देश–समाज राष्ट्रिय स्थानीय

कांग्रेसका दुई धार : चुनावी र कानूनी मार्गमा

दमक/ नेपाली कांग्रेसका दुई नेतृत्वले समानान्तर रुपमा गतिविधि अघि बढाएका छन् । विशेष महाधिवेश पश्चात गगन थापाको नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिए पछि समेत शेरबहादुर देउवा नेतृत्वको समुहले पनि आफ्ना गतिविधि अघि सारेको छ ।
यसै क्रममा थापाले निर्वाचन केन्द्रित गतिविधि अघि बढाएका छन् भने अर्को समुह कानूनी लँडाईको आधार बनाउन क्रियाशिल देखिएको छ । सभापति गगन थापाले आगामी चुनावलाई केन्द्रित गरि संसदीय बोर्ड गठन गरेका छन् । आसन्न निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन गरिएको हो ।
बोर्डमा सभापति थापाको नेतृत्वमा उपसभापति, महामन्त्री रसहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो । शनिबार कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले बोर्ड गठनका साथै २१ फागुनमा हुने निर्वाचन केन्द्रित हुने गरी छलफल गरेको छ ।
कानूनी मान्यता नपाएको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले भने कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । शनिबार बसेको बैठकले आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिए । कानूनी उपचार र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको भन्दै नेता महतले निर्वाचन आयोगको निर्णयका विरुद्ध आइतबार सर्वोच्च अदालत जाने बताए । नेता महतले निर्वाचन आयोगले आफूहरुलाई बोलाउँदा पनि नबोलाएर कुनै औपचारिकतासमेत पूरा नगरेर विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिएको आरोप लगाए । उनले निर्वाचन आयोगले निर्णय गर्दैमा आधिकारिक नहुने भन्दै अदालत जान लागेको बताए । यसका लागि राजनीतिक प्रतिवादको पनि तयारी गरेको उनले बताए । त्यसका लागि विभिन्न स्वरुपमबारे छलफल अघि बढाएको उनको भनाइ छ । शुक्रबार मात्रै निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएका गगन थापाहरुलाई आधाकारिकता दिएको छ । आधिकारिकता पाएसँगै गगन थापाहरुले पार्टी गतिविधि सुरु गरिसकेका छन् । पार्टी केन्द्रीय कार्यालय भने देउवाहरुले नै प्रयोग गरिरहेका छन् ।
देउवालाई अभिभावीय भुमिकाका लागि आह्वान
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भुमिकाका लागि आह्वान गरेका छन् । उनले देउवा लगायतका नेताहरुबाट पार्टीले अभिभावकको भूमिका निर्वाह हुने अपेक्षा गरेको जनाएका हुन् । शनिबारको केन्द्रीय समिति बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै थापाले देउवासहित वरिष्ठ नेता शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका हुन् । कांग्रेसका विमती अन्त्य गर्न र एक ढिक्का बनाउन उनीहरुको भूमिका हुनुपर्ने थापाको भनाइ छ । गत पुस २७ देखि माघ १ गतेसम्म चलेको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चुनिएका थापालाई यही माघ २ गते निर्वाचन आयोगले आधिकारिकताको मान्यता दिएको थियो । त्यसप्रति देउवा पक्षका नेताहरुले आक्रोश व्यक्त गर्दै आएका छन् । कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेका खड्काले त देशभर आन्दोलन गर्ने र कानुनी लडाइँ लड्ने अभिव्यक्ति दिएका थिए । सभापति थापाले केही दिनभित्रमै सबै नेतालाई एकै ठाउँ बसालेर पार्टीलाई अगाडि बढाउनेबारे निर्णय लिने बताए । त्यसका लागि कुराकानी थालिसकेको उनले जानकारी दिए ।
नयाँ दल असम्भव ः आयोग
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि दल दर्ता अब असम्भव रहेको जनाएको छ । नेपाली कांग्रेस विभाजन भएको नभई विशेष महाधिवेशनको वैधता परीक्षण मात्रै भएको भन्दै निर्वाचनको मुखैमा अघि बढि सकेको प्रक्रिया अवरुद्ध गर्न नहुने निष्कर्षमा आयोग पुगेको हो । आयोगले कुनै पक्ष वा विपक्षमा निर्णय गरेको भन्दा पनि विशेष महाधिवेशनलाई विधानसम्मत भएको निर्णय गरेको बताई सकेको छ । आयोगको निर्णयलाई आधार मानेर पार्टी विभाजित भएको अर्थ लगाउन नहुने आयोगको ठम्याई छ । आयोगका एक अधिकारीले शुक्रबारको निर्णयका कारण निर्वाचन प्रक्रियामा कुनै असर नपर्ने बताए ।

Author

You may also like