अर्थ मुख्य

भारतबाट सस्तोमा आएपछि नेपाली सयपत्री बिकेन

दमक/ भारतबाट सस्तोमा फूल भित्रिदा तिहार र छठ पर्वमा समेत फूल बिक्री भइनसकेपछि झापाका फूल व्यवसायीको फूल त्यसै खेर जाने अवस्था भएको छ ।
जिल्लाको गौरादह नगरपालिका वडानम्बर ६ मा रहेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले उत्पादन गरेको फूल पनि यसबेला केहि बाँकी नै रहेको छ । तिहारलाई लक्षित गरी बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बिक्री गर्ने कार्यमा संस्थालाई भारतीय फूलले असर पुर्याएको छ ।
सहकारीले भाडामा लिएको ५ कठ्ठा जग्गामा सयपत्री फूल खेती गरेर बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा तिहारमा माला बिक्री सुरु गरेपनि भारतबाट निकै सस्तोमा फूल आएकाले घटेर त्यो भन्दा सस्तोमा बिक्री गर्दा पनि बेच्न हम्मे हम्मे परेको संस्थाका प्राविधिक मनोज भट्टराईले जनाए ।
उनले अग्रिम अर्डर भएकाले बेच्न थालिएको अवस्था भएपनि तिहारको टीकाको दिनभनें भारतको फूल ज्यादै सस्तोमा आएर समस्या बनाएको सुनाए । उनले भारतबाट सस्तो सस्तोमा फूल भित्रिएपछि प्रतिमाला २० रुपैयाँसम्ममा बिक्री गर्नुपरेको परिस्थिती दर्शाए । ‘अन्तिममा त गुच्छाको १० सम्ममा पनि बेच्यौं । त्यो बेला फूलेको फूल जेनतेन बेचिसकियो । तर त्यसपछि पनि फूलेका फूल बिक्ने अवस्था छैन ।’– उनले भने । संस्थाले तिहारमा ३५ हजार रुपैयाँको फूल बिक्री गर्यो ।
भारतबाट तिहारका लागि आउने फूल निरुत्साहित गर्न सहकारीले फूलखेती गरेको र आफ्ना सदस्यलाई पनि सयपत्री फूलमा आत्मनिर्भर बन्न प्रोत्साहित गरिरहेको संस्थाको उद्धेश्य रह्यो । तर सरकारले फूल भित्रिन कडाई नगरेका कारण फेरि पनि फूल किसानमा समस्या भएको भट्टराईले दुखेसो पोखे ।
तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुँगाले बजार जमाएपछि स्वदेशी सयपत्री फूलको उत्पादन बिक्री नभएको बिर्तामोड नगरपालिका ९ का दलबहादुर अधिकारीले बताए ।
उनले भने ‘सरकारले पनि भारतबाट सयपत्री फूल र कागजको माला भित्र्याउन पाइँदैन भनेको थियो । तर जब तिहारमा फूल बिक्री हुने दिन सुरु भयो, भारतबाट ल्याइएका सयपत्री फूलको मालामात्र होइन थुँगा नै बजारभरि देखियो । हामीले कत्रो मेहनत गरेर फुलाएका फूल बिक्दै बिकेनन् ।”
उनले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती गरेका थिए । गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साही बनेर यसपालि खेती विस्तार गर्दा लगानी नै बर्बाद भएको उनले समस्या दर्शाए ।
अहिले उनको खेतीमा दुई हजार पाँच सय केजी (२५ क्विन्टल) सयपत्री ढकमक्क फुलेको अवस्था छ । कोलकाताबाट झिकाइएको बाह्रमासे सयपत्रीले यसपालि राम्रो उत्पादन दिएको थियो । हालको बजारभाउअनुसार तिहारमा कम्तीमा पाँच लाखको फूल बिक्री हुने आशा गरेका उनले ७० हजारको मात्र फूल बिकेको सुनाए । उनले फूलखेतीमा एक लाखभन्दा बढी लगानी गरेको बताए ।
सुरुमा प्रतिकेजी दुई सय ५० मा फूल बोटबाटै बिक्री भएता पनि तिहारको मुख्य दिनमा ५० प्रतिकेजीका दरले बेच्न खोज्दासमेत ग्राहक नपाएको बताए । “ताजा फूललाई बोलेरो गाडीमा राखेर साउन्ड सिस्टमबाट प्रचार गर्दै गाउँसहर डुलाउँदासमेत बिकेन”, उनले भने ।
जिल्लामा तिहारको बेला एक करोडको सयपत्री फूल र १० करोडको झिलीमिली बत्ती बिक्री हुने गरेको छ । खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सपयत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन् ।
स्थानीय व्यापारीहरू भारतबाट आएको सयपत्री फूलको माला २५ प्रतिकेजीका दरले बिक्री भएको बताउँछन् । भन्सार अधिकारीहरूका अनुसार नेपालको फूल उत्पादक संस्थाले भारतबाट सयपत्री आयातमा प्रतिबन्ध लगाएको प्रचार गरेता पनि सरकारी निकायबाट कुनै प्रतिबन्ध गर्ने काम भएको थिएन ।
खेतमै खेर जाने अवस्थामा रहेका सयपत्री फूललाई आयुर्वेदिक औषधि उत्पादकहरूले खरिद गरेर लैजान्छन् भनेर सुनेता पनि त्यस्तो कुनै संस्था सम्पर्कमा नरहेको बिर्तामोडका किसान दलबहादुर अधिकारी बताउछन् । चाडपर्व बितिसकेको हुँदा मालाका लागि फूल बिक्ने अब सम्भावना छैन ।
सयपत्री फूललाई सात डिग्री सेल्सियस तापक्रममा राख्दा केही अवधि ताजा राख्न सकिन्छ । तर बिर्तामोडका शीतभण्डारले अरु उत्पादन राखेका कारण सयपत्री फूलका लागि उचित तापक्रम मिलाउन गाह्रो पर्ने बताएको अधिकारीले जनाए । ‘शीतभण्डारमा राख्न पाइएन र कसैले किनेर लगेनन् भने खेतमै सयपत्री कुहिएर गएको टुलुटुलु हेर्नुपर्ने अवस्था आउँछ ।’– उनले भने ।

Author

You may also like