प्रजातान्त्रिक समाज हो । लोकतन्त्रले यही समाजको निर्माण गर्ने सपना देखेको हुन्छ । दलहरुले आप्mना सुन्दर कुराहरु मार्पmत जनतालाई चित्तबुझाएर भोट लिएर सरकारमा गई आप्mना कार्यक्रमहरु जनतामा लागू गर्ने विधि प्रजातन्त्र हो । यसमा कुनै दलले कता एलाइन्स गरे, कता के संग सहकार्य गरे, कोसंग तालमेल गरे भन्ने कुरा गौंण हुन्छ ।
काला बादलहरु
अहिलेका प्रधानमन्त्री यो नेपालको सशस्त्र द्वन्द्वको एउटा प्रमूख पात्र हुन् । यो दशवर्षे द्वन्द्वलाई समायोजन सेना समायोजन मात्र गरेर पूरा हुंदैन । द्वन्द्व समाधानको एउटा महत्वपूर्ण पाटो बाँकि होइन, सुरु नै भएको छैन । त्यो हो, समाजलाई व्यवस्थापन गर्ने । सत्यनिरुपण तथा मेलमिलाप आयोगले गर्ने काम खै भएका ? समाजमा पीडक र पीडितबीच अंकमाल गराउनु पर्दैन ? एउटाले अर्कालाई क्षमादिनु पर्दैन ? ती काम चर्लक्कै छाडेर देशलाई कम्युनिष्टिकरणतर्पm लग्न प्रचण्ड स्वयं लाग्नुलाई नेपाली जनताले के बुभ्mने ? अर्को कुरा, उहाहरुको घोषणामै भनिएको छ, ‘अन्ततः समाजवादमा जाने’ । त्यो समाजवाद भनेको यो अहिले भए जस्तो संघीय लोकतान्त्रिक गणतन्त्र होइन नि । अहिलेको जस्तो प्रजातन्त्र होइन नि । त्यो भनेको क्यूवा, चीन, उत्तर कोरियाको जस्तो राजनैतिक मोडलहरुमध्यै कुनै एउटा हुने हो ।
अहिलेको साइवर युगलाई जीवनको अनन्य पाटो बनाएका नेपाली युवा पिंढीले बिदेशी टेलिभिजन च्यानल हेर्न नपाउने, मोबायल फोन बोक्न नपाउने र इन्टरनेटको प्रयोग गर्न नपाउने उत्तर कोरियाको समाजवाद स्वीकार्छन् भनेर कसरी पत्याउने ? फेरि ‘लुटवाद’मा प्रतिष्पर्धा गरिरहेका यी ठूला दलहरुको समाजवादीयात्रा कसरी पूरा हुन्छ ? न्यायालय, अदालतदेखि प्रहरी प्रशासनलाई ‘परिचालन’ गरेर रमाएर बाँचेका दलहरु कसरी समाजवादको यात्रामा टिक्लान ? नीजि पुँजीलाई मरिहत्ते गरेर सरकारी संयन्त्र र पुँजीलाई पंगु बनाउन अहं भूमिका खेली अस्पताल, निजी विद्यालय, निजी कलेज र ठूला निजी प्रतिष्ठान खोलेर अरवौंको लगानी गरेर राज्यलाई नै चुनौति दिन सफल एमाले र माओवादी नेताहरु कसरी समाजवादमा अट्न सक्लान ? भनाइ र गराइमा फरक आएकै कारणले भेनेजुएला र ब्राजिलमा कम्युनिष्ट पार्टीहरुको स्खलनको यात्रा सुरु भएर अहिले निकै तल पुगिसकेको छ । नेपालको कम्युनिष्टहरुमा पनि त्यो विरोधाभाष देखिन्छ ।
सुनपानी
यतिमात्र होइन, केपी ओली प्रधानमन्त्रीहुँदा नेपालले लामो नाकाबन्दी व्याहारेको हो । प्रधानमन्त्रीले भारतसंग घुँडा नटेकी नेपाली जनताको शीर उच्च राखेको भनेर राष्ट्रियताको सवालमा एक नम्बर प्लस पाएकै थिए ओली र उनको दल एमालले । धेरैलाई के पनि लागेको थियो भने त्यसैको लिगेसी स्वरुप स्थानीय चुनावमा एमाले उसबेला पहिलो दल भयो । यो अवस्थालाई नजरअन्दाज गरेर किन ओलीले यो समीकरण बनाए उसबेला ? हनसक्छ, उनलाई लाग्यो अव कांग्रेस र माओवादीको स्थायी गठबन्धन भयो भने एमाले संधै प्रतिपक्षी दल हुनु पर्ने नियती आउँछ भन्ने लाग्यो । तर कांग्रेस माओवादी गठबन्धन एउटा यान्त्रिक मात्र थियो भन्ने उनले बुझेनन् । प्रचण्डलाई पनि के लाग्यो भने यो तेश्रो दलको नेता सधैं भइरहनु भन्दा, ठूलो दलको नेता, पार्टी अध्यक्ष, प्रधानमन्त्रीहुँदै उनको एकमात्र सपना प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने यो भन्दा भरपर्दो खुड्किलो उनलाई कुनै थिएन र छैन पनि । एमाले गतिलो भ¥याङ्ग बन्दैछ यस कामको लागि । र, प्रचण्डमा जुनप्रकारको अस्थिरता छ, त्यो भोलिका दिनमा एमालेलाई निकै महंगो पर्नेछ भन्ने थियो नै । छलाङ्ग मारेको भन्छन् र कुनै न कुनै उटपट्याङ्ग गरिरहन्छन् । अर्को कुरा उनको प्रयोगवादी सिद्धान्त छ । उनी