दमक/ भट्टराई कुलवंश प्रतिष्ठानको कुल पूजा (देवाली) आगामी पुस १ देखि ९ गतेसम्म दमकमा आयोजना हुने भएको छ । जसमा लागि विभिन्न उपसमिति निर्माण गरिएको छ ।
प्रतिष्ठानको सोमबारको बैठकले हरेक तिन÷ तिन बर्षमा दमकमा गर्दै आएको कुलपूजा यसवर्ष पनि व्यवस्थित रुपले सम्पन्न गर्न आवश्यक तयारी थाल्दै उपसमिति समेत गठन गर्ने निर्णय गरेको कुलपूजा मूल आयोजक समितिका संयोजक समेत रहेका प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष दिनेश भट्टराईले जानकारी दिए ।
कुलपूजा अन्तर्गत प्रतिष्ठानको केन्द्रीय कार्यालय रहेको दमक ४ कृष्णमन्दिरस्थित बशिष्ठ आश्रममा पुष १ गतेदेखि ७ गतेसम्म बैदिक विधिबाट कुलपूजा, ८ गते मण्डल निर्माण, बोका पर्सिने साथै ९ गते बलि दिने कार्यक्रम तय गरिएको छ ।
कुलपूजा बैदिक र तान्त्रिक दुवै विधिबाट गरिने भएकाले बलि नदिनेहरु पनि सहभागी हुने कुल पूजा प्रचार समिति सदस्य गिरिराज भट्टराईले जानकारी दिए ।
भट्टराई कुलपूजामा आफ्नो मनोकांक्षासहित भाकल गर्ने अन्य परिवारका सदस्यहरु पनि कुलपूजामा सहभागी हुन आएकाले उनीहरुको बासका लागि करिब १ हजार टहरा निर्माण गरिने छ । कुलपूजामा देश तथा बिदेशबाट भट्टराई परिवारका साथै कुल कुटुम्ब गरि हजारौं सहभागि हुनेछन् ।