जिन्दगी एउटा चर्खा रहेछ । उठ्यो, बस्यो, घुम्यो, मोजमस्ती गर्यो यसैमा जिन्दगी बित्दो रहेछ । यात्रानुकुल भ्रमण गर्दा कहिलेकाही सुखका दिन आउदा रहेछन् भने कहिले दुःखका दिन आउँदा रहेछन । जे जस्तो होस यसलाई आफ्नै तरिकाले बिताउनुपर्दो रहेछ, सकारात्मक सम्झेर अनि नकारात्मक कुराहरु दिमागबाट हटाएर जीवन ज्यूँनूपर्दोरहेछ । यसरी जीवन बिताउने कुराहरु स्मरणमा ल्याउनैपर्दा म अतितलाइ कहिले बिर्सन सक्दिन । जुन मेरो जिन्दगीको एउटा अविस्मरणीय क्षण थियो त्यो क्षणलाई मैले एउटा मार्गको रुपमा लिएको थिएँ, आत्मसाथ गरेको थिएँ र आफ्ना कर्मशील पाइलाको रूपमा लिएको थिएँ त्यो क्षेत्र थियो साहित्य र कला । दुवैलाइ एकैसाथ डोहोर्याएको थिएँ, सङ्गसङ्गै समर्पण गरेर हिडेको थिएँ । त्यही भएर अहिलेपनि यी क्षेत्रलाई म कदापि छोडनै सक्दिन । जीवनकालको यो मोडसम्म आइपुग्दा धेरै – धेरै घुम्ती र मोडहरु पार गरियो, अहिले जीवन आरामसाथ चलिरहेकै छ, जसोतसो जीवन खुसी साथ चलेकै छ यसैमा म खुसी छु । पुराना यादगरहरु सम्झदा म मेरो जन्मभूमि झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर ०२ , खरखरेलाई कहिले बिर्सन सक्दिन । जहाँ म जन्मे, हुर्के, त्यही हिमावि र आधारभूत तह अध्ययन गरेको अहिलेको पृथ्वी माविलाइ म कहिले बिर्सन सक्दिन । जहाँ मैले साहित्य र कलाका फूलहरु फूलाउन सिके । अहिले पनि मेरो मानसपटमा आइरहने मेरा आदरणीय गुरुजन र मलाई अभिनय सिकाउने मेरा गुरुहरु विशिष्ठ लोकगायक लक्ष्मी जोशी र राम बुढाथोकीज्यूलाई म जीवनभर भुल्न सक्दिन । वहाँहरुकै हौसला र प्रेरणाले गर्दा मेरो जीवनको गाडी अहिलेसम्म चलेकै छ । मेरो कार्य ब्यस्तताले कला क्षेत्रलाई अघि बढाउन सकिन तर कहिले काहीं गीती नाटकमा चाहिँ धेरथोर स्टेजचाहिँ पाएकै छु । अनि गर्वपनि गर्छु । मलाई मेरो कला क्षेत्रलाई अझै प्रेरणा दिने मेरा आदरणीय गुरुजनहरुलाई नमन गर्छु । मलाई सबैभन्दा बढी मनपर्ने रुचि भनेकै कलाकारितानै हो, जहाँ जीवन छ, हिसाबकिताब छ, सुख र दुःख पनि छ यसैलाई उनेर कलाको तिक्खरपन देखाउनु नै एउटा कर्म रहेछ जो देखाउने शक्ति भनेकै कलाकारहरुमा मात्रै छ जसले सामाजिक, धार्मिक, शैक्षिक, राजनैतिक क्षेत्रमा देखिएको बिकृति र बिसङ्गतिको भण्डाफोर गर्छ । वास्तवमा त्यो क्षेत्र भनेकै कलाकारिता नै हो । हो, आज यस्तै – यस्तै बिम्ब र प्रतिबिम्बको छायाँको रुपमा गत कात्तिक ३० गतेका दिन दमक डिम्याक्स हलमा बसेर नेपाली कथानक चलचित्र ‘दिमाग खराब’ हेर्न प्रवन्ध गर्ने मेरा अनन्य मित्र जो डिम्याक्स हलको हल मालिक हुनुहुन्छ, वहाँले हामी दुई मेरो मित्र तीर्थ ताजपुरिया सरलाई निम्तो दिएर करिब २ घण्टा ३० मिनेट त्यही हलभित्र पसेर चलचित्र हेरियो । यसमा मेरो मित्र रेवत बस्नेतजीलाई धन्यवाद । उही चलचित्रको कथा परिवेश र कथानकमा रोमाञ्चक दृश्य र कथाका ब्यथातिर । