कला/साहित्य/संस्कृति देश–समाज लेख विचार/वहस

संस्कार निर्माणको बाढी चल्नु पर्छ यो महान पर्व दशैँमा

जयबहादुर श्रेष्ठ
अस्वाभाविक हवाई दुर्घटना, बाढी पहिरोको वितण्डा, देशको अस्थिर राजनैतिक चलखेल, महँगी, भ्रष्टाचार, दुराचार, नातावाद र परिवारवादको वाक्लो पर्दालाई चिर्दै २०८१ सालको विजयादशमी थोरै उमँग, खुशी, उत्साह र जाँगर अनि धेरै चिन्ता र पीडा बोकेर प्रत्येक नेपालीको घर आँगनमा भित्रिसकेको छ । मनमा जतिसुकै पीडाबोध भए पनि । पीडाले थिचेको भए पनि । बाहिरी आवरणमा खुशिभाव जगाउनै पर्ने । यो चाडले साँच्चिनै आम नेपाली वुवाआमा, दिदीवहिनी, दाजुभाइहरूलाई सुस्वास्थ, दीर्घायु एवम् उत्तरोत्तर प्रगति गराउन सफल वनोस् र यही पर्वले नेपालमा राजनीतिक स्थायीत्व कायम हुने वातावरण सृजना होस् । यही मंगलमय शुभकामना प्रत्येक नेपालीले एक अर्कामा वाँड्न र पुर्याउन सक्ने वातावरण बन्न सकोस् भन्ने मंगलमय कामना व्यक्त गर्न चाहान्छु ।
दशैँ, जसलाई विजया दशमीको नामले चिनिन्छ, को आफ्नो छुट्टै वैशिष्ठ्यता छ । शरद ऋतुको अन्त्यको मनमोहक समय आश्विन शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म मनाईने यो चाड सामाजिक, धार्मिक, आर्थिक, सांस्कृतिक, राजनैतिक क्षेत्रमा केही असत्य कार्यहरू भईरहेका रहेछन् भने ती भए गरेका हरेक असत्यको पक्षमा सत्यले विजय प्राप्त गर्न सकोस् भन्ने कामनाका साथ मनाईन्छ । यो चाडको मुख्य ध्येय पनि यही हो । दानव महिषासुरको अन्याय, अत्याचार, दूराचार, अहँकार, घमण्ड र ब्यभिचारलाई अन्त्य गर्न दुर्गा माताले महिषाशुर माथि प्राप्त गरेको विजय नै असत्य माथि सत्यको विजय हो भन्ने सन्देश यो चाडले दिएको छ ।
के युवक, के बृद्ध, के बालक सबैको लागि त्यत्तिकै महत्व बोकेको यो चाडमा बालबालिकाले मनाउने दशैँ सबै खुशी नै खुशीमा बिताउँछन भने परिवारका मुख्य मानिसको दशैँ हरेक दुःख, पीडा, चिन्ता र अभावको सामना गर्दै मनाउनु पर्ने हुन्छ । अहिलेको परिप्रेक्षमा त हुनेहरूका लागि दशैँ यति भड्किलो बनेर गएको छ । उनीहरूको देखेर, नहुनेहरूले या त भड्किलो रवाफ हेरेर मात्र या त आफ्नो माखोमुन्द्रो र घरखेत गरेर, साहूको ऋण बोकेर दशै मान्नुपर्ने परिस्थिति सृजना भईरहेको देखिन्छ । यो दशा बनेर आउने दशैँ धेरैको लागि बोझ नै बनेको देखिन्छ । निर्वाचन भड्किलो भयो, विवाह भड्किलो भयो भनेर सरकारले जसरी विवाह र निर्वाचनको खर्चको सिलिँग तोकेको छ दशैलाई भड्किलो नबनाउन स्थानीय सरकारले सिमित खर्च मात्र गर्न पाउने उपयुक्त कदम चालिदिए समाजमा भड्किलो चाडवाड मनाउन अस्वस्थ प्रतिष्पर्धा हुने थिएन भन्ने सहज अनुमान गर्न सकिन्छ ।
