लेख विचार/वहस

मेरो जन्मभूमि दमक : विगत र वर्तमान

जिन्दगी एउटा सुख र दुःखको मिलनबिन्दु रहेछ । कहिले हाँसो, कहिले रोदन यसैमा यो मानवीय चोला चक्र जस्तै घुम्दो रहेछ । जिन्दगीका यादहरुलाई सम्झेर ल्याउँदा सुखानुभूति हुँदोरहेनछ । अतितका दुःखहरुलाई भुलेर सुखसंग संघर्ष गर्दामात्र जीवन आनन्दित बन्दोरहेछ । हुन त जीवन सुखमय बनाउन हिजो दुःखसंग संघर्ष गरेको मान्छेलेमात्र पछि सुख प्राप्त गरेका धेरै घटना हामीले आफ्नै गाउँ र सहर वरिपरि देखिआएकै छौँ, भोगेका छौँ । वास्तवमा त्यो नै सार्थक र जीवन्त रहेछ । आज यही सन्दर्भ विशेषलाई लिएर मेरो जन्म र शैक्षिक क्षेत्र दमक – ०२ खरखरे, झापामा रहेको शैक्षिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, विकास निर्माण लगायतका विविध सन्दर्भलाई उठान गरेर वस्तुनिष्ठ विचारलाई आजको विशेष सन्दर्भमा जोड्दैछु ।

विगत र वर्तमानको अवस्थामा दमक नगरपालिकाले विविध विषयमा कति छलाङ मार्यो भनेर यहाँ जोड्न चाहन्छु । यो कलमी यहीँ जन्मे, हुर्केको र उच्च शिक्षा हासिल गरेर हिजो कर्म गरेको आफ्नै माटोको कुरा शब्द – शब्दमा केलाउन, खोतल्न चाँहदैछु । यहाँको भूगोलमा नजन्मी, नहुर्की सबै हिजोको दमकको राजनीतिक, शैक्षिक, धार्मिक, सांस्कृतिक, सामाजिक अवस्थाहरु पर्गेल्न गाह्रो पर्छ । जान्नेहरुको भीडमा हिजो आफूले दमकलाई चिनाउने काममा सहयोग पुर्याएको कुरा आयातित नवआगन्तुक अक्षर लेख्नेहरुले यो कलमीलाई भुलेपनि वहाँहरुलाई नमन गर्न चाहन्छु । किनकि म यहीँको बासिन्दा हुँ, म जहाँ – जहाँ भएपनि मैले मेरै जन्मभूमिलाई बिर्सन सक्दिन । म जुन ठाउँमा जन्मे हुर्के, पढे अहिलेपनि मेरो स्मृतिपटमा ताजा छ ।

कखरा पढेको विद्यालय पृथ्वी मावि दमक –०७ र हिमावि दमक – ०२ लाई म कहिले बिर्सन सक्दिन । मलाई विद्याको ज्योति प्रदानगर्नुहुने मेरा आदरणीय अग्रज गुरुजनहरुप्रति हार्दिक – हार्दिक नमन व्यक्त गर्दछु । वहाँहरुको लगनशीलताले मैले उच्च शिक्षा हासिल गर्न पाएँ । त्यही कारणले मैले पनि धेरैलाई शिक्षाको ज्योति बाढँ्दैछु, म यसैमा खुसी छु । जुन शिक्षा मैले मेरो प्यारो दमकबाटै प्राप्त गर्न पाए । मलाई त्यही दमकको कृष्ण मन्दिरको समिपमा रहेको पृथ्वी माविमा क ख ग सिक्दै भाँडाकुटी र चकलेटका खोल मेरै झोलामा बोकेर मेरो जन्मस्थान खरखरे ओहोरदोहोर गरेको हिजो जस्तो लाग्छ । आज थाहै नपाइ समय बितेछ , जेठा बाउको गोदाम, भूपू प्रधानपञ्च धनबहादुर श्रेष्ठ र वहाँका सहोदर भाइ इन्द्रबहादुर श्रेष्ठको आँपको बगैंचा र अनारस बारीहुँदै हिमालय मावि पुगेको । अनि त्यहाँको बाटुले चौरमा झुम्राको गोल बनाएर साथीहरूसंग फुटबल खेल खेल्दै त्यही सबैभन्दा ठूलो सिमलको बोट छेउमा रमाइलो गरेको क्षण अहिलेपनि मस्तिष्कमा उथलपुथल गरिरहन्छ ।

उतिबेला अहिलेको जस्तो घना बस्ती थिएन दमक । मेटाका घारी, रुख बुट्यान घना थियोे । हामी अन्धाबाम, गङ्गटा बटुलेर घरमा ल्याउथ्यो अनि सब्जी बनाएर खान्थ्यौ । उतिबेला जताततै भासे दबदबे जमिन थियो । अनि साथीहरू एकत्रित भएर लाजेको बानमा ठूलो माछो बल्छीमा पार्न बल्छीमै हिले माछो उनिन्थयो । अनि त्यही ठाउँमा पौडी खेल्न पनि जान्थ्यौ । हिजोआज त्यो स्थान वरिपरि सबै जग्गाको कारोबार गर्नेहरुले बालुवा र गिटी थुपारेर उर्वर जमिन लोप भएर बलौटे जमिनमा परिणत भएछ । जब २०४५ सालमा विनासकारी भूकम्प आयो, तब दबदबे हिलो जमिन पुरिँदै गएर सुक्खा जमिनमा परिणत हुन थालेको मलाई स्मरण छ । अहिले बाटोघाटो, खोला खोल्साका छेउछाउ सबै कालोपत्रे भएछन् । अनि घाँस दाउरा गरेको ठाउँ अहिलेको आकर्षक पर्यटकीय स्थल चपेटी वरिपरि सबै मनोरमस्थल हुँदै गएर होटल व्यवस्थित हुन थालेछन् । हुन पनि हो प्रविधिको विकासले गर्दा दमक क्षेत्रमा यति छिटो तीव्र विकास भएको छ, त्यो अन्यत्रभन्दा अझ रफ्तार लिएको जस्तो लाग्छ । सायद यही क्षेत्रबाट निर्वाचित हुनुभएका भूपू प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र भएर होला नेपालका धेरै जिल्लाहरुमध्ये दमकसंग सिमाना जोडिएका धेरैजसो जिल्लाहरुमा तीव्र विकास हुन पाएको छ ।