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माणमा रहेको राजनीतिक पृष्ठभूमिमा आधारित भएर निर्माण गरिएको ‘दिमाग खराब’ चलचित्र खगेन्द्र लामिछाने ( इन्द्र शर्मा ), दयाहाङ्ग राई ( भोलासाङ थोकर ), स्वस्तिमा खडका ( सची ), अर्पण थापा ( हरिप्रसाद बराल ), रमा थपलिया, विजय बराल, सुमन कार्की, माओत्से गुरुङ, धिरज भट्ट, राजन खतिवडा लगायतको बेजोड अभिनय छ भने यो चलचित्रका निर्देशक निश्चल बस्नेतले समेत महत्वपूर्ण भूमिकामा आफ्नो सशक्त अभिनय गरेका छन् । अब्बल पात्र चयनको निखारपन र अभिनय यस चलचित्रमा देख्न सकिन्छ ।
विदेश जान भनी चुडिएको चप्पल लगाएर विमानस्थल पुगेको एउटा निम्न वर्गीय अधवैंसे पुरुष मेनपावरको जालसाजीमा परेपछि उ बिद्रोही भावना बोकेर निस्कन्छ यस चलचित्रमा । यस चलचित्रमा भाषण सुनिरहेका जनताहरु रातो झण्डा कुल्चिदै नीलो झण्डातर्फ उन्मुख भएर अघि बढेका यी दृश्यहरु आफैमा राजनीतिक बिम्बतर्फ कथावस्तु अघि बढेको छ । यहाँ जुत्ताचप्पलको सराह्रनीय बिम्ब र कलाकारको बेजोड प्रस्तुति सहित गीत समेतको संयोजन मिलेको छ । यहाँ हरेक पटक इन्द्र शर्मालाई आपतबिपत पर्दा निश्चल आफैं एउटा सहयोगी भावनाको पात्र बनेर उनको उद्वार गरेका छन् । नेपाली दर्शकले दक्षिण भारतीय चलचित्रमा धेरै पटक हेरिसक्दा यस्तो सूत्र उनको पर्दामा देखिने लोभभन्दा बढी अरु केही लाग्दैन । त्यस्तै इन्द्रकी छोरीको अपहरणको दृश्यमा पनि बलिउडको पूरातन सूत्र पछ्याइरहेको हो कि भन्ने आभाष हामी सिनेमा हेर्ने दर्शकलाई भान हुन्छ । नत्र यहाँ परिवारसङ्ग गाउँमा बस्दा विधालय जाने बालिकालाई मामाघर छोड्नुको कुनै आधारै चलचित्रमा देखिन्न । अर्काेतिर मुख्य पात्रकी छोरी अपहरणमा पर्दापनि दृश्यहरुमा सहानुभूति प्रकट भै हालेको कहिँ देखिन्न । किनकि यहाँ चलचित्रले छोरीसङ्गको सम्बन्धको धागो उति राम्ररी गाँस्न सकेको देखिदैन कहिँपनि । यहाँ अर्कोतर्फ कथाले इन्द्र र उनकी पत्नी सचीको विगत माग गर्छ । थोरै भएपनि त्यो पृष्ठभूमिमा आउथ्यो त घटनाहरुको सिलसिला निकै मजबुत हुन सक्थ्यो । निर्देशक बस्नेतले खेलेकै पात्रको पनि यहाँ पृष्ठभूमि प्रष्ट नहँुदा त्यो भूमिकाको उपादेयतामा प्रश्न गर्ने ठाउँ प्रशस्तै छन् । यस चलचित्रमा कथामा ‘लुज एण्ड’ सहितका केही अनुत्तरित विषय पनि आएका छन् । बैंकको ऋण तिर्न रकम नभएर घर लिलाम हुन लागेको भोलासाङ थोकरका बा माओत्सेले इन्द्रलाई रकम दिनुको कारण यहाँ कहाँ र कसरी प्रष्ट खुलेको