दमक । झापाको कमल गाउँपालिका वडा नम्बर ३ नम्बर वडा कार्यालयसहित आधारभूत स्वास्थ्य केन्द्र आफ्नै कार्यालय भवनबाट सञ्चालनमा आएको छ ।
नवनिर्मित कार्यालय भवनसहित आधारभूत स्वास्थ्य केन्द्रको भवनको मंगलवार एक कार्यक्रमकाबीच कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा झापा क्षेत्र नम्बर ५ (क) का प्रदेश सदस्य हिक्मतकुमार कार्कीले उद्घाटन गरे । उद्घाटनका क्रममा उनले अबका दिनमा स्थानीय तहले आफै आर्थिक उपार्जन गर्नेतर्फ लाग्नु पर्ने जोड दिए । स्थानीय तह आधारभूत सरकार भएको अबका दिनमा आफ्ना नियमित काम बाहेक आर्थिक उपार्जन गर्न तर्फ लाग्नु पर्ने बेला आएको उनले बताए ।
वडा कार्यालयसहित आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटनमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, पूर्व अध्यक्ष मेनुका काफ्ले, गाउँपलिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा कार्यालय भवनका लागि जग्गादाता बलबहादुर बनेमसहित वडाभित्र सञ्चालनमा रहेका विभिन्न उद्योग, संघसस्था, व्यक्तिलाई कदरपत्रद्वारा सम्मान गरिएको वडाध्यक्ष अग्नीप्रसाद कोइरालाले बताए । उनका अनुसार यसअघि वडा कार्यालयससहित आधारभूत स्वास्थ्य केन्द्र भाडाको घरमा सञ्चालन हुदै आएको थियो ।
यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट रोजगार दातामा रोज पेन्टस् इन्डस्ट्रिज प्रा.लि., व्यक्तिगत सर्वाधिक दम्पत्ति करदाता धनमाया लिम्बू, उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक तोपगाछी मेडिकल हल, संस्थागत उत्कृष्ट नियमित करदाता नेशनल समिट लघुवित्त वित्तिय संस्था, उत्कृष्ट सौन्दर्यकरणकर्ता पाथीभरा भजन मण्डली, उत्कृष्ट बैकिंङ सेवा प्रदायक एनएमबि उत्कृष्ट सहकारी सेवा प्रदायकमा नवोदय बहुउद्देश्यीय सहकारी सस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
यससंगै कमलका ७ वटा वडा मध्ये ६ वटा वडा कार्यालय आफनै नयाँ भवनबाट सञ्चालनमा आइसकेका छन् ।