देश–समाज मुख्य

विवादित बन्दै सुखानीको सहिदभूमि

विमल लामिछाने-
दमक, २४ असोज-
झापा विद्रोहका नेताहरु सहादत भएको क्षेत्र सुखानी विवादित भएको छ । भौगोलिक हिसावले इलामको भूमि भएपनि सहिदहरुको स्मृतिमा गरिने कार्यक्रमहरु र संरचनागत हिसावले झापाले उपयोग गर्दै आएको सो क्षेत्र पछिल्लो समय सामुदायिक वनलाई हस्तान्तरण गरिएपछि सहिद भूमि थप विवादित भएको हो ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने भनेर यसअघिनै सो क्षेत्र सामुदायिक बनलाई हस्तान्तरण गर्ने सहमति भइसकेको इलामको माइ नगरपालिका अध्यक्ष खम्बसिं लिम्बूले बताए । सामुदायिक बनसँग पर्यटन प्रवर्धन गर्ने योजना सहित वनलाई सो क्षेत्र हस्तान्तरण गरिएको भएपनि अहिलेसम्म पर्यटन प्रवद्र्धनका लागि भने कुनै पहल भएको छैन । केही संरचना बनाउन अब सामुदायिक वनसँग सहमति लिनुपर्ने हुन्छ, उनले भने ।
अध्यक्ष लिम्बुले सहिदहरुको सहादतस्थललाई मनोरञ्जनको साधन बनाउन नहुने पनि बताए । उनले भने-‘इलामको माई नगरपालिकाको दानाबारीस्थित सुखानी भन्ने स्थलमा सहादत भएको हो । अहिले त्यो स्थानलाई छोडेर सालवारी क्षेत्रमा सहिद स्मारक बनाउनु लज्जास्पद विषय हो । यो केवल मनोरञ्जन स्थलजस्तो भएको छ । सहिदको सहादत स्थललाई मनोरञ्जन स्थल बनाइनु वा विनिमय (जग्गा साटाफेरा गर्ने) गर्नु आफैमा अनौठो विषय बनेको छ । सहिदले रगत बगाएको भूगोललाई मनोरञ्जनको साधन बनाउनु हुदैन बरु संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहमतिमा पर्यटकीय क्षेत्रको रुपमा थप विकास गर्दै लानुपर्छ ।’ उनले भने ।
यसैगरी माई नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष हेमबहादुर लायो मगरले सिमा बिवाद पुरानै भएको तर समाधानको बाटो नखोजिएकोले थप समस्या बन्दै गएको बताए । उनले भने-‘सहादत स्थलबाट दुर्गापुर जाने बाटो हुँदै खुदुनाबारी, बुढीसुखानीको पुलसम्मको भूगोल इलाममा नै पर्छ । सुखानी खोला, सहिदहरुको सहादत स्थलबाट नजिकैका पसलहरु भएको क्षेत्रबाट सुखानी खोला उत्तरको सबै भू-भाग इलामको भूगोल हो ।’ उनले भने ‘स्थानीय सरकारले यस्ता क्षेत्रको संरक्षण गनुपर्ने हो तर आफू जनप्रतिनिधि हुनु अघिकै सरकारले सामुदायिक वनलाई यो क्षेत्र सहित पर्यटन प्रवद्र्धन गर्ने शर्तमा दिइसकेको रहेछ ।’
तत्कालीन सरकारले विसं. २०२९ साल फागुन २१ गते वाम आन्दोलनमा लागेका चार युवा नेतालाई इलामको सोही भूमि घनघोर जंगल सुखानीमा लगेर गोली हानी सामुहिक हत्या गरिएको थियो । तिनै सहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, विरेनसिंह राजवंशी र नारायण श्रेष्ठको स्मृतिमा २०५६ सालमा सुखानी सहिद स्मृति प्रतिष्ठान स्थापना भएको थियो । सो प्रतिष्ठानले सहिद पार्क र सहिद पर्यटकीयस्थल संरक्षणको काम गरिरहेको छ । सुखानी स्मृति सहिद पार्क झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको सुखानी जंगलको मध्यभागमा पर्छ ।
सुखानी सहिद स्मुति प्रतिष्ठानका पूर्व अध्यक्ष देवराज घिमिरेले सहिदहरु राष्ट्रका सपुत भएकाले जुन भूमिमा रगत बगाएको भएपनि सहिदहरुलाई सम्झिनु र सम्मान गर्नु नै मुख्य कुरा भएकोले भूमिमा विवाद गरिरहनु नहुने बताए । उनले जुन जिल्लामा बनेपनि सहिदहरुका नाममा बनेका संरचना राज्यकै सम्पत्ती भएकाले संरक्षण गरेर अघि बढ्नुको विकल्प नभएको बताए ।
यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि रानाले इलाम र झापा दुवै जिल्ला मिलेर सहिदहरुको सहादत स्थललाई समेटेर संरक्षण गर्नुपर्ने बताए । उनले मुलुकका लागि जीवन आहुति दिने सहिदहरुलाई तानातान गर्नु र सहादत प्राप्त गरेको भूगोल विवादित हुनु राम्रो विषय नभएको भन्दै विवादका विषयहरुलाई समझ्दारीमा समाधान गर्नुको विकल्प नभएको बताए ।
त्यसैगरी नेकपा माओवादी केन्द्र माई नगर अध्यक्ष भक्त लुङगेलीले सुखानी खोला घुमेर गएकाले खोलाको बहावलाई मात्र हेरेर सीमा कायम गर्नुले थप समस्या आएको बताए । इलाम र झापाको भूगोल ऐतिहासिक पृष्ठभूमिका आधारमा सिमाकंन गरी सीमा समस्या समाधान गर्नुपर्ने उनको धारणा छ ।
भौगोलिक हिसावले माई नगरपालिका दानाबारी, चिसापानी, महमाई र लक्ष्मीपुर वडा नं. ५ मिलाएर बनेको छ । कोशी प्रदेशको इलाम जिल्ला अन्तर्गत रहेको यो पालिका क्षेत्रफलको आधारमा जिल्लाकै दोस्रो ठूलो र जनसंख्याको हिसाबले सबै भन्दा कम जनसंख्या भएको नगरपालिका हो ।
यो नगरपालिका पूर्वमा सूर्योदय नगरपालिका र रोंग गाउँपालिका, पश्चिममा मांसेबुङ र चुलाचुली गाउँपालिका, उत्तरमा इलाम र देउमाई नगरपालिका तथा दक्षिणमा झापा जिल्लाका अर्जुनधारा, कनकाई र शिवसताक्षी नगरपालिकाको बीचमा चुरे क्षेत्रमा अवस्थित पालिका हो ।

Author

You may also like