छैन । यहाँ अर्कोतिर भोलाले घर जोगाउन संघर्ष गर्यो कि गरेन ? भन्ने अनेक प्रश्न उब्जिएको हुँदाहुँदैपनि कथा कताकता अलमलिएको देखिन्छ । कथाको अर्कोपाटो यहाँ देखिन्छ कि घरघर गएर १०१ भोट माग्दा बल्लतल्ल पाएको इन्द्र मेयरलाई हातपात गरेपछि गाउँलेको नजरमा एकाएक नायक बनेको देखाइएको छ । के परिवर्तनका लागि इन्द्रले जस्तो हातपातैमा उत्रनुपर्ने हो ? आम नागरिक र इन्द्रबीचको सम्बन्धमा पनि चलचित्रमा कतै देख्न पाइन्न । मत माग्ने बेलामा मात्र नागरिक संवाद गर्छन्, अरुबेला आफूहरु बिचकै द्वन्द्वमा रुमलिन्छन् । यहाँ एउटा बिषयबस्तु र नायक, नायिका, खलनायक अनि परिवेश अनुसारको गीत र अभिनय भने बेजोडको छ । यतिसम्म छ कि गीत कारुणिक र मार्मिक छन् । जयन जे वाइवाको शब्द रचना तथा संगीतमा गायनमा उनलाई मीना निरौलाले साथ दिएकी छिन् । ‘जिन्दगी जाली, खल्ती खाली हजुरी, पीरैको डोको सुखा दाना खजुरी , रहरैले मार्यो, रहरैले मार्यो हजुरी’ भन्ने गीतमा प्रमुख दुई पात्र खगेन्द्र र स्वस्तिमाको पीडा बोलेको छ । समग्रमा भन्नुपर्दा यो चलचित्रको नाम अनुसारका कलाकार तिनको ज्वलन्त अभिनय हेर्दा लाग्छ कि तमाम दर्शकहरुलाइ ‘दिमाग खराब’ खराबै बनाउने नै रहेछन्, न भिजन न उद्देश्य केही नबोकी गन्तव्यपथमा हिडेका नेताहरुका कारण देश सही दिशामा हिडन नसकेको प्रतित हुन्छ यो चलचित्र हेर्दा । अनि अर्को तर्फ यहाँ भोलाकै सवालमा उनलाई सजिलै कारागार चलान गरिएको र सजिलै थुनामुक्त गरिएको दृश्य नै आधारहीन छ । उनलाई सरकारी कृषि अनुदान अपचलन गरेको आरोप लगाइएकोमा निर्देशकले त्यसलाई पुष्टि गर्न आधार दिनै सकेका छैनन, जुन कथाले मागिरहेको हुन्छ । यहाँ अझैपनि पटकथा थप्दै जाने हो भने यो चलचित्र ३ घण्टा भन्दा बढी होला तर कथाहरु कताकता अलमलिएको भने छ । यस्तै यहाँ अन्त्य – अन्त्यतिर बले (बिजय बराल ) को यौन भिडियो काण्ड किन बाहिरियो भन्ने ठोस जवाफै कतै पाइन्न । धोकाको बदला धोका भन्दै कथा अगाडि बढाउन मनगढन्ते मोड दिइए पनि आम दर्शकलाई त्यो धोका कस्तो थियोे भन्ने खटकिरहदा रहदै कथाले अर्कै मोड लिन्छ । अन्त्यमा चुनाव हुन्छ चुनावमा धेरै मतान्तरले पूर्व मेयर हरिप्रसाद बराललाई भोलासाङले चुनाव जित्छन् अनि मेयर पदमा आसिन भइसकेपछि चलचित्रको कथा सकिन्छ । समष्टिमा भन्नुपर्दा नेपाली समाजले पटकपटक भोग्दै आएको, शासकले आफ्ना कर्तुत छोप्न नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतालाई कसरी निमोठ्छ यस्ता गतिविधिलाई यो चलचित्रले जीवन्त शैलीमा प्रस्तुत गरेको छ ।
सम्पूर्ण यो चलचित्रका टीमलाई हामी हार्दिक – हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।