दमक/ मावा खोलामा जग्गा सम्बन्धि विवादका क्रममा दमक ९ का देशु भनिने यामु निरौलाको हत्या अभियोगमा २ जना पक्राउ परेका छन् । प्रहरीको सक्रियता र अनुसन्धानबाट आशंकामा उर्लाबारी ७ का ४९ वर्षीया ध्रुव गौतम र उर्लाबारी ६ का ४२ वर्षीय प्रकाश कार्कीलाई बुधबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
क्रसर सञ्चालन रहेको मावा खोलाको बगरको ऐलानी जग्गाको विषयमा विवाद भएको हुनसक्ने आशंका गरिएको छ । सो क्रसर दमकका राजनीतिक जोडिएका केहि उपल्ला स्तरका युवाहरुले सञ्चालन गर्देआएको बुझिएको छ । निरौलालाई तत्काल नाम, थर, वतन नखुलेका २–३ जना व्यक्तिले लाती तथा मुड्की प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको र सोही आधारमा अनुसन्धानकै क्रममा निजहरु २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
मंगलबार दिउँसो हत्या गरिएका दमक ९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई चाँडो पक्राउ गरी कडा कारबाहीको माग गर्दै बुधबार ६ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ ।
दमक ३ स्थित बेलडाँगी–मधुमल्ला सडकखण्ड अन्तर्गत मावा खोला किनारको जग्गामा विवाद भएको अवस्थामा विवाद मिलाई दिनका लागि मोरङको उर्लाबारी ७ का ४९ वर्षीय ध्रुव गौतमले निरौलालाई बोलाएको अवस्थामा त्यहाँ आक्रमण भएको जाहेरीमा उल्लेख गरिएको छ ।
स्थानीयवासीको ठूलो संख्याको उपस्थितीमा मृतक निरौलाकी श्रीमति कृष्णमाया निरौलाले हत्यामा संलग्न भएको किटान सहित इलाका प्रहरी कार्यालय दमकमा ६ जना विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता दर्ता गरेकी छन् ।
मंगलबार दिउँसो अन्दाजी ४ बजे मावा खोलाको पुलमा ३८ वर्षीय निरौलाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । निरौलालाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
सो घटनापछि मृतकका आफन्त, जनप्रतिनिधिसहित स्थानीयले बुधबार इलाका प्रहरी कार्यालयमा उपस्थित भई दोषीहरुलाई यथासिघ्र पक्राउ गरी कडा कारबाही गर्नुपर्ने माग गर्दै नगरको शान्ति सुरक्षा चुस्त बन्नु पर्ने कुरा समेत राखेको बताए ।
यसैगरी, नेकपा माओवादी केन्द्र दमक नगर समितिले जग्गा सम्बन्धी विषयलाई लिएर ढुंगा प्रहार गरिदाँ दमकमा एक जनाको ज्यान गएको भनिएको घटनालाई गम्भिरताका साथ लिएको जनाउँदै विज्ञाप्ति निकालेको छ ।
नगर अध्यक्ष कुलबहादुर बस्नेत (रवि) र नगर इन्चार्ज बेदु गौतमद्वारा बुधबार जारी विज्ञप्तिमा पछिल्लो समय दमक नगरभित्र अपराधिक घटना बढ्दै गएकाले यस्ता घटनाप्रति गंभीर हुन स्थानीय सरकार र प्रशासनलाई ध्यानाकर्षण गराईएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, –‘घटनाको सत्य तथ्य छानविन गरी घटनाका दोषीलाई कानुनी कठघरामा ल्याउन प्रशासन समक्ष माग गर्दछौं ।’