देश–समाज सम्पादकीय

स्वास्थ्यप्रति संवेदनशिल बनौं

स्वास्थ्य क्षेत्र मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने, स्वस्थ जिवनको लागि आधारशिला निर्माण गर्ने, सम्भावित रोगहरुको रोकथाम तथा नियन्त्रण गर्ने, बिरामीहरुको उपचार गर्ने जस्ता विविध विषय जोडिएको अत्यन्त महत्वपूर्ण क्षेत्र हो ।
यस्तो संवेदनशिल क्षेत्रमा आन्दोलन चल्दा आम नागरिकलाई प्रत्यक्ष असर परिरहेको थियो । तर पछिल्लो समय सरकार र चिकित्सक संघबीच सहमति भएपछि आन्दोलनरत चिकित्सकहरुले आफूहरुले गर्दै आएको आन्दोलन स्थगित गरेका छन् । यो सँगै स्वास्थ्य क्षेत्रमा देखिएको तत्कालिन समस्या किनारा लागेको छ । यो सकारात्मक पक्ष हो ।
स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति जुटेपछि तत्कालिन समस्याले समाधानको रुप लिएको हो । सहमति अनुसार, संघले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको छ ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्यास सम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले सोमबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको थियो ।
उत्पादन, प्रविधि, गुणस्तर लगायतका हरेक सवालहरुको केन्द्रबिन्दुमा मानव स्वास्थ्य रहेको हुन्छ त्यसैले मानव स्वास्थ्यमा हुने कुनै पनि त्रुटि क्षम्य हुँदैन त्यसैले स्वास्थ्य क्षेत्रलाई अत्यन्त संवेदनशील मानिन्छ । यहि संवेदनशीलता र नागरिक अपेक्षालाई समेत मध्य नजर गर्दै राज्यले स्वास्थ्य क्षेत्रलाई संविधानमा समेत उल्लेख गरेको छ ।
कार्यान्वयन गर्ने ईकाईहरु योजना तथा कार्यक्रम निर्माण गर्ने भूमिकामा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग,आयुर्वेद विभाग, प्रदेश अन्तर्गतका स्वास्थ्य हेर्ने मन्त्रालय, निर्देशनालय, केन्द्र, स्वास्थ्य कार्यालय, स्थानीय सरकार अन्तर्गतका निकायहरु छन् । यसका साथै उपचारात्मक तर्फ जनस्वास्थ्य सेवा नियमावलीका अनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र, आधारभूत अस्पताल, जनरल अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टिकृत अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठानत्यस्तै गरी आयुर्वेद तर्फ आधारभूत आयुर्वेद सेवा केन्द्र, जनरल आयुर्वेद अस्पताल, विशेषज्ञ आयुर्वेद अस्पताल र होमियोप्याथी अस्पताल रहेका छन् ।
प्रचलनमा रहेको आधारमा हेर्ने हो भने सामुदायिक स्वास्थ्य ईकाई, शहरी स्वास्थ्य प्रवर्धन केन्द्र, स्वास्थ्य चौकी, स्वास्थ्य सेवा केन्द्र, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल, केन्द्रीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।
स्वस्थ वातावरण, स्वस्थ समाज, निरोगी नागरिक, स्वास्थ्य संस्थाहरुमा सहज, सुलभ, समान पहुँच सहितको छिटोछरितो र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न चाहनु नै नागरिक अपेक्षा हो ।
स्वास्थ्य क्षेत्रमा भएका र गरेका प्रतिद्धता तथा सम्झौताको कार्यान्वयन गरि नागरिक अपेक्षा अनुसार सेवा दिनु राज्यको दायित्व पनि हो । यो वा त्यो नाममा हुने गरेका आन्दोलनले नागरिकलाई प्रत्यक्ष असर पर्ने हुनाले स्वास्थ्यकर्मीहरुबाट पनि नागरिक स्वास्थ्यको संबेदनालाई सबैले ख्याल गर्दै संवेदनशिल स्वास्थ्य क्षेत्रबाट हुने यस्ता विरोधका कार्यक्रम सँधैका लागि अन्त्य हुनु उत्तिकै जरुरी छ ।

Author

You may also like