दमक/ दमक नगरपालिकाले ९० वर्ष माथिका ज्येष्ठ नागरिक, ‘क’ वर्गका असक्त र अपांगता
(रातो कार्ड प्राप्त) भएका व्यक्तिलाई घरघरमा स्वास्थ्य सेवा दिएपछि सेवाग्राहीहरुमा खुशी छाएको छ । नगरपालिकको स्वास्थ्य टिम कहिले आउँला भनेर सेवाग्राही घरको झ्यालबाट हेरिरहने गरेको बताउने गर्छन र भेट हुँदा त्यस्ता ज्येष्ठ नागरिकहरुले नगरपालिकाका नर्स, डक्टर वा अन्य कर्मचारीहरुलाई छोड्न नमान्ने खालका स्वभाव समेत देखाउने, रुने, कराउनेसम्म गरेका छन् । उनीहरुलाई ठूलो कुरा नचाहिएको के कस्तो छ, के खानु भयो, समय अनुसारको तातो, चिसो छ के छ ? औषधी नियमित खाइरहनु भएको छ कि छैन, लगाएका, ओढ्ने ओछ्याउने सफासुग्घर छ कि छैन ति सबै कुरा सोध्दा सोध्दै उहाँहरु भावुक भएर रुने, कराउने गरेको अनुभव संगालेको दमक नगरपालिका स्वास्थ्य शाखा स्टाफ नर्स कमला पौडेल बताउँछिन् ।
सुरुमा अभियान लिएर जाँदा ज्येष्ठ नागरिकहरुको घरघरमा अस्तव्यस्त र विजोग अवस्था देखिएको भएपनि नगरपालिकालको उक्त अभियानका कारण अहिले उनीहरुको रेखदेख धेरै सुधार भएको र परिवारले उहाँहरुको रेखदेख पनि सहि ढंगले गरिरहेको पौडेल बताउँछिन् । उनले भनिन– सुरुका दिनमा कतिपयले बाबुआमालाई फोहोर नै फोहोरको डंगुरमा हाँसको खोर, कुखुराको खोरमा राखेका थिए र नगरपालिकाले परिवारलाई सम्झाए पछि अहिले उहाँहरुको अवस्था बदलिएको छ । अघिल्लो आर्थिक वर्ष अर्थात २०८० सालको भाद्र महिनाबाट सुरु भएको सो अभियान लक्षित वर्गका ४ सय २९ जनाका लागि बरदान सावित भएको छ । हरेक तीन महिनामा हरेक घरमा पुग्ने गरी सबै वडामा सो अभियान सञ्चालनमा रहेको पनि स्वास्थ्यकर्मी पौडेल बताउँछिन् । पौडेलका अनुसार हरेक महिना १३० देखि १५० जनासम्मको केयर गरिरहेको छ । सुरुदेखि नै नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, सामाजिक विकासका कर्मचारी, स्वास्थ्य शाखाका कर्मचारीलगायत धेरै जनाले सो अभियानलाई नजिकबाट नियाल्दै लक्षित समुदायको हितमा अनुगमनसहितका काम गरिरहेको पनि उनले बताईन ।
स्वास्थ्यकर्मीहरु ओछ्यानमा रहेका ज्येष्ठ नागरिकलाई औषधी पुर्याइदिने मान्छेको अभाव हुने र अस्पतालमा आउनुपर्दा भीडभाडमा बस्नुपर्ने बाध्यतालाई दमक नगरपालिकाकाले यो अभियानले ठूलो मद्दत पुर्याएको पौडेलको जिकिर छ । दमक अस्पतालको डाक्टर, औषधी बोकेर फार्मेसी, स्टाफ नर्स र हेल्थ असिष्टेन्टको एउटा टीमले हरेक ज्येष्ठ नागरिक, असक्त अपांगता भएका व्यक्तिको घरघरमा पुगेर सेवा दिइरहेका छन् ।
महिला शाखाका कर्मचारी पनि सँगै हुने र शसक्त अपांगता भएका व्यक्तिहरुको अवस्था, उहाँहरुलाई के आवश्यक परेको छ भन्ने यथार्थ बुझ्ने काम पनि हुने गरेको उनले बताईन । ९० वर्ष कटेका बिरामी अधिकांश ओछ्यानमा भेटिनु हुन्छ कोही कोही मात्र तगडै अवस्थाका पनि भेटिनु भएको छ । उहाँहरुमा हाइपरटेन्सन र प्रेसरका बिरामी धेरै भएको पाइएको पनि पौडेलले बताईन । प्रेसर, सुगर, दम, अल्जाइमर (बिर्सने), क्यान्सर, मेन्टल, डिस्एबिलिटी भएका ‘क’ वर्गका अपांगता भएका निकै अशक्त भएर ओछ्यान पर्नुभएको भेटिएको छ । उनीहरुको अवस्था हेरेर आवश्यक सामग्रीसमेत वितरण भईरहेको छ । ज्येष्ठ नागरिकले दैनिक खाने औषधीहरु घरघरमै निःशुल्क रुपमा पुर्याइदिने गरेको पनि स्वास्थ्यकर्मी पौडेलले बताईन । औषधीको तालमेल मिलाउनका लागि ३/३ महिनाको रोटेशन राखिएको हो । क वर्गका अशक्त र अपांगता भएका व्यक्तिका लागि सामान नहुने, ढाडमा घाउ भएको छ, ओछ्याउनमै लड्नु भएको छ । त्यस्ता बिरामीको आवश्यकता अनुसारका सामानहरु दिएर सहजीकरण गर्दै उहाँको स्वास्थ्यको ख्याल गर्दै आइरहेको छ ।