हरेक क्षेत्रमा सोचेभन्दा बढी नै भौतिक विकास त भएको छ । तर राजनीति सही दिशामा नहिडेको र हिडेपनि सबै दलहरुको कार्यगत एकता हुन नसकेको कारण लोकतान्त्रिक गणतन्त्र आएपनि नीतिगत रुपमा मिलाएर खाने, ठगी खाने, सेटिङमा भित्रभित्रै हिसाब मिलान गर्नेहरुको हुल बढ्यो । यहाँ सोझासिधाहरुको बाहुल्यता रहेको भएपनि हुल्लडवाजहरुको बिगबिगीले हस्तक्षेप गरिरहेको छ । आखिर यो किन भयो ? कसले यस्तो बेथिति बढायो ? किन अहिले नि यो क्रम बढ्दो छ ? यो बेथिति र बदनाम गर्ने भनेकै सिन्डिकेट चलाउने राजनीतिक दलहरुका नेतृत्व गर्न असक्षमहरुबाट हो । आज यो झाङ्गिएर तलदेखि माथिसम्म खानेहरुको भीड छ । विकास त तीव्र गतिमा भएकै हो तर चौगुना लापरबाही बढेको छ विकास निर्माणमा । विकास निर्माणका नाममा दलीय सिन्डिकेटका कारण बाटो, पुल, पिच, अव्यवस्थित तार जडान र वाइफाइका तारहरु लथालिङ्ग छन् । सडक निर्माण अव्यवस्थित भएका कारण वर्षेनी पानीको बहाव बढेर मानिसहरु ओहोरदोहोरकालागि कठिनाइ हुन पुगेको छ । पानी निकासकालागि कँहिकतै निकास नभएको हुनाले पिचभरी पानी बगेको छ । यतिहुँदासम्म सरोकारवाला पक्ष देखे नि नदेखेझै गर्छन्, वास्तै छैन कोहीकसैलाई ।

विगतको दमक र अहिलेको दमक सयौं गुणा विकास भएको छ । तर सडक अहिलेपनि व्यवस्थित छैन । कारण हो राजनीति । यहाँ काम भन्दा नि राजनीति भागबन्डा, खिचातानीले गर्दा विकास अहिले बाधक बन्न पुगेको छ । हरेक क्षेत्रमा प्यानलको राजनीति बढ्दो छ । जे मा पनि भागबन्डा चलेको छ । खानेपानी, विद्यालय, सहकारी संस्था, उधोग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी जे मा पनि राजनीतिक भागवण्डा चलेको छ । यसरी चलेको हुनाले विकास निर्माणमा अवरोध विद्यमान छ । यहाँ हेर्न लायकका भ्यू टावर, दुईवटा ठूलाठूला डिपार्टमेन्ट स्टोर, डिम्याक्स हल, सिने घर, हलहरु छन् । राम्राराम्रा नाम चलेका अस्पतालहरु छन् । यतिहँुदासम्म जुन गतिमा विकास हुनुपर्ने हो सबै नारामा मात्र सीमित भए पनि ‘दमकमा चमक छ’ तर हाम्रो दमक नेपाली राजनीतिले चौतर्फी विकास पूर्ण हुन सकेन । राजनीतिमा खुट्टा तान्ने परिपाटीको विकास अहिले पनि ज्यूँका त्यूँ छ । एकले अर्कोलाई गालीगलौज गर्ने, सार्वजनिक कार्यक्रममा उछितो काढ्ने प्रवृत्ति सबै दलहरुमा छ । सहमति र सहकार्यमा एक ढिक्का भएर सबै दलहरु हातमा हात समाएर अघि बढ्ने हो भने दमकलाई नेपालकै उत्कृष्ठ ठाउँ नै बनाउन सकिन्छ ।

हिजोदेखि आजसम्म विजय भएर आएका जनप्रतिनिधिहरु एउटा न एउटा उदाहरणीय काम बोकेर आउनुपर्ने हो, तर त्यस्तो हुन सकेन । हाम्रो सहर दमकमा बालेन जस्ता व्यक्तिको आवश्यक छ र आवश्यकता पनि हो । एजेन्डाले देश चल्दैन बेतुकका नारामा उन्मुख नेताको काम छैन अब । काम गरेर देखाउने नेता चाहियो, उखाने, भजने नेता होइन सक्षम र शैक्षिक योग्यतामा निपूर्ण व्यक्तित्व अब चाहिन्छ । उर्जावान, साँचो समाजसेवी, दमकेली युवा नेतृत्व आगामी दिनमा दमकले पाउन सकोस् । त्यो बेला त मेरो मन ज्यादै फुरुङ्ग बनेर खुसीले उत्सव मनाउनेछ । आहा ! मेरो जन्मभूमि दमक विगत र वर्तमान कति प्यारो लाग्छ मलाई ।

Author

You may also like