गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिकाले बाल शिक्षक र विद्यालय कर्मचारीको माग सम्बोधन गर्ने भएपछि आन्दोलन रोकिएको छ । आन्दोलनरत शिक्षक र गाउँपालिकाबीच भएको बार्तामा बाल विकास शिक्षक र विद्यालय कर्मचारीको माग सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन रोकिएको हो ।
गौरीगञ्ज गाउँपालिकामा भएको बार्ताको सहमति पत्रमा गाउँपालिकाका तर्फबाट शिक्षा शाखा प्रमुख सुशील दाहाल, विद्यालय कर्मचारीका तर्फबाट देवकुमार ताजपुरिया र बाल शिक्षकका तर्फबाट तेजकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् । संघीय सरकारले घोषणा गरे अनुसारको पारिश्रमिक स्थानीय सरकारले सुनिश्चित नगरेको भन्दै शिक्षकका पेशागत संगठनहरु आन्दोलनमा उत्रिएका थिए । गाउँपालिकाले बाल विकास शिक्षक र कर्मचारीको माग सम्बोधन नगरेको भन्दै शिक्षक महासंघ गौरीगञ्जको नेतृत्वमा आन्दोलन भएको थियो ।
संघीय सरकारले घोषणा गरे अनुसार बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक सुनिश्चित नगरेपछि शिक्षकका पेशागत संघ संगठनहरूको आह्वानमा शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । शिक्षकका पेशागत संगठनहरु नेपाल शिक्षक महासंघ गौरीगञ्ज, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठनलगायत पेशागत संघ संगठनहरूले प्रेस विज्ञप्ति जारी गरेर यही असार २२ गते विहान ९ बजेदेखि २५ गतेसम्म गाउँपालिकामा धर्ना जुलुस गर्ने जनाएका थिए । संघीय सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत् संघीय सरकारले ८ हजार र स्थानीय सरकारले ७ हजार रुपैयाँ व्यर्होर्नु पर्ने र खाजा भत्ता दैनिक १ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकोमा सोही अनुसार कार्यान्वयन गर्न माग गरेका थिए । यस्तै, बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीले अन्य कर्मचारी शिक्षकहरुले पाउँदै आएको महंगी भत्ता २ हजार रुपैयाँ पनि उपलब्ध गराउन माग गरेका थिए । नेपाल शिक्षक महासंघ, बाल विकास समन्वय समिति र नेपाल विद्यालय कर्मचारी परिषद गौरीगञ्जले संयुक्तरूपमा माग राख्दै असार १० गते गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।