दमक । राज्यले नेपाली नागरिक भएर बाँच्न पाउने अधिकार पनि खोसेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले सरकारको निन्दा गरेका छन् । वालुवाटारमा रास्वपाको आन्दोलनका क्रममा नेता तथा कार्यकर्ता पक्राउ परेपछि पूर्व मन्त्री तथा सांसद सुमना श्रेष्ठले सो आरोप लगाएकी हुन् । उनले संवैधानिक तथा नैसर्गिक अधिकार कुण्ठित गर्दै तानाशाह प्रवृत्ति हावी गराएको आरोप लगाएकी छन् । नेपालको संविधानले प्रत्येक नागरिकलाई शान्तिपूर्वक भेला हुने र विचार अभिव्यक्त गर्ने स्वतन्त्रता मौलिक हकको रूपमा प्रत्याभूत गरेको स्मरण गराउँदै रास्पाका नेता तथा कार्यकर्ता पक्राउको विरोध गरेका थिए ।पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको दाबी गर्दै शान्तिपूर्ण प्रदर्शनमा राज्यले अनावश्यक बल प्रयोग गरेर तनावपूर्ण स्थिति सिर्जना गर्ने प्रयास गरिरहेको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
मंगलबार शान्तिपूर्ण प्रदर्शनमा सहभागी ५१ जनालाई प्रहरीले बलपूर्वक पक्राउ गरी दुव्र्यवहार गरेको भन्दै वक्तव्यमा भनिएको छ, ‘शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिकको अधिकारविरुद्ध राज्य पक्षबाट भएको दुव्र्यवहारप्रति घोर भत्र्सना गर्दै गिरफ्तार भएका सबैलाई विनासर्त तत्काल रिहाइको माग गरेको छ । शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर दबाउन खोज्ने सरकारको रवैयाको निन्दा गर्दछौँ।’ विज्ञप्तिमा भनिएको छ ।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हक हनन गर्दै सरकारले लोकतान्त्रिक मूल्य(मान्यतामा प्रहार गरिरहेको रास्वपाले बताएको छ । ‘अन्यायका विरुद्ध ऐक्यबद्धता जनाउन आमजनसमुदायलाई अपिलसहित नागरिकको अधिकार हनन हुने कुनै पनि गतिविधि नगर्न सरकारको ध्यानाकर्षण गर्दछौँ,’ वक्तव्यमा भनिएको छ।
वालुवाटारमा आन्दोलनमा सहभागी भएका रास्वपाका सांसद अशोक चौधरीसहित ५१ जना नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि आन्दोलनपक्ष अझ आक्रोशित बन्दै सरकारका विरुद्धमा उग्रनारबाजी गरेका थिए । पक्राउ परेका सबै सांसद तथा समर्थकहरुलाई मंगलबार साँझ नै छोडिएको काठमाडौँ उपत्यका प्रहरी कार्यलयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे बताएका छन् ।
दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोधका विरुद्धमा ऐक्यबद्धताका लागि भनेर गरिएको वालुवाटार घेराउको कार्यक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको प्रवक्ता घिमिरेले बताए ।
कार्यवहाक महान्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य जारी गरी शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले दमन गरेको बताए । ‘शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन् लोकतान्त्रिक मूल्य मान्यताको चरम उल्लंघन हो’, उनले भनेका छन् । विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ ।
यसैगरी, (रास्वपा) प्रमुख सचेतक सन्तोष परियारले शान्तिपूर्ण प्रदर्शनमा धाकधम्की नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । आज (मंगलबार) बालुवाटारमा जारी रास्वपाको प्रदर्शनलाई सम्बोधन गर्दै उनले आफ्ना हातहरू राजाको शासन सत्तामा ढुंगा हान्ने रहेको बताए । ‘हाम्रो अनुशासनलाई बुझ्नुस्, धेरै धाकधम्की नदेखाउनुस्, बल प्रयोग नगर्नुस्, हाम्रा केही साथीहरूलाई घरपकड भयो । स्मरण रहोस्, न्यायका लागि हिजो राजाको प्रत्यक्ष शासन सत्तामा ढुंगा हान्ने हातहरू यही हुन्,’ उनले भने । उनले लोकतान्त्रिक विधिबाट सरकारमा रहेकाहरूलाई खारेज गरिसकेको बताए । आफ्नो संघर्षको कार्यक्रम जारी रहने भन्दै उनले यो संघर्ष कुनै व्यक्ति र पार्टीको मात्रै नभएको दाबी गरे ।
