समाचार

दमक २ मा विकासका याेजना नगएकाे वडाध्यक्षसँग गुनासाे

दमक/ दमक–२ को कञ्चनजङ्घा टोलमा विकास निर्माणका कार्यहरु हुन नसकेको भन्दै स्थानीवासीले सम्बन्धित वडाध्यक्षसँग गुनासो गरेका छन् । उनीहरुले दमक–२ का वडाध्यक्ष प्रजापति सापकोटासँग शनिबार टोल विकास संस्थाको नवौँ वार्षिक साधारण सभाका अवसरमा यस्तो गुनासो गरेका हुन् ।

विकासका पूर्वाधारका रुपमा खानेपानी, विद्युत्, कल्भर्ट र सडक निर्माणका काम हुन नसकेको भन्दै कञ्चनजङ्घा टोल विकास संस्थाका सदस्यहरुले वडाध्यक्ष सापकोटासँग त्यस अवसरमा गुनासो गरेका थिए । उनीहरुले विकासका आयोजनाहरु सहरी क्षेत्रमा मात्र केन्द्रित भएकाले गाउँमा त्यसको अनुभूति गर्न नपाएको पनि बताएका थिए । साधारण सभाका प्रमुख अतिथि रहेका सापकोटाले सोको जवाफ दिँदै दमकको उत्तरी क्षेत्रमा ठुलाठुला आयोजनाहरु निर्माण भइरहेका र कञ्चनजङ्घा टोलमा पनि २ वटा कल्भर्ट चाँडै नै निर्माण गरिदिने प्रतिबद्धता जाहेर गरे ।

त्यस्तै उनले विद्युत्को लाइन पनि विस्तार गरी त्यसको क्षमता समेत बढाउन पहल गरिने बताए । साथै खानेपानीको समस्या हल गर्न पानी ल्याउने मुहान भत्किएकाले यसै वर्षभित्र सो को पुनः निर्माण गरी खानेपानीको सेवा उपलब्ध गराइनेसमेत उनले प्रकाश पारेपछि स्थानीयवासी आश्वस्त भएका थिए । कार्यक्रम सो टोल विकास संस्थाका अध्यक्ष उद्धव दाहालको अध्यक्षतामा भएको थियो । समाज सुधार प्रतिष्ठानका अध्यक्ष विजयप्रसाद बराल र अन्य विभिन्न टोल विकास संस्थाका अध्यक्षहरु अतिथिका रुपमा रहेको बताइएको छ ।

You may also like