मुख्य

जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु  

दमक, १४ पुस। झापामा जङ्गली हात्तीको आक्रमणबाट फेरि एकजनाको मृत्यु  भएको छ । योसँगै डेढ महिनाको अवधिमा हात्तीले चार जनाको ज्यान लिइसकेको छ । 

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ स्थित सृष्टिटोल निवासी ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

आज शुक्रबार बिहान १ः४५ बजेतिर जङ्गली हात्तीको आक्रमणबाट राईको घटनास्थलमै मृत्यु भएको डीएसपी रिजालले बताए । जङ्गलबाट आएको एउटा हात्तीले राईको टाटीको बेरा र जस्ताको छानो भएको घर भत्काई घरभित्र रहेका सामानहरू तोडफोड गरी एक लाख ५० हजार मुल्य बराबरको क्षति गरेको थियो ।

घरमा हात्ती आएपछि राई छिमेकीहरूको सहयोगमा हात्ती धपाउन गएका थिए । सोही क्रममा हात्तीले राईलाई घरदेखि ५० मिटर पूर्व बाटोमा आक्रमण गरेका थिए । यता शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि शव दमक अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ । यसअघि हात्तीले हल्दिबारीमा दुई जना र दमकमा एक जनाको ज्यान लिइसकेको छ

You may also like