अर्थ मुख्य

व्यवसायजन्य प्रवद्र्धन कार्यक्रम प्रभावकारी

रोहित काफ्ले-
भद्रपुर, २५ असोज –
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)-को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरिरहेको ‘उद्योगहरुमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ झापा र इलाममा प्रभावकारी देखिएको छ ।
झापा र इलाममा अलैंची तथा चिया क्षेत्रमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी देखिएको सरोकारवालाहरुबीच झापाको विर्तामोडमा आयोजित योजना बैठकमा सहभागीहरुले बताएका हुन् ।
महासंघले गत वर्ष शुरु गरेको प्रशिक्षणात्मक सो कार्यक्रमले चिया तथा अलैंची उद्योग सम्बद्ध सबै पक्षलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको विषयमा सचेत गराउनुकासाथै यसअघि उद्योगहरुमा देखिएका कमी-कमजोरी सुधारमा ठूलो मद्दत पुगेको बैठकका सहभागीहरुले बताएका थिए ।
नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित योजना बैठकमा नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेशकुमार अग्रवाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, साना किसान चिया प्रशोधन उद्योग, पृथ्वीनगरका प्रवन्धक देवीप्रसाद कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश सदस्य ऋषिराज तिम्सिनालगायतले चिया तथा अलैंची क्षेत्रमा यो कार्यक्रम प्रभावकार िदेखिएको र यसलाई निरन्तरता दिनुपर्ने सुझाव राखेका थिए ।
चिया र अलैंची प्रशोधन क्षेत्रमा धूलो र धुँवासँग सम्बन्धित क्षेत्र भएकोले सुरक्षा र स्वास्थ्यका दृष्टिकोणले यसमा आबद्ध सबै पक्ष जोखिममा रहने गरेको उल्लेख गर्दै नेपाल चिया उत्पादक संघका अध्यक्ष अग्रवालले यो कार्यक्रमपछि धुलो र धुँवा व्यवस्थापनका पक्षमा धेरै सुधार आएको बताएका थिए ।
अहिले अधिकांश उद्योगहरुमा मजदूरहरुले पनि ग्लोब्स-मास्क लगाउने, उद्योगहरुमा प्राथमिक उपचारका सबैखाले सामग्री-औषधिको व्यवस्थापन भइरहेको, कार्यक्रमले निर्देश गरे अन्सार सुरक्षाका सबैखाले उपाय अपनाएको पाइएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष भट्टराईको भनाइ थियो ।
उद्योगहरुमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवद्र्धन कार्यक्रमबाट हालसम्म झापा र इलामका ३० वटा चिया तथा अलैंची उद्योगका एक हजारबढी मजदूर, सञ्चालक र कर्मचारीहरुलाई विभिन्न समयमा प्रशिक्षण तथा अभिमुखीकरण गरिसकिएको झापामा यो कार्यक्रमलाई संयोजन गरिरहेका नेपाल अलैंची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले जानकारी दिए ।
सो योजना बैठकको सहजीकरण नेपाल उद्योग वाणिज्य महासंघका अधिकृत हरि पौडेलले गरेका थिए ।

Author

You may also like