दमक, २८ फागुन। झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थी कल्याण कोषको ५५ लाख रुपौँया रकम अपचलन भएको विद्यार्थीले आरोप लगाएका छन् । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) ले यही महिनाको २३ गते विज्ञप्ति जारी गर्दै तुरुन्त विद्यार्थी कल्याण कोषको सो रकम व्यवस्थापनबारे उचित निर्णय लिन ४८ घण्टे अल्टिमेटम प्रशासनलाई दिएको जनाएको छ ।
स्ववियू कार्यवाहक सभापति सञ्जय राई र सचिव दिपक मादेनको हस्ताक्षर रहेको विज्ञप्तिमा विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट संकलन भएको रकम दुरुपयोग भएको बताईएको छ । विज्ञप्तिमा भनिएको छ ‘विभिन्न कालखण्डमा विद्यार्थीहरुको कल्याणका लागि भनि स्थापित विभिन्न कोषहरुको उचित व्यवस्थापन हुन नसकेको र विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट संकलित रकमको सहि सदुपयोग नभएको हुँदा सो विषयप्रति दमक बहुमुखी क्याम्पस स्ववियूको गम्भिर ध्यानाकर्षण भएको छ ।’ केहि वर्ष अगाडि विद्यार्थी कल्याण कोषको रकम क्याम्पस प्रशासनले अन्य शिर्षकमा अपचलन गरेको तर हालसम्म पनि फिर्ता नगरेको भन्दै स्ववियूले ४८ घण्टा भित्र सो रकमका बारेमा उचित ब्यवस्थापन गर्न क्याम्पस प्रसासनलाई अल्टिमेटम दिएको विज्ञप्तिमा उल्लेख छ ।
सो विषयमा दमक क्याम्पस प्रमुख यज्ञराज गिरीले अपचलन नभई सापटीको रुपमा लिएर क्याम्पसको कर्मचारी तलव शिर्षकमा खर्च गरिएको जानकारी दिए । उनले क्याम्पसमा तलव खुवाउन समेत समस्या परेको बेला आठवर्ष अगाडी नै सापटी स्वरुप लिएको रकम भएको प्रमुख गिरीले स्वीकार गरेका छन् ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले यो विषय आफू व्यवस्थापन समितिमा आउनु भन्दा अगाडिको भएकाले सो बारे आफू अनविज्ञ भएको बताए । उनले यो लेखा र क्याम्पस प्रशासनसँग सम्बन्धित भएकाले क्याम्पस प्रशासनमा बुझेर मात्रै प्रतिक्रिया दिने बताए । उनले व्यवस्थापन समितिको बैठक बसेर छिटै यो विषय समाधान गरिने जनाएका छन् ।
दमक क्याम्पसका विद्यार्थीहरुले भने विद्यार्थी कल्याण कोषको रकम रकमान्तर गर्नु नहुने भन्दै यो लज्जाको विषय भएको प्रतिक्रिया दिँदै आएका छन् ।