गौरादह, १५ पुस।
न्यू पब्लिक कृषि सहकारी संस्था गौरादहको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष भूपालराज कटुवालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा संस्था नवौं साधारणसभा सम्म आइपुग्दा सेयर सदस्य संख्यामा बृद्धि हुनुका साथै संस्थाले आर्थिक प्रगतिमा फड्को मारेको जानकारी उल्लेख छ । अध्यक्ष कटुवालले आर्थिक वर्ष २०७९÷०८० सम्ममा संस्थाको कुल सेयर पूँजी १ करोड ६४ लाख ८६ हजार २ सय रहेको जानकारी गराएका थिए । विनियम पूनर्लेखन, सेयर बृद्ध, ऋण कर्जा बीमा, कर्मचारी दुर्घटना बीमा, सेयर सदस्य शिक्षा, संस्था एकीकरणका कार्यक्रम संस्थामा रहेको छ ।
संस्थाका लेखा समिति संयोजक तेजराज दाहालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा ९ करोड ३७ लाख ९ हजार ४ सय ८६ बराबरको कुल कारोवार गरेको जानकारी गराए । संस्थाको जगेडा कोषमा १० लाख २८ हजार ९ सय २६ रुपैयाँ रहेको उल्लेख गरे । संस्थाले गत आर्थिक वर्षमा २ लाख ६२ हजार २ सय ९६ रुपैयाँ खुद नाफा गरेको प्रतिवेदनमा जनाइएको छ । साधारणसभाको अवसरमा बाल बचतकर्ता ४ जना र उत्कृष्ट शेयर सदस्य १२ जनालाई सम्मान गरिएको संस्थाका व्यवस्थापक सोभित कार्कीले जानकारी गराए ।