दमक/ झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजुँगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले आइतबार आफनो ११ औं वार्षिकोत्सव मनाएको छ । स्थापना दिवसका अवसरमा संस्थाले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै संक्षिप्त रुपमा वार्षिकोत्सव मनाएको व्यवस्थापक राजु थापाले जानकारी दिए ।
स्थापना दिवसका अवसरमा संस्थाले नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्त सञ्चार केन्द्रमा पुगेर संस्थाका सञ्चालक, कर्मचारी तथा शेयर सदस्यहरुले सामाजिक दूरी कायम राख्दै रक्तदान गर्नुका साथैं त्यहाँ कार्यरत कर्मचारीहरुलाई पीपीइ सेट समेत वितरण समेत गरिएको व्यवस्थापक थापाले जानकारी दिए ।
त्यसअघि स्थापना दिवसका अवसरमा संस्थाको भवनमा संस्थाका संस्थापक अध्यक्ष शेरबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष शान्तकुमार राई (सन्तु)को अध्यक्षतामा स्थापना दिवस कार्यक्रम मनाइएको थियो । संस्थाकी उपाध्यक्ष उषा भण्डारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालकृष्ण गौतम, गौरादह सेवा केन्द्र संयोजक, संस्थापकहरु लगायतको आतिथ्यता रहेको थियो । सो अवसरमा केक काटेर एकआपसमा शुभकामना आदनप्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष भोजकुमार राई, सचिव सञ्जय कुमाल, कोषाध्यक्ष रोशन दाहालसहित विभिन्न उपसमिति, शेयर सदस्यहरु ,कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
शेयर पूँजी सवा ३ करोड कमलका युवा उद्यमी, व्यवसायीहरुको अगुवाईमा स्थापना भएको सो सहकारी संस्थामा हालसम्म सवा ३ करोड बढी शेयर पूँजी पुगेको छ । संस्थामा हाल ३ करोड २६ लाख १२ हजार २ सय रुपैयाँ शेयर पूँजी पुगेको हो । त्यस्तै संस्थाको जगेडा कोषमा १ करोड ५ लाख ४९ हजार रुपैयाँ रहेको छ । कूल २ हजार ३७ जना शेयर सदस्य रहेको संस्थाको हाल सम्मको वासलात ३४ करोड ९७ लाख ७८ हजार रुपैयाँ रहेको संस्थाका व्यवस्थापक थापाले बताए । संस्थाले सदस्यहरुलाई २३ करोड रुपैयाँ भन्दा बढी ऋण लगानी गरेको छ ।