अन्तर्राष्ट्रिय देश–समाज प्रवास मुख्य

इजरायलबाट २५० नेपाली नेपाल आइपुगे

दमक, २६ असोज –
युद्धग्रस्त इजरायलमा घाइते भएका सहित २ सय ५० नेपाली विद्यार्थी बिहीबार राती नेपाल आइपुगेका छन् ।
नेपाल वायुसेवा निगमको वाइडबडी विमान लिएर नेपालीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहितका सरकारी अधिकारी बिहीबार विहान इजरायल प्रस्थान गरेका थिए ।
युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरुमध्ये तेलअभिभ विमानस्थलबाट पहिलो लटमा २ सय ५० जनालाई स्वदेश फिर्ता गराएको मन्त्री साउदले जनाए । फिर्ता टोलीमा हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरी सहित आक्रमणमा जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी समेत गरी नेपाल आइपुगेका हुन् । उपचारकै क्रममा रहेका धनबहादुरलाई ट्राभल गर्न सक्ने चिकित्सकहरुले बताएपछि उनले घर आउने जनाए र आउने अवसर पाए ।
आक्रमणमा परित घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् । १७ जनाको समूह रहेको अवस्थामा त्यहाँ आक्रमणमा हुँदा १० जना नेपालीको मृत्यु भएको थियो । मृतकको पनि शव ल्याउने पहल जारी रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमान बिहीबार राति ९ बजेपछि काठमाडौं आइपुग्दै गरेको जानकारी गराइएको थियो । इजरायलको स्थानीय समयअनुसार राती १ बजेर १० मिनेटमा नेपालका लागि उडान भर्ने तालिका रहेको परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिएका थिए । विद्यार्थी सहित करिब चार सय नेपाली नागरिक नेपाल फर्कन इच्छुक भइ प्रतिक्षामा रहेका थिए । बाँकीलाई अर्को चरणमा ल्याइने उल्लेख छ ।

You may also like