Banner अर्थ स्थानीय

दूध व्यवसायीहरू बजार खोज्दै, चाडबाडमा पनि दूध विकेन

दमक, २ मंसिर

चाडबाडको समयमा पनि दूध र दुधजन्य पदार्थको विक्रि कम भएपछि दुध ब्यवसायी समस्यामा परेका छन् । दशैं, तिहार र छठ जस्ता पर्वको समयमा पनि देशभरि दूध तथा दुग्धजन्य वस्तुको बिक्री कम भएको ब्यवसायीहरु बताउँछन् । साना तथा ठुला डेरी उद्योगहरुमा दुग्धजन्य वस्तु घिउ, पाउडर, पनिर स्टकमा रहे पनि बिक्री कम भएपछि ब्यवसायीहरुले दुधजन्य पदार्थको विक्रि गर्न अन्तराष्ट्रिय बजारको खोजी समेत गरेका छन् ।

अरु समयमा भन्दा तीज, दसैँ, तिहार र छठमा घिउ बिक्री केही बढेको भएपनि व्यवसायीको तुलनात्मक रुपमा विक्रि कम हुँदा आफूहरू घाटामा पर्ने भन्दै दुग्ध व्यवसायीहरू बजार खोज्दै बंगलादेशसम्म पुगेका छन् ।

२०७९ चैत महिनादेखि नेपालमा दूधको मूल्य बढ्यो । मूल्य बढेसँगै नेपालको सीमावर्ती क्षेत्रबाट भारत निर्यात हुने दुध ठप्प भयो । झापा, मोरङ र सुनसरीबाट दुध तथा दुग्धजन्य वस्तुहरु घिउ र पनिर भारतको सीमावर्ती बजारमा जाने गर्दथ्यो । त्यसरी भारतमा दैनिक सरदर ३ हजारदेखि ४ हजार लिटरसम्म दूध निर्यात हुने गरेको व्यवसायी दूध ब्यवसायी संघका सदस्य राजकुमार खनाल बताउँछन् । उनी भन्छन्- भारतको दुध आयात बढेसँगै स्वदेशी उत्पादनको दुध निर्यात ठप्पमात्रै भएन, बरु, त्यतिनै परिमाणको दुध नेपालका सीमाक्षेत्रका बजारमा भारतबाटै आउन थाल्यो । जसका कारण दैनिक ६ हजारदेखि ७ हजार लिटर दुध नेपाली बजारमा बढी भयो । एकातिर दुध उत्पादन बढ्नु, दुधको मूल्य बढ्नु र भारतबाटै सस्तोमा दुध आउन थाल्दा नेपालको दुध खपत हुन नसकेको उनले बताए ।

साना कलेक्सन सेन्टरहरुले भने आफैँ मोटरसाइकलमा वा गाडीमा बजार ल्याएर विराटनगर, धरान, इटहरी, विर्तामोड, दमकजस्ता बजारमा दुध बिक्री गर्न थालेपछि ठूला ब्यवसायीहरु संकटमा परेको साना ब्यवसायीहरु बताउँछन् ।

दमक ८ स्थित साझा डेरीका सञ्चालक योगानन्द खतिवडाले देशमा उत्पादन बढेको तर निर्यातको ब्यवस्था नहुँदा समस्या भएको बताए । उनले हाई स्केलमा मुल्य वृद्धि हुँदा र भारतीय दुध सस्तोमा पाइने भएकोले पनि नेपाली बजारमा समस्या आएको बताए । उनले भने- अघोषित रुपमा भारतको दुधलाई खुला गरिँदा नेपालमा दुध किसानहरु समस्यामा परेका हुन् । बजार अनुगमन नहुँदा ठूला ब्यवसायीले दुधमा पाउडर मिसाएर मनोमानी बेच्ने गरेपनि अनुगमन र कारवाही नहुँदा बालबालिका तथा बुढाबुढीले विषाक्त दुध खान बाद्य छन् । उनले भने ।

