नेपालीको महान चाड तिहारलाई लक्ष्य गरी बजारमा प्लाष्टिकका फूल तथा माला विक्रि वितरण भइरहेका छन् ।
सरकारले केहीवर्ष अघिदेखिनै राजपत्रमा सूचना प्रकाशन गरी प्लास्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूणर्रूपमा रोक लगाउने निणर्य गरेको थियो । यो वर्षपनि सोही अनुसार नै प्लास्टिक जन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरिएको विभागले जनाएको छ । तर बजारमा खुलेआम विक्रि वितरण भइरहेपनि सरकारी पक्षको अनुगमन तथा नियन्त्रण र कारवाही भएको पाइँदैन ।
विश्व बजार र आधुनिक जीवनशैलीले प्लाष्टिक झोलाको प्रयोगलाईसमेत व्यापक बनाएको छ । विद्युतीय उपकरणदेखि खानेकुराको प्याकिङसम्मले हाम्रो दैनिकी प्लाष्टिकमय भएको छ । यसको बढ्दो प्रयोगसँगै प्लाष्टिक अद्भुत अन्वेषण मात्र नरही प्राणीको अस्तित्वमाथि चुनौती बन्दै गएको छ ।
प्लाष्टिक जंगली जनावर र जलचरदेखि मानिसको आन्द्रासम्म पुगिरहेको छ । यतिवेला बजारमा प्लाष्टिकको माला जताततै देखिन्छन् । सरकारले माला रोक लगाएपछि पनि बजारमा भेटिइरहेका छन् । तर सरकारले अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाउन नसक्दा तिहार र छठमा सबैभन्दा बढी फूलको खपत हुने र त्यही बेला फूलको अभाव हुने भएकाले प्लास्टिकको माला खरिदबिक्री हुने गरेको छ ।
प्लाष्टिकजन्य वस्तु नियन्त्रण गर्ने उदेश्यले सञ्चालनमा ल्याइएको अभियान यतिवेला थला परेको छ । तिहार र छठमा प्लास्टिक जन्य फूल, माला तथा अन्य सामग्री बिक्री वितरण गरेको पाइए एक लाख रुपैयाँ जरिवाना गर्ने सूचना सरकारले अघिल्ला वर्षहरुमा पनि जारी गरिएको थियो । तर व्यवहारमा भने अनुसन्धान समेत हुन सकेको छैन ।
पछिल्लो समय उत्पादित सयपत्री फूलमाला लोपहुँदै गएका छन् भने आयातित प्लाष्टिकका मालाले बजार पिटिरहँदा पनि न स्थानीय सरकार बोल्न सकेको छ, न प्रदेश र संघीय सरकारले नै बजारमा कडाइ गर्न सकेको छ, भनिन्छ, हामीसँग बनस्पतिबाट उत्पादित माला कम हुन्छ तर बढी उत्पादन गर्ने र मुलुकलाई धान्ने सयपत्री र मखमली फूल उत्पादन गरेर आत्मनिर्भर बन्ने प्रयास र प्रयत्न भएको पाइएको छैन ।
हामीसँग जमिन छ, जल छ, फूल रोप्ने र आत्मनिर्भर हुने प्रसस्त स्रोत र साधन भएरपनि परनिर्भर हुनु विडम्बना बनेको छ । तिहारमा सबैभन्दा बढी भीडभाड हुने ठूला बजारहरुमा पनि प्लास्टिकका माला बेच्नका लागि राखिएको छ । व्यापारीहरू खुलमखुला त्यस्तो प्लास्टिकका माला बेचिरहेका छन्, उपभोक्ता त्यसैमा रमाइरहेका छौं, यो राम्रो पक्ष कदापी होइन । कतिपय व्यापारीहरू प्लास्टिकको फूल सरकारले प्रतिबन्ध लगाएको जानकारी नभएको बहाना गर्दै बजारमा आयातित रङ्गी चङ्गी माला र झल्लरीहरु बेचिरहेका छन् । तिहारको बेला सयपत्रीको माला महँगो हुने र प्लास्टिकको माला लामो समय टिकिराख्ने भएकाले पनि प्लाष्टिकको मालाप्रति ग्राहक आकर्षित भएको अनुमान सहज गर्न सकिन्छ ।
प्लाष्टिकका सामग्री र फूलमाला हटाइनुपर्छ भन्नेमा सरकारको योजनालेमात्रै सम्भव छैन । यसमा जनस्तिर र उपभोक्ता आफैपनि सचेत हुन जरुरी छ । यसलाई न्यूनिकरण गर्न समुदायका क्लव, सामाजिक संघ संस्थाहरु, विद्यालय र समुदाय जस्ता संस्थाहरुले सचेतनाको अभियान नै सञ्चालन गरि युवा, विद्यार्थी र समुहहरुनै परिचालन गर्न सक्नुपर्छ ।
स्थानीय सरकारले चाहनुभने व्यापारिक केन्द्र, तरकारी बजार जस्ता स्थानमा अनुगमन तीव्र पार्दा प्रभावकारी हुन्छ । अनुगमन भएको, पक्राउ परेको र जरिवाना गरिएको विवरण सार्वजनिक गरी कारवाहीको दायरामा ल्याउन सके मुलुकलाई प्लाष्टिकमुक्त गर्न सकिन्छ ।
नेपालका नगरपालिकाहरूमा निषेध र जरिवाना कार्यान्वयन गर्ने हो भने वातावरण स्वछ राख्न र प्लाष्टिकजन्य आयातित बस्तुबाट हुने प्रदुषणबाट जोगाउनकासाथै नयाँ पुस्तालाई कहालीलाग्दो प्रभावबाट जोगाउन सकिनेछ ।