मुख्य स्वास्थ्य

दमक अस्पतालमा दूरविनबाट पाठेघरको अप्रेशन सुरु

दमक, २६ असोज –
दमक नगर अस्पतालले दूरविनको प्रयोगबाट महिलाको पाठेघरको शल्यक्रिया (अप्रेशन) सुरु गरेको छ ।
पित्तथैली र एपेन्डिक्सको दूरविनबाट अप्रेशन गर्ने गरिएको भएपनि दूरविनमार्फत ल्याप्रोसकोपी विधिबाट पाठेघरको समेत अप्रेशन थालिएको अस्पताल प्रवक्ता दुर्गा दंगालले जनाइन् । स्त्री तथा प्रशूती रोग विशेषज्ञ डा. दिनेस मीतका साथै स्त्री तथा प्रशूती रोग विशेषज्ञ डा.कृष्ण साह, एनेस्थेसियोलोजिष्ट डा.उद्धव अधिकारी, एनेस्थेसिया एसिस्टेन्ट देवी दंगाल, स्टाफ नर्स पूजा आचार्य सहितको टोलीले यसखाले विधिको पहिलो अप्रेसन गरेको हो ।
दूरविनबाट अप्रेसन गर्दा सानो घाउ हुने, अस्पतालको बसाई कम हुने र धेरै औषधि प्रयोग गर्नु नपर्ने प्रवक्ता दंगालले जानकारी गराइन् । दूरविनबाट चिकित्सकलाई पनि आँखाले सबै कुरा हेर्न पाउदा रोग निदान गर्न र अप्रेशन गर्दा आउने जोखिम पनि अगाडि नै थाहा हुने हुँदा हाल यो विधिबाट अप्रेशन गर्न रुचाउने गरिएको उनले प्रष्ट्याइन् । सो अस्पतालमा नाक, कान, घाँटी सम्बन्धिका अप्रेशनहरु पनि नियमित भइरहेको जनाइएको छ । केहि समय बन्द रहेको जेनेरल सर्जरीको सेवा डा.दिनेश नाल्बोबाट पुन सञ्चालन भएको छ ।
दमक नगर अस्पतालले कोशी प्रदेशमा सरकारी अस्पतालमा पहिलो ‘मोडुलर अप्रेशन कक्ष’को तयारी समेत गरिरहेको छ ।
अस्पतालमा मोडुलर अप्रेशन कक्षको निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ । अत्याधुनिक र मानवस्वास्थ्यको अधिकतम प्रतिकुल ३ वटा मोडुलर अप्रेशन कक्ष तयार भएपछि अप्रेशन कक्षको अभावमा अप्रेशनका विरामीले पालो पर्खिनुपर्ने वाध्यता अव टर्ने छ । हालकोस्थितीमा दिनमा ६ देखि ९ जनासम्मको मेजर अप्रेसन हुने गरेको र अप्रेशनको पालो डेढ महिनासम्म कुर्नुपर्ने अवस्था रहेको छ । ‘दक्ष जनशक्ति छँदैछ । अव ३ वटा आधुनिक मोडुलर कक्ष भएपछि अप्रेशनमा पालो कुर्नु पर्ने अवस्था हुँदैन ।’- प्रवक्ता दंगालले खुसीकोस्थिती दर्शाइन् ।
नगरको आन्तरिक श्रोतबाट अस्पतालको नयाँ भवनमा ८० लाखमा मोडुलर ओटी र ८० लाखमै अक्सिजन पाइपलाइन जडानको काम भइरहेको छ ।

Author

You may also like