समाचार

फोहोर छुट्याउने काम सुरु

झिलझिले, १५ पुस।

झापाको कनकाई– बिर्ता–अर्जुन नविकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर छानेर छुट्याउने (सेग्रीगेसन) कार्य सुरु गरेको छ ।
बायोग्यास उत्पादनका लागि सुरु गरिएको यस कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य सुरु गरेको हो । कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली र कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्माले संयुक्तरुपमा सेग्रीगेसन मेसिनको बटम थिचेर परीक्षण कार्यको उद्घाटन गरेका थिए । सेग्रीगेसन परीक्षणका रुपमा सुरु गरिएको कम्पनीले जनाएको छ ।
यस मेसिनमा सेग्रीगेसन गरिसकेपछि कुहिने फोहोर ग्यास उत्पादन गर्ने डाइजेस्टरमा लगाइन्छ । नकुहिने प्लाष्टिकजन्य फोहोरको लागि भने पेवर्स, ब्लग बनाउने मेसिन खरिद प्रक्रियामा रहेको छ । अबको एक महिनादेखि डेढ महिनाभित्रमा त्यो मेशिन पनि जडान हुने भएकाले तीनैवटा पालिकाको फोहोर व्यवस्थापन हुने कम्पनीका मेकानिकल कन्सल्टेन्ट इन्जिनियर मोहम्मद नसिम अलीले जानकारी दिए ।
कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोख्रेलले फोहोर व्यवस्थापनको दीगो काम क्रमागतरुपमा ढिलै भएपनि लक्ष्य प्राप्तिको दिशामा पुगको बताए । उनले पनि तीनवटै पालिकाबाट स्रोतमै वर्गिकरण गरेर छुट्याएर ल्याउनु पर्नेमा जोड दिए ।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले यो प्लान्ट पूर्णरुपमा सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनमा सहज हुने बताइन् । फोहोर स्रोतमै वर्गीकरण गर्नु पर्ने भएकोले घर, पसल, होटलमै कुहिने र नकुहिने फोहोर छुट्याउन नगरबासीलाई उनले पनि आग्रह गरिन् । हाल बिर्तामोडको कृषिथोक बजारबाट निस्किएको फाहोरमात्रै प्लान्टमा गइरहेको र अब बाँकी फोहोर पनि चाँडै पठाइने नगर प्रमुख प्रसाईले जानकारी दिइन् । सेग्रीगेसन मेशिनको औपचारिक उद्घाटन आगामी सोमबार गरिने कम्पनीका अध्यक्ष मदनगोपाल सुव्वाले जानकारी दिए ।
कनकाई, बिर्तामोड, अर्जुनधारा नगरपालिका, दातृ निकाय र स्थानीय नागरिक समेतको परियोजनामा २२ करोड रुपैयाँ लगानीमा फोहोरमैलाको दीगो व्यवस्थापनका लागि ग्यास प्लान्ट निर्माण गरिएको हो । प्लान्ट कनकाई नगरपालिका २ मा रहेको छ ।

You may also like