–ः व्यंग्यनारन पाँडे :–
आज पनि बिहानै अद्र्ध–टुइँकिएर पाँडेकहाँ आएको ऐंसेलु झाँगेले आउँदा आउँदै भन्दै आयो –“हओ पाँडेजी, अन्तखेरि अस्ति लास–ट्याम म तपइँकाँ आ’र सुना’को निउजको तपइँले कस्तो मुल्लेकन कथेउ हओ ? कि तपइँले पनि अरू-अन्नेहर्ले जैसै लंकट कुरा नबखानेर सटकटमै ’फास किलास थ्यो’ मात्तै भनेर मलाई सर्काउँछउ र टार्छउ कि कोनि ! तेसो मात्तै चइँ भनेउ भने त मेरो कोइसिनकै अनडाइरेकली बेजोत हुन्छ नि ! अब त म घट्ना–उट्नाका डिट्टेलका डिट्टेल बर्नन् निउजमा उठाउन मेरो उमेरका अररूभन्दा पर्फेक भइसकें भन्ने पस्टै बुज्यौ हौलाउ नि ? तर, अजै पनि ’पत्रकार गर्ने’ पेसोमा मेरो कम्पिलिट खेम्ताको अल–टोट्टलिङ बिबर्ण बुजिसक्न तपइँलाई निक्कै ट्याम लाग्छ हए, कुरो एत्ति मात्तै बुजेका भरमा घमन गरी नहाल्नु हए पाँडेजी र मलाई चान्चुने खुजुरा ठानेर बेबार नगर्नु हए ।“…
सर्दीले वाक्क पारेकाले विरक्त भएर, खोक्तै र हाच्छिउँ काड्दै, बरण्डामा बसिरहेको पाँडले झर्काे मान्दै भए पनि नरमै बोलीमा भन्यो –“खोइ मलाई त तिमीले लेखेको त्यो न्यूज राम्रो लागेको थियो । त्यो समारोह भइन्जेल कति जना त पिसाब फेर्न वा चुरोटखैनी खान एकान्ततिर गएका पनि थिए होलान् नि? कतिले बी–बीचमा खोकेर थुक्न समारोस्थलका छेउछाउतिर पनि गएका थिए होलान् र कतिपयले भाषण गरिसक्ता ताली बजाउने कत्र्तव्ष नगरेका पनि थिए होलान् । ती कुराको मात्र अभाव थियो तिमीले लेखेर त्यस दिन सुनाको न्यूजमा । राम्रो थियो !“
पाँडेको जवाफ सुनेपछि उसले ओठबाट पिरिक्क आवाज निकाल्यो र हेपाहा दाँत देखाएर मुन्टो बटार्दै भन्यो –“लागिरछ खाँचो, तेस्ता खुजुरा कुरा रिपोटिनमा लेख्न ! म विग्याँपन सुक्ल खाने एफेम हुँ र ? तपइँ पनि हिज्आजका नेताहर्ले भासनमा अक्कास–पत्ताल बखानेर जन्ता मोरालाई अल्मला’र मख्ख पारे जैसो डिल्ली–बम्बई र अमृकान–सुइझारल्यानका कुराका गफेडातिर कुरा नबटार न । कि मलाई नि एफेम–सेफेमको निउज रिपोटिन गर्ने स्टाण्डरको पत्रकार गर्ने मान्छे जैसै ठान्छउ हँ ? मैले कस्सैसँग बिग्याँपन माङ्ने गरेको पनि छैन र तेस्ता लन्जुफन्जु कुरा मेरा निउजमा उठाउने गरेको पनि छैन क्या ! खएर यो टपिक याइँ डरप गरम् र तपइँले भन्या जैसै मेरो पत्रकार गराई राम्रो थ्यो होइन्त ?“
उसका कुराले पाँडेको पेटमा, किन हो आज, अरब सागरमा पहिला कहिले आएको निलोफर आँधी नै कुत्कुती मडारिएको थियो । तर त्यो कुत्कुतीलाई दबाएर, उबाट चाँडो मुक्त हुने मनसायले भन्यो –“तिमीले लेखेर उस दिन सुना’को न्यूज राम्रो थियो । त्यतिको न्यूज त ’प्रचण्ड’, केपी बा र माधव नेपालहरूले पनि लेख्न सक्तैनन् नि ! अति राम्रो थियो ।“
