देश–समाज मुख्य राजनीति राष्ट्रिय विचार/वहस स्थानीय

नेकपा–एमाले सहकार्य : भाषणमा एकता व्यवहारमा टकराव

नेपालका वामपन्थी राजनीतिक दलहरूबीच सहकार्य, एकता र ध्रुवीकरणको बहस नयाँ होइन । विशेषगरी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा हरेक वर्षजस्तै यसपटक पनि प्रमुख वाम नेताहरूले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता दोहो¥याए । तर, सार्वजनिक मञ्चमा व्यक्त गरिएका ती प्रतिबद्धता र व्यवहारमा देखिएको कटुता हेर्दा सहकार्यको गृहकार्यमा संलग्न नेताहरू नै त्यसप्रति विश्वस्त देखिँदैनन् ।
पछिल्लो समय एमाले र नेकपाबीच प्रदेश सरकारबाट सहकार्यको सम्भावनाबारे चर्चा भइरहेका बेला नेकपाका केन्द्रीय सदस्य रञ्जित तामाङले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहुञ्जेल सहकार्य असम्भव रहेको अभिव्यक्ति दिएका छन् । उनको प्रतिक्रिया कुनै व्यक्तिगत असन्तुष्टि मात्र होइन, वाम राजनीति भित्र गहिरिँदै गएको अविश्वासको संकेत पनि हो । सहकार्यको कुरा एकातिर भइरहेका बेला अर्कोतर्फ शीर्ष नेताहरूबाट आउने आरोप–प्रत्यारोपले त्यसको आधार नै कमजोर बनाइरहेको देखिन्छ ।
पुष्पलाल स्मृति दिवसकै कार्यक्रममा एमाले अध्यक्ष ओलीले तत्कालीन माओवादी जनयुद्धलाई सत्ता कब्जाका लागि हिंसात्मक, आतंकपूर्ण र आपराधिक गतिविधिका रूपमा आएको व्याख्या गरे ।
माओवादी पृष्ठभूमिका नेताहरूले यसलाई विगतप्रतिको राजनीतिक पूर्वाग्रहका रूपमा लिए । दशक लामो सशस्त्र द्वन्द्वको मूल्यांकनमा मतभेद हुनु स्वाभाविक हो, तर सहकार्यको वातावरण बनाउन खोजिरहेका बेला यस्ता अभिव्यक्तिले विश्वास निर्माणभन्दा अविश्वास बढाउने काम गरेको देखिन्छ ।
अर्कोतर्फ, प्रचण्ड, माधवकुमार नेपाल र एमालेका सचिव छविलाल विश्वकर्मा सबैले पुष्पलाललाई कम्युनिस्ट एकता, वैचारिक स्पष्टता र जनपक्षीय राजनीतिका प्रतीकका रूपमा प्रस्तुत गरे। तीनै नेताको भनाइमा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन संवाद, सहकार्य र वैचारिक एकताको आवश्यकता रहेको स्वीकारोक्ति थियो । तर, यिनै दलका नेताहरूबीच सार्वजनिक रूपमा भइरहेका आरोप–प्रत्यारोपले उनीहरूको भनाइ र व्यवहारबीच ठूलो दूरी रहेको स्पष्ट पार्छ ।
भाषण…….
नेपाली कम्युनिस्ट आन्दोलनको विडम्बना पनि यही हो । विचार र सिद्धान्तमा समानता स्वीकार्ने, तर नेतृत्व र शक्ति बाँडफाँटमा सहमति गर्न नसक्ने दोस्रो तहका नेता तथा कार्यकर्ताहरुले बताइरहेका छन् । पछिल्ला दुई दशकमा कम्युनिस्ट दलहरू पटक–पटक एक भए, फेरि विभाजित भए । विभाजनको कारण प्रायः वैचारिकभन्दा पनि नेतृत्व, शक्ति सन्तुलन र राजनीतिक स्वार्थ नै बने । त्यसैले अहिलेको सहकार्यको प्रयासलाई पनि धेरैले स्थायी राजनीतिक समझदारीभन्दा तत्कालीन सत्ता समीकरणको आवश्यकताका रूपमा हेर्ने गरेका छन् ।
रञ्जित तामाङको अभिव्यक्तिले अर्को यथार्थ पनि उजागर गर्छ । सहकार्य शीर्ष तहमा भए पनि तल्लो तहका नेताहरूमा विश्वासको वातावरण निर्माण हुन सकेको छैन । यदि एउटै प्रक्रियामा सहभागी दलका प्रभावशाली नेताले नै सार्वजनिक रूपमा सहकार्य असम्भव भएको घोषणा गर्छन् भने त्यसले राजनीतिक सन्देश राम्रो दिँदैन । सहकार्य केवल हस्ताक्षर वा सत्ता साझेदारीबाट सफल हुँदैन, त्यसका लागि पारस्परिक सम्मान, विगतप्रति परिपक्व दृष्टिकोण र भविष्यप्रतिको साझा प्रतिबद्धता आवश्यक हुन्छ ।
आज नेपाली वाम आन्दोलनको सबैभन्दा ठूलो चुनौती वैचारिक होइन, विश्वासको संकट हो । पुष्पलालको नाममा एकताको भाषण गर्न सजिलो छ, तर त्यसलाई व्यवहारमा रूपान्तरण गर्न नेतृत्वले आफ्नो शैली, भाषा र राजनीतिक संस्कृतिमा परिवर्तन ल्याउनैपर्छ । अन्यथा सहकार्यका बैठकहरू चलिरहनेछन्, संयुक्त विज्ञप्तिहरू निस्किरहनेछन्, तर नेताहरूको अभिव्यक्तिले नै ती प्रयासको विश्वसनीयता समाप्त गरिरहनेछ ।
यसैले एमाले–नेकपा सहकार्यको गृहकार्यले अपेक्षित परिणाम दिन्छ कि दिँदैन भन्ने प्रश्नभन्दा पनि त्यसका पक्षधर नेताहरू स्वयं कति इमानदार र विश्वस्त छन् भन्ने प्रश्न अहिले बढी महत्वपूर्ण बनेको छ। सहकार्यको सफलताको पहिलो सर्त राजनीतिक सहमति होइन, पारस्परिक विश्वास हो । अहिलेको अवस्था हेर्दा भने त्यो विश्वास अझै निर्माण हुन सकेको देखिँदैन ।

Author

You may also like