विर्तामोड/नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले आगामी निर्वाचनमा पार्टीभित्र प्रि–इलेक्शन गराएर प्राप्त लोकप्रिय मतका आधारमा उम्मेदवार चयन गरिने बताएकी छन् । नेपाली कांग्रेस झापाले विर्तामोडमा आयोजना गरेको जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र तथा गाउँ–नगर तहका पदाधिकारीहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई थप लोकतान्त्रिक र जनमतमा आधारित बनाउने उद्देश्यले यस्तो अभ्यास अघि बढाइने बताइन् ।
उनले पार्टीको महाधिवेशन पूर्वनिर्धारित समयमै सम्पन्न गर्न ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता अध्यावधिक कार्यलाई छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याइन्। जेठ २० गते एकैदिन ६२ हजारभन्दा बढीले क्रियाशील सदस्यता नवीकरण गरेको उल्लेख गर्दै उनले यसले पार्टी नयाँ विश्वासको आधारमा अघि बढिरहेको पुष्टि गरेको बताइन् ।
संग्रौलाले पार्टीका नीति तथा कार्यक्रमबारे कार्यकर्तालाई जानकारी गराउन, सुझाव संकलन गर्न तथा सदस्यताको अभिलेख व्यवस्थित गर्न डिजिटल प्रविधि अपनाइएको जानकारी दिइन्। युवा पुस्तालाई पार्टीप्रति आकर्षित गर्न अनलाइन सदस्यता खुला गरिएको बताउँदै उनले प्राप्त आवेदनबारे निर्णय गर्ने अधिकार वडा र क्षेत्रीय तहलाई दिइएको तथा विवाद आएमा मात्र केन्द्रले छानबिन गर्ने व्यवस्था रहेको स्पष्ट पारिन्। उनले १८ देखि ३३ वर्ष उमेर समूहका युवालाई पार्टी सदस्यता वितरणमा विशेष जोड दिन आग्रह गरिन् ।
कांग्रेस क्रियाशील सदस्य अद्यावधिकमा उल्लेख्य कमी
नेपाली कांग्रेसमा हालसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले आफ्नो सदस्यता डिजिटल रूपमा अद्यावधिक गरेका छन्। क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार यो संख्या साँझसम्म करिब ४ लाख पुग्ने अनुमान छ ।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले नवीकरण गरेका सदस्यलाई डिजिटल अद्यावधिक गर्न समय दिएको थियो। समितिका सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार अघिल्लो महाधिवेशनका ८ लाख ७० हजारभन्दा बढी सदस्यमध्ये अहिले उल्लेख्य कमी देखिएको छ ।
सरकारी कर्मचारी र शिक्षकले दलको सदस्यता लिन नपाउने व्यवस्थाका कारण पनि संख्या घटेको बताइएको छ । साथै, धेरै सदस्यले अद्यावधिक नगरेका कारण कुल संख्या झरेको हो । गत विशेष महाधिवेशनअघि करिब ४ लाख ५० हजार सदस्य नवीकरण भएकोमा अहिले त्यो संख्या घटेर ३ लाख ७५ हजारमा सीमित भएको समितिले जनाएको छ। १५औँ महाधिवेशनका लागि डिजिटल अद्यावधिक अनिवार्य गरिएको भए पनि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले यस प्रक्रियामा असहमति जनाइरहेको छ ।