मुख्य राजनीति

युवा संघको कार्यक्रममा गाडी तोडफोड, एक पक्राउ

विर्तामोड, २६ असोज –
अर्जुनधाराको कार्यक्रममा आएका नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई अवरोध गर्न कार्यक्रमस्थल पुगेकाहरुले बिहीबार कार्यक्रमस्थल नजिकका एकदर्जन बढी गाडी तोडफोड गरेका छन् ।
राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनका प्रमुख अतिथि पूर्वमन्त्री बस्नेतले मन्तव्य व्यक्त गर्दै गर्दा कार्यक्रम विथोल्ने योजनामा सडकमा नाराबाजी गर्दै ढुंगा प्रहार गरेर गाडी तोडफोड गरेको झापा प्रहरीले जनाएको छ । बाक्लो सुरक्षा घेरामा कार्यक्रम स्थलभित्र नेता बस्नेत भाषण गरिरहेका बेला सडकमा छरिएर रहेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरूले ढुंगा प्रहारगरी सडक किनारमा पार्किङमा राखिएका कार, मोटरसाइकल सहित एक दर्जन बढी यातायातका साधनहरू तोडफोड गरी सिसाहरू फुटाएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यहाँ पहिचानवादी र दुर्गा प्रसाईंका समर्थकहरु समेत सहभागि भएको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाले तोडफोड गर्नेको पहिचान गर्न अनुसन्धान भइरहेको जनाएको छ । प्रवक्ता खगेन्द्रप्रसाद रिजालले सो घटनामा अनुसन्धानका क्रममा विक्रम सुब्बालाई पक्राउ गरिएको पुष्टि गरे । सुब्बा प्रसाईं निकट रहेको बुझिएको छ । राजधानीको एक होटेलमा बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँलाई मोसो दलिएपछि सुब्बाले विर्तामोडमा जुलुससमेत निकालेको उल्लेख छ ।
प्रसाईँलाई मोसो दलेपछि प्रसाईँ पक्षधरहरूले बस्नेतलाई टार्गेट बनाएका थिए । प्रसाईँले आफूमाथि भएको दुव्र्यवहारको बदला लिने खुलेआम चेतावनीसमेत दिएका थिए ।
त्यसअघि बस्नेत प्रहरीकै घेराबन्दीमा कार्यक्रमस्थल प्रवेश गर्दा उनीहरुले कालोझण्डा देखाएर नाराबाजी समेत गरेका थिए । त्यहाँ झडप हुनसक्ने अवस्था बुझेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

Author

You may also like