समाचार

लकडाउन मात्र गर्ने कि…..

हामी जस्तालाई पनि खोल्न दिन्छन् कि भन्ने हेतुले असार एक गते करीव एकमहिना पछि मैले आफ्नो फुच्चे दोकानको सटर उघारेँ । सटर उघारेर भित्र पस्दा नपस्दै छुचुन्द्राको बिस्टाको जस्तै बासना नाकमा प्वाक्क ठोकियो । यस्सो हेरेँ भुइँमा कुल्चिने ठाउँ नै रहेनछ । भुइँ पूरै कालो भएछ । दिगमिग लाग्यो । मास्क अझै कसेर हतार हतार खरेटो खोजेँ ,बढारेंं, तर एक महिनादेखि टाँसिएको बिस्टाको लेग्रो पानी नहाली गएन । बासना अलि कम भयो, होस् भनेर त्यतिकै छोडेँ । अरु कुनै पनि सामान मिलाउने जाँगर चलेन । गर्र्मी भयो । फ्यान खोलेर कुर्र्सीमा यसो बसेको के थिएँ, बाहिर एकजना प्रहरी ड्रेसमा बाइकमाथि बाट “बन्द“ भन्दै आइपुगिहाले । “ हुन्छ सर“ भनेर चाबी खोज्दै थिएँ ,फेरि आइपुगिहाले ,फेरि इशारा गरे “ बन्द बन्द “ मैले भने“ हुन्छ सर ,म गरिहाल्छु । “कस्मेटिकवालाले त भात खानैपर्दैन नि “ मलाई नियालीरहेका मेरा अर्का दोकाने छिमेकीले ब्यंंग्य कसे । हो मा हो मिलाएर त्यहाँबाट हिडेँ । किराना पसलमा जाँदा चाहीँं कोरोनाले नछुने र कस्मेटिक अथवा कपडा पसलमा जाँदा चाहिँ कोरोना मुख बाएर बसिरहेको हुन्छ क्यारे हैन ?
यो त कथित लकडाउनमा खोल्न नहुने दोकानको एउटा प्रतिनिधि घटनाको एउटा प्रंसँग मात्र हो । अरु यस्ता घटना त कति भए भए होलान् । कति त एकछिन ढिलो हुँदा थाना पुगे होलान् । जरिवानाका पुर्जीहरू बोकेर हुन्छ हजुर गल्ती गरेँ, अबदेखि दोकान खोल्दिनँ । म भोकै मर्छु , छोराछोरी र परिवारको ऋणमै डुबेर भएपनि उपकार गर्छु भनेर फर्किए होलान् ।
विश्वमै कतै नभएको अभुतपूर्व विकास र समृद्धिको बाटोमा अग्रसर राष्ट्र र त्यसै राष्ट्रभित्रको एउटा खुद्रे ब्यापारीको हालत कसले बुझिदिने होला ? वर्ष दिन जति भैसक्यो लकडाउनको घोषित र अघोषित सिलसिलामा निर्धा निर्दोष मजदुर र सानातिना ब्यापार ब्यबसाय गरेर खानेहरू जाँतोमा पिसिएको । दिनभरी सडकको पेटिमा बसेर पोकामा बदाम बेचेर बिहान बेलुका गुजारा गर्नेहरूले कसरी छाक जुटाउँदै होलान् भनेर कहिले सोचियो ? कि मान्छेहरू मरेपछि मात्र सोचिन्छ हिप्पोक्रेट्स शासकहरू ? यहाँ सोचिने कुराले मात्र पनि बाँचिने यथार्थ होइन । सोचेर त्यसलाई कार्यको मूर्तरूप दिनुपर्ने हो । मागेर खाने वर्गहरूको हालत के भयो ?
पदमा बसेकाहरूलाई पो सरकारी दानापानी मिल्ला । कतै जान आउन गाडि मिल्ला । नहुनेको अवस्था के छ भनेर कोही आयो सोध्न कुनैदिन ? लकडाउन भन्यो , बैठक भन्यो, पुलिसलाई कडा आदेश भन्यो सकियो मात्र रहेछ, आदेशवालाहरूको काम ? कति मान्छे भोकले मरे र तिनिहरूलाई कोरोनाको मृत्यु भनेर भनियो, लेखाजोखा पनि छ कि कसैसगँ ?
बन्दाबन्दीको अधिकार शासकलाई कुन अवस्थामा हुन्छ भने जब कोहि नागरिकसँग कमसेकम तिन आधारभुत आवश्यक्ता गास, बास र कपासको पहुँच हुन्छ , ग्यारेन्टी गरिन्छ, तबमात्र माईकिङ गरेर तोकिएको दिनसम्म बन्द रहने कुरामा हक जमाएर कानुनी कारवाहीको हकवाला सहित धम्की दिन सकिएला नत्र भने कुन अधिकार र कुन मुखले बन्द भन्दै यसो गरिएको हो ? महामारी फैलियो भने त्यसलाई नियन्त्रण गर्ने र त्यसको बन्दोबस्त गर्ने जिम्मा कसको हो ? नियन्त्रण किन भएन अहिले सम्म ? अरु देशमा त सरकारले खानापिना सहित कानुनमा रहेर लकडाउन गरेको छ ,हाम्रो देशमा हामी तल्ला तहकाहरूलाई मात्र किन अन्याय ? जान्दैनौ काम गर्न भने जान्नेलाई छोडिदिउँ । जान्नेले गर्छ । नभए कि चामल र सब्जी देउ, होइन भने बन्दाबन्दी खोल ,ज्यादति नगर । अब अति भो । एँ साँच्ची, कर तिर्नु समयमै भनेर माइकिङबाट उर्दी जारी गर्नेे दिन आएन र अब ? लु न छिटो खोल्नुस्, हामीलाई कर तिर्न कस्तो हतार परिसक्यो ।

Author

You may also like