समाचार

दमकका संक्रमितलाई कारितासको सहयोग

दमका कारितास नेपालले झापाको दमकमा कोरोना भाइरस संक्रमित भएका विपन्न तथा गरीब परिवारलाई लक्षित गरी राहतको कार्यक्रम संचालन गरेको छ । सो अनुसार दमकको वडा नम्वर ३ र १० का १ सय जना कोरोना संक्रमितहरुलाई उपचारका लागि स्वास्थ्य सामग्री र रोग प्रतिरोधी क्षमता बढाउन पौष्टिक आहार सहयोग स्वरुप वितरण गर्न थालेको छ ।
यो सहयोग होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई मात्र गरिने कारितास नेपालका परियोजना अधिकृत हिमालय अधिकारीले जानकारी गराए । उनका अनुसार बिहीबार दमक–३ का होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई सो राहत अन्तर्गत स्वास्थ्य सामग्री र पौष्टिक आहारको प्याकेज वडाध्यक्ष नविन बराललाई हस्तान्तरण गरिएको छ । बिहीबार सो वडाका २५ जना संक्रमितलाई वडाध्यक्ष मार्फत् र बेलडाँगी शरणार्थी शिविरका २५ जनाका लागि शरणार्थी शिविरका खानेपानी तथा सरसफाई समितिका अध्यक्ष टेकबहादुर राई मार्फत् सहयोग हस्तान्तरण गरिएको हो । त्यसक्रममा स्थानीय र शिविरका केही संक्रमितका घरमा भने वडाध्यक्ष बराल तथा शिविरका राईसहित कारितास नेपालको टोली स्वास्थ्यकर्मी र मनोपरामर्शकर्ता सहित पुगेर सहयोग हस्तान्तरण गरेको थियो  । बाँकी संक्रमितहरुलाई वडा कार्यालय र शिविर व्यवस्थापनले नै सहयोग सामग्री उपलब्ध गराउने बताइएको छ । आज शुक्रबार भने दमक–१० को वडा कार्यालयमा गई सो सहयोग वडाध्यक्ष बोधराज न्यौपानेमार्फत् हस्तान्तरण गरिने कारितास नेपाल दमक शाखाले जनाएको छ । यो सहयोग प्रति संक्रमित व्यक्ति ३ हजारका दरले जम्मा ३ लाखको रहेको जनाइएको छ । स्वास्थ्य सामग्रीमा मास्क, थर्मामिटर, सेनिटाइजर, क्याल्सियम र भिटामिन, जिंक चक्की, जीवन जल, पारासिटामोल लगायत रहेका छन् भने पौष्टिक आहारमा काजु, किसमिस, बदाम, ओखर, चना र सुप रहेका छन् ।

Author

You may also like