दमक/झापा, मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ । सोमबार दिउँसो इटहरी–२ आपगाछीस्थित कोशी राजमार्गमा तरहराबाट इटहरीतर्फ आउँदै गरेको को १ क ३४४१ नम्बरको दुध बोक्ने गाडीले बाटो काट्दै गरेको स ५ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा–५ का २९ वर्षीय नरेश यादवको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने गाडी र चालक बिराटनगर–१ बस्ने ४९ वर्षीय रमाकान्त चौधरी प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै मोरङको विराटनगर–५ भित्री सडक खण्डमा सोमबार बेलुका पश्चिमतर्फ जाँदै गरेको को ३२ प ८८१० नम्बरको स्कुटी आफँै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटी चालक विराटनगर–१४ का ४० वर्षीय टिका मेचेको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार साँझ झापा बुद्धशान्ति गाउँपालिका–४ जोगी डाँडास्थित मेची रार्जमार्ग सडक खण्डमा दक्षिणतर्फ आउँदै गरेको ना ३ च ४०३३ नम्बरको पिकअप र विपरीत दिशातर्फ जाँदै गरेको मे. ९ प ९२०३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।