दमक/ तेस्रो मुलुकबाट आयात हुने मालसामानको ढुवानीलाई सहज, सुरक्षित र सस्तो बनाउने उद्देश्यले सुरु गरिएको रेल कार्गो सेवा अन्तर्गत पहिलो रेल विराटनगरस्थित नेपाल भन्सार यार्डमा आइपुगेको छ । भारतको कोलकाता बन्दरगाहबाट नेपालका लागि पहिलो पटक सञ्चालन गरिएको रेल कार्गो विराटनगर आइपुगेको छ ।
कोलकाताबाट प्रस्थान गरेको उक्त रेलमा नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० फिटका ४० वटा कन्टेनर रहेका छन् । मर्सक लाइनका ती कन्टेनरमा सुरक्षित ढुवानीका लागि इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमसमेत जडान गरिएको छ ।
नेपालका लागि पहिलो पटक कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म रेलमार्फत कार्गो ढुवानी सेवा सञ्चालनमा आएको हो । नेपाली महावाणिज्यदूतावास, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेडको समन्वय र सहकार्यमा यो सेवा सञ्चालनमा आएको हो ।
यसअघि तेस्रो मुलुकबाट आयात हुने मालसामानको रेल कार्गो सुविधा नेपालको वीरगञ्ज नाकामा मात्र सीमित थियो । अब विराटनगर नाकासम्म समेत रेल कार्गो सेवा विस्तार भएपछि पूर्वी नेपालका उद्योगी तथा आयातकर्तालाई ठूलो राहत पुग्ने उद्योग संगठन मोरङका अध्यक्ष नन्दु राठीले बताए ।
रेल कार्गो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनर रेलमार्फत विराटनगर ल्याउन सकिनेछ । सडक मार्गको तुलनामा रेलमार्गबाट हुने ढुवानी सुरक्षित, भरपर्दो र कम लागतमा हुने भएकाले आयातकर्ताको ढुवानी खर्च घट्ने उद्योगी सुयष प्याकुरेल बताउँछन् ।
कोलकाताबाट विराटनगरसम्म रेलमार्फत करिब २४ घण्टामै मालसामान आइपुग्ने भएकाले ढुवानी समयसमेत घट्नेछ । यसबाट बन्दरगाहमा नेपाली आयातकर्ताले व्यहोर्नुपर्ने विलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज तथा सडक ढुवानीको अतिरिक्त भार कम हुने विश्वास गरिएको छ ।