दमक/ दूध बिक्रीमा समस्या भएको अवस्थाबीच तराईका व्यवसायीले यसबेला छुर्पी उत्पादनका लागि दूध इलाम पठाउन थालेका छन् । नेपाल सरकारको मूल्यबृद्धिको निर्णयबाट नेपालको महंगो र भारतको दूध सस्तो बन्न पुग्यो । जसका कारण सस्तो मूल्यको भारतीय दूधले ठाउँ लिएर नेपाली दूध बिक्न छोडेको भन्दै तराईका किसानले विकल्पका रुपमा छुर्पीका लागि दूध पठाउन थालेको पाइएको छ ।
हाल तराईमा अत्याधिक दूध उत्पादन भइरहेको छ । दूध बढी हुँदा दूधबाट उत्पादित पाउडर तथा घिउ बजारमा लाखौं किलो स्टकमा छ । तर, छुर्पी भने विदेश निर्यात भइरहेको छ । छुर्पीको निर्यात बढ्दै जानु र तराईको दूधबाट छुर्पी उत्पादन सुरु हुनुलाई सुखद संयोग मान्नुपर्छ ।
मोरङ कानेपोखरीमा रहेको नवदुर्गा डेरी उद्योगका संचालक राजकुमार खनालले गत वर्ष र अहिले गरेर झण्डै ६० हजार लिटर दुध इलामका दुई उद्योगमा पठाए । उक्त उद्योगले उत्पादन गरेको छुर्पीको गुणस्तरमा खासै समस्या आएन । ‘एक पटक छुर्पीमा केही कालो दागी बसेको जस्तो देखियो भन्ने आयो । तर, गुणस्तरमा समस्या देखिएन,’ खनालले भने, ‘गत वर्ष राम्रो भएको प्रतिक्रिया आएको थियो ।’
खनालले क्रिम काटेर इलामको सूर्योदय नगरपालिका ९ मा रहेको ढुंगेलधारा डेरी उद्योग फिक्कललाई दुध बिक्री गरेका थिए । सो डेरीका संचालक कुमार ढुंगेलले तराईको दुधबाट बनेको छुर्पीको रंगमा फरक परेको तर गुणस्तरमा फरक नपरेको बताए । ‘इलामको दुध मिसाएर छुर्पी बनाएको हो । शतप्रतिशत तराईको दुधबाट बनेको छुर्पीमा कलर भने फरक पर्छ । इलामको दुधबाट बनेको छुर्पी पहेंलो देखिन्छ । तर, तराईको दुधबाट बनेको छुर्पी भने सेतो देखिन्छ,’ उनले अनुभव सुनाए, ‘त्यस्तो हुनुमा भैंसीको दूध मिसावट हुनु मुख्य कारण हो ।’ यद्यपि बिक्रीमा र गुणस्तरमा समस्या नरहेको उनको भनाइ छ ।
उनको उद्योगमा पनि २ हजार किलोभन्दा बढी घिउ स्टकमा छ । प्रतिकिलो ५ सय रुपैयाँमा पनि घिउ बिक्री हुन छोडेको उनको गुनासो छ । त्यही भएर उनले क्रिम काटेको दूध मोरङबाट लगेका हुन् । ‘इलाममा पनि दुध नपाइने होइन । तर, घिउ बिक्री हुन छाडेका कारण क्रिम काटेको दुध मगाएको हुँ,’ उनी बताउँछन् ।
यस्तै इलाम सूर्योदय नगरपालिका ८ नम्बर वडामा रहेको कञ्चनजंगा डेरी उद्योगले पनि खनालको डेरीबाट गत वर्ष झण्डै ३५ हजार लिटर दुध लगेको थियो । उद्योगका संचालक महेश अर्यालले तराईबाट इलाममा लगेर छुर्पी बनाउन सकिने देखिएको बताए । ‘दूधको गुणस्तरमा ह्रास नआउने हो भने छुर्पीको गुणस्तरमा पनि समस्या आउँदैन । तर, दुधमा केमिकल मिसाउने, गाईवस्तुलाई दिने दाना पानीमा जथाभावी औषधि खुवाउने गरेको दूध भए समस्या आउँछ । चिसो ठाउँमा ल्याएर विविधीकरण गर्न सकिन्छ,’ उनले भने, ‘अहिलेको समस्या घिउ नबिक्ने समस्या हो । भैंसीको दूध भएको कारण कलरमा समस्या भयो । तर, तराईको १ हजार लिटरमा इलामको १५ सय लिटर मिसाएर बनाएको छुर्पीमा कुनै समस्या देखिएन ।’
