त्यो समाचार पढ्नु भएको छ ? ति दुई थिए, जाजरकोटको नलगाड नगरपालिका–४ मायाडाँडाका ४५ वर्षीय पम्फा रावल र कालाच्युराका ७७ वर्षीय गोपाल रावल । अविवाहित भएका कारण पम्फा एक्लै बस्थिन् रे । भूकम्पले घर भत्काएपछि उनी त्रिपालमुनी बसिरहेकी थिइन् । उनी बितिन् । स्वर्गीय गोपाल रावलका छोरा रोजगारका लागि भारत भएकाले उनी आफ्नी ७७ वर्षीया श्रीमती धनसरासँग बस्थे । समाचारमा यति भए पनि उनीहरुका बारेमा लेखिएको छ ।
भूकम्पमा जतिको निधन भयो र जति बाँचेका छन्, उनीहरु हरेकको आफ्नो कथा छ । एक्लै बसेकी पम्फाको पनि कथा होला । वृद्ध श्रीमतीसँग बसिरहेका गोपालका छोरा भारतबाट फर्किएका होलान् । वृद्धा श्रीमतीको हालत के होला ? यस्ता धेरै कथाहरु उसै हराउँछन् । यतिको मृत्यु भयो भन्नेमा सूचिमा एक नम्बर थपिने जति मात्रै हो र मान्छे ? तिनलाई मान्छेको जस्तो व्यवहार भएको छैन ।
उनीहरु मात्रैको होइन, कुनै पनि नेपालीहरुलाई नागरिकको जस्तो व्यवहार भएको छैन । त्यो किसिमको जवाफदेहिता देखिएको छैन । जाजरकोट र रूकुम पश्चिममा के भयो भन्ने जान्ने अधिकार नागरिकसँग छ नि । खोइ त दैनिक अपडेट ? सरकारको एउटा प्रतिनिधिले हरेक दिन आज यो क्षेत्रमा यति राहत पुर्याइयो, यति मानिसहरुलाई ओत लगाइयो, यति मानिसहरुका पेट अघायो र भोलि यो भन्दा बढि गर्नेछौँ भन्ने जानकारी ? यस्ता सूचनाहरु प्रकोपमा जानकारी मात्र बन्दैनन्, आशाका किरण बन्छन् । भोलि बिहान हुन्छ र मसम्म त्यो राहत आइपुग्छ भन्ने आशा मात्रले पनि मान्छेलाई बलियो बनाउन सक्छ । गरिरहेको कार्यहरुका बारेमा समालोचना भएर त्रुटी सच्याउन र थप हातेमालो गर्ने बाटो खुलाउँछ । तर गरिराखेकै त छ नि, यीनलाई किन भनिराख्नु पर्यो भन्ने अहम् जस्तो छ सरकारको ।
आफ्नो गैरजिम्मेवारीपन, असक्षमता र सुस्त प्रणालीलाई ढाक्ने बहाना चाहिएको छ । चिसोले मृत्यु भएका दुवैजनालाई दीर्घ रोगी थिए भनेर चिसोले भन्दा आफ्नै रोगले बिते भन्ने सुनिन्छ । त्यसो भए भन्दा भो त, भूकम्पले होइन, घरले किचिएर यति मरे । घर आफैं भत्किएनन्, भूकम्पले हल्लाएर भत्कायो । अस्तिको भूकम्प जस्तै हो अहिलेको चिसो । चिसोले शरीरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनायो । अनि रोगको प्रहार शरीरले धान्न सकेन र बिते ।
राज्य संयन्त्रलाई आज के के भयो ? कति ठाउँमा राहत पुग्यो ? कति बाँकी छन् ? यस्ता प्रश्न सोध्नुहोस्, स्पष्ट जवाफ आउदैन । तथ्यांक राख्ने त्यो तरिका अपनाइएकै छैन । अनौपचारिक तवरमा भर परिएको छ । राहत जान्छ । तथ्यांक राख्दा राख्दै कर्मचारीहरुको दिन बित्छ । नराखौँ, खाइदियो भनेर अख्तियारमा पर्ला । टिपोट राख्ने तरिका सहि नहुँदा मात्रै पनि राहत सामग्री थुप्रिए । र, मान्छेहरु बित्न थाले ।
प्रभावित क्षेत्रका वडाध्यक्षहरु भन्छन्, अहिलेसम्म त्रिपालसमेत पर्याप्त छैन, ओढ्ने ओछ्याउने त परको कुरा हो । सरकार कहाँ छ ? राहत कति आयो भनेर गन्दैछ । पहिले राहतमा आएका चामलका बोरा गन्दा गन्दै गोदाममा नै चामल कुहिए । त्रिपाल मुसाले खाए । सक्नेहरुले त्रिपाल टिपेर घर हिडेँ । अहिले फेरि त्यहि तरिका छ ।
गृहमन्त्रीले ३ दिन अगाडि भाषण गरे, भूकम्प पीडित खुला आकाशमुनि बसेको पाइए सीडीओलाई कारबाही गर्छौ । तर अझै पनि धेरै मान्छेहरु खुला आकाशमुनी सुतेका छन् । नाम नै चाहिए, कुसे गाउँपालिकाका रमेश नेपाली, लक्ष्मण नेपाली र विमला नेपाली हिजोसम्म बिना म्याट खुला आकाशमुनि सुतिरहेका थिए । अब कारबाही कसलाई गर्ने ? कि मबाट यो काम हुन सकेन भनेर हात उठाएर पाखा लाग्ने ? र सक्नेलाई जिम्मा दिने ?
रास्वपाले भन्यो, हाम्रो पार्टीका नेता, सञ्जाललाई प्रयोग गर्ने ठाउँ छ भने प्रयोग गर्नु । यदि त्यस्तो ढंग पुग्दैन भने हामीलाई काम दिनु, हामी गर्छौँ । तर आलोचना गर्नेले भन्छन्, ठेक्का लिन लाग्यो । तिनलाई ठेक्काको चिन्ता छ, तर खुला आकाशमुनी रात बिताएकाहरुको चिन्ता छैन । गर्छु भन्नेहरुको आलोचना गर्नु भन्दा कसैले आफ्नो काम राम्ररी नगरेर अर्कोले म गर्छु भनेर अगाडि सरेको हो भन्ने सोच्ने क्षमता छैन वा ती यति डराएका छन् कि तिनलाई मान्छे मरून् तर अरुले काम गर्ने अवसर नपाओस् भन्ने छ ।
यसरी चल्दैन । हरेक दिन कति राहत पुग्यो ? त्यसको दैनिक सूचना चाहियो । हरेक दिन पहिले भन्दा धेरैले राहत पाउन्, त्यो ग्यारेन्टी चाहियो । राज्य चाहियो । बाउआमा जस्तो राज्य चाहियो । चिसो र सम्भावित रोगब्याधीबाट नागरिकलाई सुरक्षा चाहियो । चाँडो ।