झापाको कमल गाँउपालिका वडा नं. ५ मा रहेको लगनशील कृषि सहकारी संस्थाका अध्यक्ष गोविन्द खनालले तीनमहिनादेखि दुध ब्यवसायमा समस्या आएको बताए । उनले नियमित कारोबार गरिरहेको एनएमसी डेरीले १४ सय लिटरबढी दुध लगिरहेकोमा एकैपटक घटाएर ७ सय लिटरमा झारेपछि ब्यवसायीक कृषक मारमा नपरुन भनेर आफूले किसानबाट किनिरहेको दुधबाट बजार खपतबाट बाँकी रहेको दुध पाउडर बनाउन थोलेको जानकारी दिए । उनले अहिलेको मुख्य समस्या चिस्यान केन्द्रको अभाव भएको बताए ।

मोरङमा पनि दुध बिक्री हुन छोडेपछि मोरङका केही डेरी उद्योगले इलाममा छुर्पी बनाउन दुध पठाएको बताएका छन् । मोरङ कानेपोखरीको नवदुर्गा डेरी उद्योगका सञ्चालक राजकुमार खनालले केही दिनका लागि छुर्पी बनाउन दुध इलाम पठाएको बताए ।

उता इलाम जिल्लामा अहिले डेढसय बढी डेरी उद्योगहरु सञ्चालनमा रहेका छन् । सबै डेरीहरुले किसानबाट दूध संकलन गरि घिउ, चीज र छुर्पी उत्पादन तथा निकासी गरिरहेका थिए । डेरीहरुमा कम्तिमा पनि पाँच हजार किलो देखि १८ हजार किलो नौंनी घिउ र चीजको अहिले ‘स्टक’ सूर्योदय नगरपालिका स्थित दुग्ध व्यवसायी संघका अध्यक्ष जगत महतले बताए । इलाम नगरपालिका स्थित सेतो पहाड डेरीका सञ्चालक मिलन खत्री पनि आफ्नो डेरीमा करिब चार हजार किलो घिउ स्टक रहेको बताउँछन् । उपभोक्ताबाट माग नआएको खत्रीको भनाइ छ

यसैबिच बजारमा दुध बिक्री हुन छाडेपछि कोशी प्रदेश डेरी उद्योग संघले दुधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निणर्य गरेको छ । यस्तै दही, पनिर र नौनी घिउको बिक्री मूल्य पनि घटाउने निणर्य गरेको हो ।

घटाएको मूल्य अनुसार अब उपभोक्ताले स्ट्याण्डर दुध आधा लिटरको मूल्य ४५, लो फ्याट मिल्क आधा लिटरको ३५, दही २ सय मिलीलिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घिउ प्रतिकेजी ८ सय रुपैयाँमा पाउने भएका छन् ।

कोशी प्रदेशमा दुध उत्पादन बढेर बजारमा बिक्री नहुँदा दुध उत्पादक किसानहरु ‘मिल्क होलिडे’को मारमा छन् । प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दुध उत्पादन हुने तथ्यांक छ ।

कोशी प्रदेशमा दुध उत्पादन बढेर बजारमा बिक्री नहुँदा दुध उत्पादक किसानहरु ‘मिल्क होलिडे’को मारमा छन् । अघिल्लो आर्थिक वर्षको तथ्याङ्क अनुसार कोशी प्रदेशमा दुध दिने गाईको संख्या ५ लाख १० हजार ३२ छ भने भैंसीको संख्या २ लाख ८७ हजार ९६८ छ । प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दुध उत्पादन हुने तथ्याङ्कमा उल्लेख छ ।प्रतिव्यक्ति उपलब्धता वार्षिक ९२ लिटर छ भने आवश्यकता ७१ लिटरमात्रै हो । उक्त तथ्याङ्क अनुसार पनि कोशी प्रदेशमा दुध उत्पादन आवश्यकता भन्दा बढी छ । कोशी प्रदेशमा अहिलेको सिजनमा उत्पादन भएको दुधमध्ये १ लाख ५० हजार लिटर दुध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो । तर, अहिले औपचारिक क्षेत्रमा झण्डै २ लाख ५० हजार लिटरभन्दा बढी दुध संकलन भइरहेको डेरी उद्योगहरु बताउँछन् ।

You may also like