काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्तावको पक्षमा ६३ मत पर्यो भने विपक्षमा १ सय ९४ मत पर्यो ।
प्रतिनिधिसभामा मत विभाजनको नतिजा घोषणा गर्नुहुँदै सभामुख देवराज घिमिरेले आजको बैठकमा २ सय ५८ जना सांसदको उपस्थिति रहेको र १ मत तटस्थ अर्थात् कतै पनि मत दिन्न भन्नेमा परेको बताउनुभयो ।
यसअघि, प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनमा कुनै सम्झौता नगर्ने आफ्नो अठोटका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताउनुभयो ।