केर्खा । झापाको कमल गाउँपालिका ४ केर्खामा तिब्र गतिमा रहेको यात्रुबहाक बसको ठक्करबाट बिद्युतीय साइकलमा रहेका हजुरबुबा र नातिनीको ज्यान गएको छ ।
बुधबार साँझ करिब साढे ५ बजे तिर केर्खा चोकस्थित राजमार्गमा काँकडभिट्टाबाट काठमाडौतर्फ जादै गरेको प्र.१–०१–००१ ख ४३३१ नम्बरको यात्रुबाहक बसले ईलेक्ट्रोनिक साईकललाई ठक्कर दिँदा कमल गाउँपालिका –३ सानो केर्खाका ६० बर्षिय टेक बहादुर लिम्बु र मनोज लिम्बूकी १२ बर्षिया छोरी कृपा लिम्बुको समेत घटनास्थलमै मृत्यु भएको हो ।
ती बालिकाको बुधबार जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबा बर्थडे केक लिन गएका थिए । बर्थडे केक र मासु लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्कदै गर्दा रात्रिबसले ठक्कर दिएको हो । बर्थडे केक र मासु सडकभरि छरपष्ट रहेको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ ।
सो घटनापछि आक्रोशित स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारे । ठक्कर दिने बसलाई तोड्फोड् गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको बताइएको छ । आक्रोशितहरुले प्रहरी चौकी केर्खामा ढुंगामुढा गरेका थिए ।
आक्रोशित समूहले त्यहाँस्थित ट्राफिक प्रहरी बिटमा आगजनी गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन त्यहाँ प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । यात्रुबहाक बस र बस चालक झापा, शिवसताक्षी नगरपालिका वडा नम्बर–१ का ३२ बषर््ीाय बिशाल ठटाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट डीएसपी कृष्णकुमार चन्दको कमाण्डमा ७० जना र सशस्त्र प्रहरी बल पाडाजुँगीबाट निरन खड्काको कमाण्डमा ७० जना सहित ठुलो संख्यामा सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको छ ।