य ऊ फुरुक्क भयो र भन्यो –“पैला कैले हो, मैले प…र पाठामारीमा तेस साँजमा लागेको भब्बे ’सत्तेनारान कथा’ समारोको निउज लेखेको थेँ । तो निउज त्याँका जन्ताहर्ले र निजै कथाबाचक पँडितले पनि पढेछन् र मलाई मेरै घराँ भेट्न सो–उक्त पँणितका नेतित्तोमा डेल्लिगेसनै बना’र हुद्दामा आ’र पनि तपइँकै जैसो बिउटो कमेन गरेका थे । कुरो के भन्लाऊ भने, खाँट्टी चइँ पत्रकार गर्नेले लेखेर पत्रिकामा उठा’को निउज पढेर कमेन गर्ने तपइँ जैसा बुजकी थो…ढै मात्तै हुन्छन् । हुन ता यो मोडन विस्सो भूमन्नलमा कुनै पनि विसए बुद्नेलाई सिरिखन्ड र नबुद्नेलाई खुर्पाको बिँड हुनु त नेचुरल र सोभाभिकै कुरा भइसक्या छ । । र…तपइँका मुखाड आज्ज चइँ मेरो मनै सित्तल हुने खाल्को कमेन्टी सुन्न पाइयो । तपइँलाई मेरो भेरी–भेरी ठ्याङकु छ हए पाँडेजी ।…
उसको तोरीलाहुरे पोचोपन र सस्तो प्रशंसा सुन्ने तिर्खा पत्रकारको थोत्रा परिचय बोकेर कुनै–कुनै भेला वा समारोहतिर ढिम्किने र टाइँफाइँ गर्ने कतिपयसँग मिल्दोजुल्दै भएकाले पनि सुनिसकेको पाँडेले खिस्स दाँत मात्र देखायो । केही भनिरहन आवश्यक ठानेन । बरु उसले हिंड्ने छाँट नदेखाएको बुझेपछि, कुर्सीबाट उठ्तै, कुरो आफैतिर मोडेर भन्यो –“आज मलाई सञ्च छैन । तिमी पत्रकार गर्ने व्यक्तिलाई त झन उत्ति फुर्सत पनि नहोला । म आराम गर्छु ल ? पछि भेटौंला नि !“
झाँगेले गह्रौं भएर झोलाको खकन मिलायो र उठ्तै भन्यो –“ हुन्छ नि त, फेरि भेटउँला– हरन प्लिज ! … ए साँची, तपइँ कति सालका र अैले कति बर्ख, कति मैना र कति दिनका पो भएउ हउ ?“
पाँडेले सोध्यो –“किन चाहियो र ?“
उसले कपाल कन्याएको अभिनय गर्दै भन्यो–“ तपइँकोे सास्थे खराप र’छ, निको भएन र फ्याट्ट केइ तल–माथि भइगो भने चाइँछ नि ! मान्छेहर्ले म टोले–छिमेकी भको नातोका व्याक्ति र तेसमाथि एट्टिप पत्रकार गर्ने वेत्तित्तो पनि भकाले तपइँ तेसो–उसो नै भइगएउ भने सप्पैले सिउरली मलाई नै कोइसिन गर्छन् केरे । तेस ट्याममा मैले नजानेको त हुनु हुँदैन नि !…पत्रकार गर्नलाई इज्जोत राख्न त गारो पो छ त हओ पाँडेजी, सैलो काँ र यो पेसो र एसको सिदान्त जान्ने म र हामेरू जम्मैलाई…इत्यादि भन्दै बल्ल त्यो लम्फु बाटो लाग्यो !!…
र, ऊ लम्फ्याङ–लम्फ्याङ गइरहेतिर हेर्दै पाँडेले स्वर निकालेरै भन्यो –“यसले त्यस्तो बेलाको झन कस्तो समाचार लेख्ला हँ ?“ तर पाँडे बोलेको सुन्ने चरो–मुसो कोही थिएन !…..
+++++++++++