आज देश चुनावी रौनकमा डुबेको छ । हिजो जहाँ जनताहरू गाउँ–टोलमा भेटघाट गर्दै विचार आदान–प्रदान गर्थे, आज त्यहाँ सन्नाटा छ । अधिकांश नागरिक अब कोठाभित्र बसेर सामाजिक सञ्जालमा ‘फलानोलाई भोट दिऔँ’, ‘फलानोलाई नदिऔँ’ भन्दै बहस गरिरहेका छन् । फेसबुक, युट्युब र टिकटकमार्फत जनमत प्रकट गर्ने चलन बढ्दै गएको छ । यो प्रविधिको उपयोग हो, लोकतन्त्रको आत्मा नै हो — बोल्न, लेख्न र विचार राख्न पाउने स्वतन्त्रता । तर विडम्बना के छ भने यही स्वतन्त्रता अहिले धम्की, डर र दुरुपयोगको बन्धक बन्दै गएको छ ।
हिजो गल्ती गर्ने, जनतालाई धोका दिने, भ्रस्टाचारमा लिप्त हुने राजनीतिक दल र नेताहरूले आज पनि आत्मालोचना गर्न तयार छैनन् । बरु उनीहरू आफ्ना गलत कदमलाई ढाकछोप गर्नमै व्यस्त छन् । आलोचनालाई सहने संस्कार हराउँदै गएको छ । हामी पनि कुनै न कुनै दलको झण्डामुनि सीमित भएर विवेक गुमाइरहेका छौँ । यही कारणले समाजमा वैचारिक भन्दा पनि दलगत विभाजन फैलिएको छ ।
अब प्रश्न उठ्छ — यो राजनीतिले लाभ कसलाई दिइरहेको छ ? देशको मुनाफा जनताले होइन, केही सत्ताको लोभी नेताहरूले उठाइरहेका छन् । ती नेताहरू जसले जनताको नाममा सत्ता बाँडफाँड गर्छन्, र विदेशी स्वार्थका अगाडि टाउको निहुराउँछन् ।
३४ वर्षअघि जन्मेका ती युवायुवतीहरू अहिले परिपक्व नागरिक बनेका छन् । उनीहरूले इतिहास, राजनीति र सामाजिक अवस्थाको गहिरो अध्ययन गरेका छन् । अहिलेका युवाहरू झुटा नारामाथि होइन, कर्ममा विश्वास गर्छन् । तर दुर्भाग्यवश, हाम्रा नेताहरू अझै पुरानै नारामा अड्किएका छन् — कसैले बिस्तारवाद भन्छन्, कसैले साम्राज्यवाद । उनीहरू हिजोका असफल वाद र बेमेलको राजनीतिमा कैद छन् । परिणामस्वरूप, देश राजनीतिक अस्थिरता र जनविश्वासको संकटमा फसेको छ ।
आजका ठूला दलहरू विभाजित छन् । एउटै पार्टीमा रहेका नेताहरू एकअर्कामाथि धोकेबाज र भ्रष्टाचारीका आरोप लगाइरहेका छन् । यस्ता व्यवहारले लोकतान्त्रिक संस्कार कमजोर बनाउँछ । विभाजनले दल मात्र होइन, जनता पनि छिन्नभिन्न भएका छन् ।
अब समय आएको छ — हामीले दलभन्दा माथि उठेर सोच्नुपर्ने । हाम्रो मत किन र कसका लागि प्रयोग गर्ने भन्ने निर्णय विवेकले गर्नुपर्ने । मत बेच्ने होइन, देशको भविष्य निर्माण गर्ने जिम्मेवारी हो भन्ने बुझ्नुपर्छ ।
सामाजिक सञ्जालमा एकअर्कामाथि घृणा फैलाउने, गलत टिप्पणी गर्ने र युवाहरूलाई भड्काउने प्रवृत्ति बढ्दैछ । यस्तो प्रवृत्तिलाई बढावा दिनेहरू प्रायः ठूला नेताहरूका छोटा अनुयायीहरू हुन् । उनीहरूका कारण समाजमा सद्भाव बिग्रँदैछ । यसलाई रोक्न हामी, तपाईं सबै सचेत नागरिक एकजुट हुनुपर्छ ।
चुनाव नजिकिँदै गर्दा केही ठाउँमा हिँसाको संकेत देखिन थालेको छ । लाठी, मुङ्ग्रा, खुकुरी बोकेर सडकमा उत्रिनेहरूलाई रोक्ने जिम्मा अब जनताकै काँधमा छ । कलमजीवी, बुद्धिजीवी, पेशाकर्मी र सचेत मतदाताहरूले लोकतान्त्रिक गणतन्त्र जोगाउन आफ्नो भूमिका निर्वाह गर्नैपर्छ ।