दमक÷ नयाँ र चिल्ला सडक जति बन्छन त्यति नै दुर्घटना बढी हुने मदन भण्डारी राजमार्ग उदयपुर खण्डमा देखिएको दुर्घटनाको तथ्याङ्कले देखाउँछ । सञ्चारमा आएको छोटो अवधिमै उक्त सडकखण्डमा दुर्घटनाको दर उच्च देखिएको छ ।
मदनभण्डारी राजमार्ग उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्म जम्मा १३४ किलोमिटर पर्छ । उदयपुरमा पर्ने ९१ किलोमिटर क्षेत्रमा गएको एक वर्षको दुर्घटनाको तथ्याङ्क हेर्दा ३२ जनाले ज्यान गुमाएका छन् भने ५१७ जना घाइते भएका छन् । २६० दुर्घटनामा ३४९ वटा सवारीसाधन क्षति भएका छन् । दुर्घटना नभएको दिन हुँदैन ।
यस राजमार्गअन्तर्गत नेपालटार–गाईघाट सडक खण्डको उदयपुरगढी गाउँपालिका–७ अधोरीदेखि जोगीटोलसम्म तीन किलोमिटर बाक्लो जङ्गल, ओरालो र चिल्लो छ । सबैभन्दा बढि दुर्घटना यही क्षेत्रमा हुने गरेको छ ।
त्यस ठाउँमा स्थानीय प्रशासन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र सडक कार्यालयले दुर्घटना न्यूनीकरण र सतर्कताका विभिन्न उपाय नअपनाएका होइनन् । दुर्घटनाग्रस्त क्षेत्रको संकेत, बोर्ड र सडकमागि रबरस्ट्रिप राखिएका छन् । तर, दुर्घटनामा कमी आएको छैन् ।
राजमार्ग निर्माण सम्पन्न भइनसक्दै दुर्घटनाको अवस्था उच्च देखिनुमा सरकारको इन्जिनियरिङ त्रुटीका साथै सवारीसाधनको तिव्रगतिलाई मुख्य कारण मानिएको छ । राजमार्गमा अत्याधिक मोड छन् ।
घुम्ती सडकमा चालकले तिव्र गतिमा सवारी चलाउने गरेका छन् । ४० किलोमिटर प्रतिघण्टा भन्दाबढी गतिमा नकुदाउन सचेत गराइएको आधेरी क्षेत्रमा समेत ८० किलोमिटर भन्दाबढीको गतिमा कुदाउने गरेको पाइएको छ ।
सरकारले सडक सुधारमा ध्यान दिनुपर्ने एउटा पाटो छँदैछ भने चालक र यात्रुले ट्राफिक नियम पालना र सतर्कता अपनाउँदै तोकिएको गतिभन्दा बढी नकुदाउने हो भने दुर्घटनाको संख्या घट्ने सडक विज्ञहरू बताउँछन् ।