दशैँ वास्तवमा जस्तोसुकै परिस्थितिबाट शुरू गरिएको भएपनि, यसमा जस्तोसुकै किँवदन्ति जोडिएको भएपनि यसको मुख्य ध्येय असत्यलाई सत्यले पराजय गर्न, व्यक्तिको अनावश्यक घमण्ड र दम्भ तोड्न, आफ्ना परिवारजनसंग रमाइलो भेटघाट गर्न, सुखदुःखका क्षणहरू साटासाट गर्न, मान्यजनहरूवाट आशिर्वाद लिन र समग्रमा असल संस्कारको प्रतिस्थापन गर्न मनाईने चाड हो । ईस्लाम धर्मालम्वीहरूले मनाएको रमदानलाइ हेर्ने हो भने त्याँहा आत्मअनुशासन, नैतिकता, चरित्र र सद्भावको यति शसक्त उदाहरण हुन्छ कि जसलाई पालना गर्न निकै संम्यम् र धैर्यशील बन्नु पर्दछ । हामीले हाम्रो चाडलाई त्यस्तै नैतिकता, अनुशासन र चरित्रको कडा साङ्लोले बाँध्न सक्यौँ भने हाम्रा सबै चाडपर्वको पूर्ण उपादेयता हुन सक्ला । नत्र त यो भड्किलो प्रतिस्पर्धाले समाजलाई कतातिर डोर्याउछ यसको जवाफ त्यति सजिलो छँदै छैन । चाडपर्व मनाउने दिनको संख्याले नै यस्को उद्देश्य प्रष्ट पार्दछ कि हाम्रो जमघट केवल खान र रमाईलो गर्न मात्र पटक्कै हुँदै होईन । सुपाच्य रोजेको र महँगा भोजन अनि मनोरन्जनका अनेकन अवसरहरू त ठूल्ठूला तारे होटलमा सहज रूपमा मिल्न सक्छ तर आफ्ना अग्रजहरूबाट प्राप्त गर्ने ओजपूर्ण आर्शिवाद लिन र थोरै भए पनि संस्कारयुक्त जीवन निर्माण गर्न चाहिने आत्मबल, नैतिकता, ईमान्दारिता र संस्कार प्राप्तिमा भने यस्ता चाडले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ ।
संस्कार केहो ? हामीलाई संस्कार किन आवश्यक छ? र यस्ता चाडपर्वले संस्कार कसरी निर्माण गर्छ भन्ने कुरालाई व्याख्या गर्न आवश्यक ठान्छु ।
“संस्कार व्यक्तिको चालचलन, शीलस्वाभाव र व्यवहारको शुद्धीकरण हो । यसले मानिसमा भएको दुर्गुणलाई हटाएर सद्गुण स्थापित गर्दछ । संस्कारको अन्तिम उद्देश्य व्यक्तिलाई गुणवान बनाएर असल चरित्र निर्माण गरिदिनु हो । हामी टाढाटाढावाट आफ्ना मान्यजनको आशिर्वाद लिन धाउनु भनेको नै असल संस्कार हो । जसरी निभेको दियोले अर्को दियो बाल्न सकिन्न त्यसरी नै असल संस्कार, नैतिकता र चरित्र नभएको व्यक्तिले दिएको आर्शिवादले व्यक्तिलाई असल बनाउन नै सक्दैन । आफ्नो बुबाआमा जसले आफूलाई यो अवस्थासम्म ल्याई पुर्याउन भोक, तिर्खा, कडा परिश्रम कुनै कुराको पर्वाह गर्नुभएन, उहाँहरू हाम्रो लागि जिउँदो देवता हुनुहुन्छ । हो हामी उहाँहरूबाट नै दर्जा अनुसार आशिर्वाद लिन्छौँ र दिन्छौँ । त्यस बखत हामी कामना गरौँ “सारा राष्टूवासीहरूबीच मनैदेखि एकता होस् । सहिष्णुताको भावना जागृत होस् । कसैसंग वैरभाव नहोस् । सबैको लक्ष्य उच्च होस् । एक आपसमा कुरा गर्दा हितकारी शब्दहरूको प्रयोग हुन सकोस् । कसैको आत्मसम्मानमा चोट नपुर्याउँ यो हाम्रो जस्तो चाडले दिन खोजेको असल संस्कार हो ।
