कोभिड–१९, आर्थिक मन्दी, विभिन्न प्राकृतिक विपत्ति, डेंगुजस्ता प्रकोपका कारणले नेपालीको आर्थिक पक्ष कमजोर बनिरहेको बेलामा आएका चाडपर्व निल्नु न ओकल्नु भएको छ । कति त अब छट पछाडि धेरै मानिसहरुले आत्महत्या गर्छन भन्नेसम्मका आँकलन गर्न थालिसकेका छन् । यस्तो अवस्थामा पर्वलाई बढी तड्कभड्क नबनाई सामान्य र आफ्नो गच्छे अनुसारले मनाउने गरौं ।
कोरोना भन्दा अगाडिका पर्वहरुले सबैका घरघरमा एउटा नयाँ उत्साह र उमंग ल्याउँथ्यो । बजार सोही अनुसार चलयमान देखिन्थ्यो र अहिले हिजोआज दशैंमा पनि खासै बजारमा क्रेता देखिएनन् । बिक्रेताहरु सामान्य रुपमा चल्न बाध्य भए भने तिहार पनि लगभग त्यस्तै अवस्था देखिन्छ । क्रेताहरु सस्तो कता पाइन्छ भन्दै खोज्न र सानो आकारको आयले ठूलो आकांक्षा पुरा गर्न उद्दत् देखिन्छन ।
देशभरका मुख्य बजारहरूमा झिलिमिली बत्ती, भाइमसला, फूलको किनमेलमा अलिकति भिडभाड देखिन्छ । नेपालीहरुको ठूलो चाड दसैंपछि आउने दोस्रो ठूलो चाड तिहार दसैं भन्दा बढी उत्साह र उमंगका साथ मनाउने गरिन्छ ।
दशैंभन्दा तिहार साझा पर्वको रुपमा मनाउँन थालिएको छ । दसैंलाई केही समुदायले नमनाउने गरे पनि तिहार भने अधिकांश समुदायले आआफ्नै शैली, परम्परा र गच्छेअनुसार मनाउने गर्छन् । वर्षभरिका दुःखपीडा भुलेर मनाइने यो चाड धार्मिक, सामाजिक, सांस्कृतिक मात्र नभएर आर्थिक दृष्टिले समेत महत्वपूर्ण छ । तिहार भन्नासाथ सबैले सम्झने भनेको बत्तीको झिलीमिली, फूलैफूल, देउसीभैलो, भाइटीका, सेलरोटी आदि हुन् । यो पर्वमा बत्ती र फूलले सिँगारेर घरलाई ‘उज्यालो’ बनाउने परम्परा छ । समूह बनाई घरघरमा खेलिने देउसीभैलो सामाजिक सद्भाव वृद्धिका लागि महत्वपूर्ण छ । भाइटीका चेली–माइतीबीच सम्बन्ध प्रगाढ बनाउने माध्यम पनि हो तिहार । घर सिँगार्ने र देउसी–भैलो खेल्ने चलन सबैजसो समुदायमा पनि व्यापक रूपमै देखिन्छ ।
पछिल्लो समय बदलिँदो समय र परिवेशअनुरूप चाडपर्व मनाउने शैली फेरिँदै गएको देखिन्छ । घर साजसज्जा, किनमेललगायतका कारण तिहार खर्चिलो बन्दै पनि गएको छ । विशुद्ध मनोरञ्जनका रूपमा लिइनुपर्ने देउसी–भैलोलाई कतिपयले अर्थ संकलनको माध्यम पनि बनाउने गरेका छन् । यसले विकृति बढाएको भन्दै केही ठाउँमा कसैलाई मर्का नपर्ने गरी दक्षिणा निर्धारण हुने गरेका पनि छन् । तिहार कतिपयका लागि जुवा–तास खेल्ने पर्व पनि बनेको छ । तिहारमा पटकाजस्तो विस्फोटक पदार्थ अत्यधिक प्रयोग हुन्छ । यो राम्रो पक्ष होइन । विस्फोटक पदार्थले दुर्घटनाको जोखिम पनि हुन्छ । यसले विनास पनि गर्नसक्छ प्रहरी–प्रशासनले विस्फोटक पदार्थ बेचबिखनमा निषेध गरे पनि प्रयोग घटेको देखिँदैन । विकृतिहरू हटाउँदै र मौलिकता जोगाउँदै सभ्य र सुसंस्कृत ढंगले मनाउन सके चाडपर्वको ओज बढ्छ ।
तिहार किनमेल बढी हुने चाड हो । यही मौकामा कतिपयले मनोमानी मूल्य राखेर उपभोक्ता ठग्ने गरेको पाइन्छ । तिहारमा मिठाईको व्यापार धेरै हुन्छ । तर कतिपय व्यापारीले मिठाईमा स्वास्थ्यमै असर पार्ने खालका अखाद्य रंग मिसाउने गरेको पाइएको छ । अनुगमन र कारबाही गर्ने निकाय कमजोर हुँदा नै बजार लापरबाह बन्ने हो । त्यसैले यस्ता चाडपर्वका बेला सम्बन्धित निकायले निगरानी राख्न जरुरी छ । अर्कोतर्फ तिहारलाई स्वदेशी उत्पादनमा निर्भर भएर मनाउँन उत्प्रेरित गरिनुपर्ने हो, तर स्वदेशी भन्दा विदेशबाट आयात गरिएका बस्तुमा फजुल खर्च हुने गरेको पाइन्छ । तिहारमा प्रयोग हुने फूलमाला, मसला, झिलिमिली बत्ती लगायतका विलासी बस्तुमा पर्षेनी करोडौं विदेशिन गरेको छ । यस्ता आयातित बस्तुमा भन्दा स्वदेशी उत्पादनमा हामी आत्मनिर्भर बन्ने बाटो खोज्नु अहिलेको आवश्यकता हो । यी र यस्ता विषयमा हामी नागरिक सचेत बन्न सक्नुपर्छ ।
सरकारले पनि आयातित विलासी बस्तुमा रम्न भन्दा स्वदेशी उत्पादित बस्तुको सदुपयोग गर्दै चाडबाड मनाउन आम नागरिकलाई प्रेरित गर्न जरुरी छ । तर त्यसमा पनि सरकार चुकिसकेको छ । फुल, भाइमसलालगायतका सामग्री ठूलो मात्रामा बाहिरबाट आयत भईसकेका छन् । तथापि आगामी वर्षदेखि चाहि यस्ता कुरामा स्वदेशलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउने लक्ष्य र नीति सरकारले लिन जरुरी देखिन्छ ।

Author

You may also like