काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताउनुभएको छ । आयोगको बैठकलाई बुधबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विगतमा कतिपय कामहरु दबाब, भावना र अन्य प्रकारका सम्बन्धले भएकोले त्यस प्रकारको कमजोरी अब दोहोरिन नहुने प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस आयोगलाई प्रभावित पार्ने हैसियत कसैको हुदैन । यसले स्वायत्त ढंगले काम गर्छ । देशको आवश्यकता अनुसार काम गर्नुपर्दछ ।”
प्रधानमन्त्री ओलीले नेपालमा ७० प्रतिशत प्राविधिक धारको शिक्षा हुनुपर्ने बताउनुभएको छ । “हाम्रो शिक्षा साक्षर बनाउने खालको मात्र होइन, जीवन उपयोगी बनाउनु पर्दछ । विगतमा शैक्षिक संस्थाको संख्या हेरियो तर गुणस्तर हेरिएन । तर अब त्यस्तो हुदैन ।”