यस्तै वालुवाटारमा भेला भएका रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरुलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा सांसद सुमना श्रेष्ठले नेपाली मात्रै भएर बाँच्न पाउने अधिकार राज्यले नदिएको बताईन । शिक्षकलाई राजनीतिक पार्टीको झोला बोकायो, कर्मचारीलाई राजनीतिक पार्टीको झोला बोकायो । भनसुन गर्नेले पार्टीको कब्जामा राज्य गयो । हामीलाई नेपाली भएर बाँच्ने अधिकार खोसियो । एउटा उद्यमीलाई उद्यममात्र गर्छु भन्ने अधिकार त छ ? तिनीहरुले कि पाउ मोल्न जानुपर्छ कि ब्लामेल गर्नुपर्छ । सोच्नु होला । युवाले राज्यभित्र बसेर सपना बुन्ने अधिकार राज्यले छिनेको छ कि छैन ? तिनै युवाहरुलाई नेपालभित्रै बसेर केही गर्छु भन्नेहरुका लागि पनि यो प्रतिरोध हो । नेपाल जबसम्म स्वर्ग बन्दैन तबसम्म हामीले विश्राम लिने होइन, थकान, भोक, प्यास केही भन्न पाउनेवाला छैनौं ।
सांसद सोविता गौतमले रवि लामिछानेलाई अनुसन्धान गर्नु नै छ भने हिरासत बाहिर राखेर गर्न आग्रह गरिन । यदि हिरासतमै राख्नु पर्ने हो भने त्यसको कारण खुलाउन समेत आग्रह गरिन् । शान्तपूर्ण आन्दोलन शान्तिपूर्ण नै हुन दिन र एक थोपा रगत नबगाई रुपान्तरणको पक्षमा आफुहरु रहेको पनि उनले बताईन ।
यसैगरी उपसभापति स्वर्णीम वाग्लेले भने हामीले मासिक रुपमा खाने तलब भनेको ६६ हजार र यि भ्रष्ट नेताहरुले खाने पनि त्यही ६६ हजार हो तर यिनीहरु आलिशान महलमा बस्छन र करोडौका गाडी चढेर हिंड्छन त्यो कसरी सम्भव भयो । यिनीहरुको जीवनशैली, रहनसहन हेर्नुहोस् । २०÷३० वर्ष एउटा कुनै पेशा वा व्यवसाय नगरेका मान्छेले काठमाडौंमा घर ठड्याएको छ । त्यो त हामी खोज्छौं खोज्छौं । त्यसकारण यो महाभ्रष्टाचार काण्डहरुको स्वतन्त्र, निष्पक्ष र न्यायिक चाँजबुझ आयोग बनाएर अगाडि बढ्ने हाम्रो लक्ष्य हो । जुन स्तरबाट यिनीहरुले डकैती गरिरहेका छन, भ्रष्टाचार गरिरहेका छन उनीहरु त्यसमा सफल भएका छन किनकी तिनीहरुलाई संविधानले नै मलजल गरिरहेको छ । त्यसकारणले संविधान संशोधन र केही बुदाहरु पुनलेखनको माग गरेका छौं । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवाज उठाएका छौं । प्रदेशसभाको खारेजी र प्रदेश संरचनाको आमुल पुर्नसंरचना माग उठाएको पनि उनले बताए । राष्टिूय सभाको विद्धत रुपान्तरणको मुद्दा उठाएका छौं । अख्तियारले आज ति भ्रष्टाचारीलाई एक्सन लिनुपर्नेमा भुटानी मुद्दा सुस्ताएको, टेरामेक्स सुस्ताएको, गिरीबन्धुमा हालै नहाल्ने त्यो कसरी भयो भन्दा अख्तियार, निर्वाचन आयोगजस्ता संवैधानिक निकयाहरुमा समेत पार्टीले लेवी बुझाउने मान्छे लगेर प्रमुखमा राखेका छन् । यि सबै यहि संवैधानिक कानुनलाई टेकेर सुधारोन्मुख अवस्थातिर लान चाहान्छौं । यस कारणले अब यो आन्दोलनले यि मुद्दाहरु पनि बोकेर हिंड्ने उनले बताए । घनिभुत रुपमा छलफलबाटै जनतालाई जगाउने गरी अगाडि जाने पनि उनले बताए । आन्दोलन उचाईमा रहेको र आन्दोलन बल्ल सुरु भएको पनि उनले बताए । सार्थक रुपान्तरण अब यहि निलो क्रान्तिले फत्ते गरेर छोड्ने आश्वासन पनि बाँडे । रवि लामिछानेलाई हिरासत भन्दा बाहिर राखेर अनुसन्धान गर, राजनीतिक प्रतिशोध छोड । सहकारी मुद्दाहरुको समाधान, महाभ्रष्टाचारीहरुको छानविन, अर्थतन्त्र तङ्ग्याउने, युवा बेरोजगारी महामारीलाई अन्त्य गराउने उद्देश्यका साथ आफुहरु अगाडि बढेको बताएका छन् ।
रास्वपा केन्द्रीय सदस्य तथा काठमाडौं उपत्यका आन्दोलन संयोजक तथा केन्द्रीय सदस्य पुकार बम, सांसद अशोक चौधरी र केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, रास्वपा काठमाडौंका सभापति प्रदीप विष्ट, रास्वपा ललितपुरका सभापति बुद्धरत्न महर्जनसहित ५१ जनालाई गिरफ्तार गरी साँझमा छाडिएको थियो । राष्टिूय स्वतन्त्र पार्टीले आफ्नो सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको र भ्रष्टाचारविरुद्ध केही दिनदेखि काठमाडौँसहित देशका विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेको छ ।