उनीहरुले उत्पादन गर्ने डक्स छुर्पी नै हो । बजार व्यवस्थापन गर्न सकेदेखि तराईको दूध ल्याएर छुर्पी बनाउँदा कुनै समस्या नपर्ने उनी बताउँछन् । ‘त्यसका लागि समयको व्यवस्थापन भने गर्न सक्नुपर्छ,’ अर्यालले भने । उनले तराईको दुध ३५ हजार लिटरभन्दा बढी लगेको बताए । उनको डेरी उद्योगमा पनि ३ हजार किलोबढी घिउ स्टकमा रहेको छ । छुर्पी राम्ररी चलिरहँदा घिउको बजार भने कमजोर बनेको उनको भनाइ छ । तराईको दूधबाट इलाममा छुर्पी बनाउन सकिने प्रयोग सफल हुँदै जाँदा कतिपय विराटनगरका व्यापारीले पनि चासो राख्न थालेका छन् । विराटनगरमा रहेको बञ्जरा एग्रोले अहिले दैनिक १ हजार ५ सय लिटर दुध उत्पादन गर्छ । विगतमा जस्तो सहज ढंगले दुध बिक्री भइरहेको छैन । विराटनगरबाट उत्पादित दुधबाट छुर्पी बन्नसक्ने कुराले आफूहरु पनि आशावादी हुने बञ्जरा एग्रोका प्रबन्धक सञ्जय चापागाईं बताउँछन् । ‘दूधको विविधीकरण गर्ने कुरामा यो पनि एउटा विकल्प हुने देखिन्छ,’ उनले भने, ‘छुर्पी बनाउन सकेदेखि लामो समयसम्म स्टोरेज गर्न पनि सकिने हुँदा दुधको बजार भन्दा छुर्पीको बजार खोज्न सकिने अवस्था देखिन्छ ।’
नेपाल डेरी एशोसियसनका केन्द्रीय महासचिव हेमचन्द्र दहालले भारतको मूल्यभन्दा नेपालको मूल्य महंगो भएपछि दूध नबिक्दा बाध्यता भएर छुर्पीका लागि इलाम दूध पठाउन थालिएको बताए । उनले भने ‘छुर्पीका लागि फ्याट निकालेर दिनुपर्ने हुन्छ । छुर्पी बनाउन पठाउनु राम्रो हो । तर फ्याट निकालेको दूध छुर्पीका लागि बिक्री भएपनि फ्याट चाँही बिक्री नहुँदा किसानलाई भनें समस्याकै अवस्था छ ।’– उनले प्रष्ट्याए ।
उनले दूधको मूल्यमा नेपाल र भारतको मिल्दोजूल्दो भएमा दूध बिक्री नभएर मिल्क होलिडे गर्न नपर्ने र तराईमै पनि छुर्पी उत्पादन गरेर विदेश निर्यात गर्न सकिने धारणा राखे । उनले तराइको झापा क्षेत्रमा समेत छुर्पी उद्योग खुल्दै गरेको जनाउँदै आफुले समेत दमकमा उद्योग स्थापना गर्दै गरेको सुनाए । उनले विदेशमा नेपाली छुर्पीको बजार बढेको जनाए ।
छुर्पी विदेश निर्यात
छुर्पीको निर्यात भने बढिरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७९÷०८० मा १७ लाख ८६ हजार ११२ किलोग्राम छुर्पी विदेश निर्यात भएको थियो । जसबाट नेपालमा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ भित्रिएको थियो ।
आर्थिक वर्ष २०७९÷८० को असोज महिनासम्ममा छुर्पी ३ लाख १९ हजार ५१२ किलोग्राम निर्यात भएको छ । जसको मूल्य ५५ करोड ६८ लाख ३२ हजार हुन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा छुर्पीको निर्यात बढेको छ । चालू आर्थिक वर्षको असोजसम्ममा छुर्पी ३ लाख ७४ हजार ५५३ किलोग्राम अर्थात् ७६ करोड ११ लाख ६ हजार रुपैयाँको निर्यात भएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा पनि २ अर्ब ९१ करोड १९ लाख ३९ हजार बराबर मूल्यको १७ लाख ५५ हजार ४५१ किलोग्राम छुर्पी निर्यात भएको थियो । नेपालबाट क्यानडा, हङकङ, अमेरिका, बेलायत, सिंगापुरलगायतका मुलुकमा कुकुरको खानाको रुपमा छुर्पी निर्यात हुने गरेको छ ।