अर्थ मुख्य

सरकारप्रति व्यवसायीको गुनासो

दमक, १४ पुस संघीय संरचनामा मुलुक गएको अवस्था भएपनि उद्योगी व्यवसायीहरुको समस्या यथावत रहेको दमकमा शुक्रबार आयोजित एक कार्यक्रममा सहभागि अगुवा उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् ।

दमक उद्योग वाणिज्य संघको ३२ औं साधारणसभामा अतिथिका रुपमा उपस्थित अगुवा उद्योगी व्यवसायीहरुले मुलुकमा तिन तहको सरकारी संरचना भएपनि उद्योगी व्यवसायीका लागि भनें त्यति राहत पुग्न नसकी उद्योग व्यवसाय वन्दको अवस्था रहेको विचार राखेका थिए ।

सभाहलमा शुक्रबार सम्पन्न साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि दमक नगरपालिका प्रमुख रामकुमार थापाले समग्र नगरको विकासमा उद्योगी व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेकाले उनीहरुको समस्या सवैको साझा समस्या भएको बताए । उनले भने– ‘नगरको समग्र विकासमा एक्लो प्रयासबाट सम्भव छैन, तपाई आम नगरबासी र संघ संस्थाको सक्रिय भूमिका आवश्यक छ । उनले नगरपालिका भित्र पछिल्लो समय फोहोर ब्यवस्थापन, लागुऔषध तथा दूब्र्यसनी, नीजि मेडिकल तथा क्लिनिकहरुमा भइरहेको लापरवाही जस्ता विषय मुख्य समस्याको रुपमा देखापरेको बताए । उनले भने– ‘लागुऔषध तथा दूब्र्यसनीमा नीजि क्लिनिक र मेडिकलहरुमा लागऔषध विक्रि वितरण भइरहेको सुन्नमा आएको छ, प्रमाण भेटिए यस्ता मेडिकललाई नगरले तत्काल कारवाही गर्नेछ ।’

कार्यक्रम विशेष अतिथि उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले मुलुकमा बढ्दो बैंकिङ तरलताको कारण ब्यवसायहरु मारमा परेको बताए ।

यसैगरी अर्का केन्दीय सदस्य उमेश डालमियाले धेरै युवाहरु रोजगारीमा विदेशिएको र युवा विदेसिँदा ब्यापारमा प्रत्यक्ष असर पुगेको टिप्पणी गरे ।

कार्यक्रममा कर कार्यालय दमकका अधिकृत लक्ष्मण कार्कीले ब्यवसायीको करबाट मुलुक चलेकोले समयमा कर तिर्नु ब्यवसायीको इमान्दारिता र कर्तब्य पनि भएको बताए ।

दमक क्याम्पस सञ्चालन समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले हरेक संघ संस्थाले साधारण सभा गरेर संस्थाको अवस्थाको बारेमा आम नागरिकलाई जानकारी गराउने गरेको भएपनि दमकसँग प्रत्यक्ष सरोकार राख्ने बहुअपेक्षित दमक रवि सडकको समितिले १० वर्ष वढी अवधी वितिसक्दासमेत निर्माणको अवस्था र आर्थिक अवस्थावारे सार्वजनिक नगर्नुले समितिमाथि नै आशंका पैदा भएको टिप्पणी गरे । उनले भने – ‘न आर्थिक अवस्थाबारे जानकारी गराइन्छ, न निर्माणको अवस्थाबारे जानकारी गराइन्छ, यो कस्तो समिति हो ? त्यहाँ के भइरहेछ, जनताले बुझ्न पाउनु पर्दैन ।’ उनको प्रश्न थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति सदस्य ऋषि तिम्सिनाले अप्ठ्यारो अवस्थामा उद्योगी ब्यवसायीका समस्या तीनै तहका सरकारले गम्भिरताका साथ लिन सक्ने हो भने समस्या केही हदसम्म हल गर्न सहज हुने विचार ब्यक्त गरे ।

मन्तव्यका क्रममा दमक ७ नम्बर वडाध्यक्ष भीम पौडेलले रतुवा किनारमा तटवन्ध गरी उत्तरदक्षिणको बाटो सम्पन्न गर्न उद्योगी व्यवसायीको सहयोगको खाँचो भएको जनाए । सो बाटो पुरा भएमा ट्रयाक्टर र ट्रिपरहरु सो बाटोबाट सञ्चालन हुँने हुँदा बजार क्षेत्रमा धुलो न्यूनिकरण हुन मद्धत पुग्ने जनाए ।

कार्यक्रमका सभाध्यक्ष एवं संघका अध्यक्ष देवीप्रसाद (गोपाल) गुरागाईंले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष तथा वार्षिक साधारणसभा तयारी समितिका संयोजक राजु खड्काको स्वागत मन्तब्य र संघका प्रथम उपाध्यक्ष राजकुमार योङ्याले सञ्चालन गरेको कार्यक्रममा संघमा आबद्ध उद्योगी ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

You may also like