यो हाम्म्रो विडम्वना हो । हामी भन्नलाई “वशुधैव कुटुम्वकम” को नारा दिन्छौँ तर व्यवहारमा हामी यति एकाँकी छौँ कि प्रत्येक घर घरमै महाभारतको आगो दन्किरहेछ । असमझ्दारी सृजना भईरहेछ ।
मानिसको असल पहिचान भनेको नै सँस्कृति र सभ्यता रहेछ । विद्वानले भनेका छन्;
“अक्षीणा वित्तत्त क्षीणो
वृतस्त हता हत
अर्थात् व्यक्तिसंग धेरै धन नहुनु निर्धनता होईन बरू उसमा असल संस्कार र चरित्र नहुनु निर्धनता हो ।” । चाडपर्वमा व्यक्तिले सत्य कुरा सिक्न सकोस् । असल संस्कारलाई आफ्नो प्रवल सम्पति ठान्न सकोस् । मानिसले विद्या सिक्यो तर विद्याको अम्मल सिकेन भने उसको शिक्षा गधाको पिठ्यूँमा बोकेको महत्वपूर्ण किताबको भारी जस्ते हुन्छ । गदालाई के थाहा उसको पिठ्यूँमा गहन पुष्तकहरू छन् वा नूनको बोझ ? हामी त्यति त होईनौ नि । पढ्दैमा र शिक्षित हुँदैमा व्यक्ति महान कहलिदैन । उसलाई सबैले सम्मान गर्दछन् भन्ने पनि छैन । वास्तविक सम्मान त नैतिकवान, चरित्रवान र संस्कार युक्त मानिसको मात्र हुन्छ । त्यसैले पनि यस्तो चाड पर्वमा हामीले सँस्कारयुक्त व्यवहार थालनीको कदम किन नबढाउने ?
असल चरित्र र संस्कार भएका व्यक्तिहरू कसैलाई झूठा आश्वासन दिँदैनन् । व्यक्ति जसले यत्र,तत्र, सर्वत्र झूठा आश्वासन बाँड्दै हिँड्छ । उसलाई त ती आश्वासनका शब्दहरू सामान्य लाग्न सक्छन् तर झूठा आश्वासन पाउनेहरूका लागि भने यस्तो आश्वासन जीवन मरणको खेल हुन सक्छ । झूठा आश्वासन यस्तो विकृत मनस्थितिको उपज हो जसले आम मानिसलाई विना हतियार दिशाहीन बनाईदिन सक्छ ।
हिजोआज हाम्रो समाज यतिविघ्न असंयम्, अधैर्य र संस्कार विहिन बन्दै गईरहेको छ कि एकले अर्काको अस्तित्व स्वीकार गर्नमा नै कठिन बनिसकेको छ । यो महान पर्व विजया दशमीको पावन अवसरमा व्यक्तिमा हुने यस्ता नकरात्मक सोच र भावनाको अन्त्य हुन सकोस् । एक आपसमा सद्भाव र सौहार्द्रताको बाढी चल्न सकोस् । सर्वे भवन्तु सुखिन
सर्वे शन्तु निरामया
सर्वे भद्राणी पश्यन्तु
मा कश्चिद दुःख भाग्ववेत
भन्ने श्लोकको मर्म र भावना सवैले पालना गर्न सकुन । सबैले सबैको उन्नती र प्रगतिमा आँखा जल्ने दुःखद् परम्पराको अन्त्य होस् । दमक नगरपालिका कोशी प्रदेशको प्रतिनिधीमूलक नगरपालिका भएको हुँदा यो नगरको मान र प्रतिष्ठा बच्न र बचाउन सक्ने परम्पराको थालनी होस् । नवदुर्गा भवानीले यही प्रेरणा प्रदान गर्न सकुन् । यही शुभकामना ।

Author

You may also like