धिरेन्द्र, विरेन्द्र, ज्ञानेन्द्र, गिरिजा, सुशील, देउवा, ओली सबैलाई प्रयोग गर्दै यहाँ आइपुगेका ‘डाइनामिक’ नेता हुन । अर्को कुरा, ओलीले ‘ओलीको राष्ट्रवाद’ त्याग्न र भारतसंग अर्के प्रकारको सम्बन्ध बनाउन प्रचण्डले ओलीलाई सुनपानीले छर्केका हुन् वा ओलीले प्रचण्डलाई ‘ओलीको राष्ट्रवाद’मा समाहित गरेर सुनपानीले छर्केर एउटै मञ्चमा बसेर यो सुखानुभूति गरेका हुन्, यी सबै कुरा गर्भमै छन् । भविष्यमाथी सबै कुरा खुल्दै जानेछन् । यो सत्ता र बेथितिलाई भागबण्डा गरी खाने गठबन्धन हुन पुगेको छ फेरि एक पटक ।
रंग उडेको लोकतान्त्रिक गठबन्धन
लोकतन्त्रको पर्याय ठान्ने नेपाली कांग्रेस अहिले भारतीय कांग्रेसको हालतमा छ । ईन्दिरा गान्धीले संघर्ष गरेर आएका नेतालाई पाखा लगाएर जसरी पार्टीलाई ‘गान्धीवंश’मा सुम्पिइन, त्यहीँबाट कांग्रेसको ओरालो बाटोको यात्रा सुरु भयो । त्यसले यूपी र बिहारमा भ्रष्टाचार र गुण्डागर्दीको चरम उत्कर्षमा पु¥याउने ‘यादाववंश’ र भारका अन्य ठाउँमा भ्रष्ट क्षेत्रीय दलहरु जन्माइन् । र, जनताले तिनै भ्रष्टहरुलाई भोट हालिरहनु प¥यो । त्यसपछि कांग्रेस भन्दा बढी तिनै सानादलहरुको मिलिजुली सरकार बन्यो, कांग्रेसको बहुमत आएन । मोदीको उदयले भारतीय कांग्रेस कमजोर भएको होइन ।
नेपालमा पनि बीपी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहको लिगेसी गिरिजाले २०६० सालमा सिध्याएर प्रजातन्त्रको आवरणमा नव वामपन्थको बाटोमा हिंडाए नेपाली कांग्रेसलाई । अनि आँपूmले साठी वर्ष भन्दा बढी अंगालेर हिंडेको बाटो सत्तासंग साटेर खाए । त्यो वेष्ट मिनिष्टर मोडलको प्रजातन्त्रलाई घृणा गर्न थाले र प्रचण्डपथमा रमाउन थाले । शक्तिपृथकीकरणको सिद्धान्तलाई पोलेर खाए र अदालत, प्रहरी सबै ठाउँमा हस्तक्षेप गर्नथाले । भ्रष्टाचार संस्थागत भयो, धन र डनको बिगबिगी भयो पार्टीमा । सुवर्णशमसेरको फोटो नचिन्नेहरु महाधिवेशन प्रतिनिधि भएर आए । कांग्रेसलाई नेतृत्व गर्नेहरु अघि माथि भनिएको इसपको कथाको धनी राजा बन्यो । अहिले ऊ आप्mना खुट्टाको जुत्ता प्mयाँकेर मुलुकभरी छाला ओछ्याउने उटपट्याङ्ग पात्र भएको छ ।
कांग्रेस हतास मानसिकताको सिकार भएको छ अहिले । उसलाई अहिले मात्रहोस खुल्न लाग्दै छ । वास्तवमै हिजोको नव वामपन्थको बाटो घातक रहेछ । उसले आप्mनो लिगेसी गुमाएर अहिले बाम गठबन्धनले भनेका कुराहरु हामी गर्छौ भन्न सकिरहेको छैन । कांग्रेसले ओली र प्रचण्डले भने जस्तो हामीपनि राष्ट्रियता जोगाउँछौ, संवृद्धि ल्याउँछौं, भ्रष्टाचार निर्मूल गर्छौ, राजोगारी बढाउँछौं, राजनैतिक स्थिरता ल्याउँछौं आदि किन भन्न सक्दैन ? किन भने उसले त्यो कुनै काम पनि गरेर हिजोका दिनमा जनतालाई देखाएको छैन । उसले काम त गरेन, धर्म पनि बचाएन । उसको प्रजातान्त्रिक धर्म ।
त्यो लोकतान्त्रिक गठबन्धनको नेतृत्व गर्ने कांग्रेसले त जनाई फुकालेर सत्यनारायणको ब्रत लगाउन आनन्द लिइरहेको छ भने, उसका सहयात्रीहरुको पनि हालत उस्तै छ । राप्रपा तीन दशक बित्दा पनि प्रजातन्त्रको बिकल्प बन्न सकिरहेको छैन । तिनका नेतामा त्यो संस्कार बसि नसकेको अवस्थामा यो संस्कारको कुरा निम्सरो हुनसक्छ । रास्वपा त घण्टी बजाउँदै आयो, तर कतिको खुट्टा टेक्छ, थाहा छैन । मधेसका दलहरु पनि प्रजातन्त्रभन्दा क्षेत्रीयतामा मरिहत्ते गरिरहेका छन् । यसले गर्दा, लोकतान्त्रिक गठबन्धनले सामूहिक रुपमा प्रजातन्त्र र यसको संस्कार अनि चरित्रलाई आत्मसातगरी त्यही सुन्दर प्रजातन्त्रको फ्रेमवर्कबाट मुलुकलाई संबृद्धि बाँड्ने कसम खान सक्छ जस्तो देखिदैन । त्यही भएर बारम्बार समीकरण फेर्ने प्रधानमन्त्री यो देशका नायक भएका छन् ।