मुख्य राजनीति

कोशीमा कांग्रेसले सरकार बनाउने निणर्य

विराटनगर, २४ असोज –
नेपाली कांग्रेसले पूर्व सहमति बमोजिम कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निणर्य गरेको छ ।
मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठवन्धनबीचको पूर्व सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निणर्य गरेको सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जनाए । उनले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने भन्ने सभापति देउवा सहित शिर्ष नेताहरुको निणर्य भएको बताए । देउवाले कांग्रेसकै नेतृत्वको सरकारको अडान लिएका थिए ।
कांग्रेसले शुक्रबारसम्म सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने पहिलो प्राथमिकता निर्धारण गरेको छ । त्यस्तो अवस्था नभए गठबन्धनका दलहरूको धारणाबमोजिम समेत भएपनि गठबन्धनकै नेतृत्वमा सरकार गठनको बातावरण बनाउन पहल गर्ने रणनीति समेत अघि सार्ने बुझिएको छ ।
कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा यसअघि दुई पटक मुख्यमन्त्री नियुक्त भएपनि विश्वासको मत पाउन नसक्नु त्यो बेलाको परिस्थिती बाधक रहेको जनाउँदै विश्वकर्माले अव फेरिपनि थापालाई नै अघि सार्ने अवस्थाका बारेमा पनि संकेत दिए
प्रदेशसभाको पहिलो दलको हिसावले मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समयसीमा दिएका छन् । उपधारा (५) अनुसार सरकार गठनको अन्तिम विकल्पका रुपमा सरकारको नेतृत्व गर्न दलको नेता नै हुनुपर्ने बाध्यात्मक अवस्था नभएको र ४७ जना सांसदको हस्ताक्षर गराएर दाबी पेस गर्ने कुनै पनि सांसद मुख्यमन्त्री नियुक्त हुने संवैधानिक व्यवस्था छ । गठबन्धन दलले ४७ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न सफल भए पनि विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था देखिन्न । उपधारा (५) बमोजिम नियुक्त हुने मुख्यमन्त्रीलाई उपधारा (४) अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । राप्रपाले समर्थन नदिए प्रदेश संविधानको धारा १६८ को उपधारा (७) अनुसार मध्यावधि चुनावमा जानुको विकल्प रहँदैन । गठबन्धन दलले हालसम्म राप्रपासँग औपचारिक वार्ता तथा छलफल नगरेको राप्रपाका प्रमुख सचेतक अमरबहादुर विष्टले बताए ।
९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ सांसद छन् । एमालेका सभामुखको जिम्मेवारीमा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४० र राप्रपाका ६ सांसद छन् । तर विश्वासको मत प्राप्त गर्ने बेला फेरि संकट पर्ने भएपछि गठबन्धनले यसपटक राप्रपाको साथ खोज्ने अवस्था रहने वताइएको छ । राप्रपाले गठबन्धनलाई साथ दिए प्रदेशमा गठबन्धनलाई सरकार गठनको सहज बातावरण बन्नेछ । प्रदेशसभामा उपसभामुख सहित एमालेका ४० सांसद छन् ।
-मुख्यमन्त्रीमा कांग्रेसकै ६ आकांक्षी-
प्रदेश मुख्यमन्त्रीका लागि आकांक्षीहरुको लाइन बढेको छ । हालसम्म कांग्रेसबाट ६ र माओवादी केन्द्रबाट ३ गरी ९ जना मुख्यमन्त्रीका आकांक्षी देखिएका छन् । कांग्रेसबाट संसदस्य दलका नेता उद्धव थापा, प्रमुख सचेतक भूपेन्द्र राई, सांसदहरू केदार कार्की, हिमाल कार्की, अमृत अर्याल र भीम पराजुली मुख्यमन्त्रीका लागि आकांक्षी देखिएका छन् । कार्की र राई सभापति शेरबहादुर देउवानिकट हुन् । थापा र पराजुली कृष्णप्रसाद सिटौला र केदार नेता शेखर कोइरालानिकट मानिन्छन् ।
कोइराला समूहकाले केदार कार्कीको नेतृत्वमा बन्नुपर्ने भन्दै खुलेरै छलफल गर्न थालेका छन् । देउवानिकट हिमाल कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि पार्टी उपसभापति तथा उपप्रधानमन्त्री पूणर्बहादुर खड्का, केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र कार्की र नारायण खड्कालगायतले पहल गरिरहेको बुझिएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अर्यालको पक्षमा पहल थालेका छन् । थापा, राई र पराजुलीलाई पनि मुख्यमन्त्री नियुक्तिका लागि नेताहरू सक्रिय छन् तर सिटौलाले अहिलेसम्म केहि बोलेका छैनन् ।
कोइराला समूहका नेताहरू यसअघि दुई/दुई पटक बलजफ्ती आफ्ना विश्वास पात्र उद्धव थापालाई संवैधानिक व्यवस्थाविपरीत मुख्यमन्त्री नियुक्त गराएर पनि विश्वासको मत पाउन नसकेकाले अहिले माओवादीले मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । यसले सिटौला दबाबमा परेका छन् । उद्धवको विकल्प खोज्ने कुरामा बढीजसोको मत आउन थालेको बुझिएको छ ।
गठवन्धनमा एउटा घटकका रुपमा रहेको माओवादीबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, निवर्तमान उपसभामुख बाबुराम गौतम र सांसद दुर्गाप्रसाद चापागाईं मुख्यमन्त्रीका आकांक्षी देखिएका छन् । गौतम प्रधानमन्त्री दाहालनिकट, आङ्बो जनार्दन शर्मानिकटक र चापागाईं वर्षमान पुननिकट हुन् ।

Author

You may also like