दमकमा सोमबार पर्ने श्रीकृष्ण जन्माष्ठमीको भोलिपल्ट मंगलबार बृहत् ऐतिहासिक रथयात्रा निकाल्ने सबै तयारी पुरा गरिसकेको छ । विगत वर्ष झै यस वर्ष पनि रथयात्रालाई अझ व्यवस्थित, अझ फराकिलो र अझ धार्मिकतासँग जोडेर दमकबासीको मन, मुटु एकै ठाउँमा मिलाएर एकता, भातृत्व, सहअस्तित्व कायम गर्दै सबैको साझा गहनाको रुपमा रथयात्रालाई अगाडि बढाउन के कस्ता कामहरु भएका छन् । रथयात्राको तयारी कहाँ पुग्यो ? रथयात्राबाट दमकबासीले अपनत्व कसरी लिन्छन् ? लगायतका सामसामयिक सन्दर्भमा लामो समयदेखि धार्मिक क्षेत्रमा लागेर आएका व्यक्तित्व श्रीकृष्ण प्रणामी मन्दिर दमकको अध्यक्ष, विभिन्न सामाजिक तथा वैचारिक संघ–संगठनमा समेत रहेर काम गरिरहनु भएका दमक–५ निवासी प्रेम भट्टराई जो दमकको रथयात्रा व्यवस्थापन मूल समितिको स्थापनाकालदेखि कै सचिवको समेत जिम्मेवारी वहन गरिरहेका छन् । उनै भट्टराईसँग जनज्योति साप्ताहिकका लागि गरिएको कुराकानीमा आधारित सामग्री ।
विराटनगर पछाडिको पूर्वको ऐतिहासिक रथयात्रा बनाउने अभियानमा लागेको दमकमा राधाकृष्ण जन्माष्ठमीको अवसरमा १० औं रथयात्रा मंगलबार दिउँसो २ बजेदेखि भव्यताका साथ निकालिँदैछ । २०÷२५ वर्ष अगाडिदेखि रथयात्राको प्रारम्भ भए पनि एक दशक अगाडि श्रीकृष्ण जन्माष्ठमी जुन दिन पथ्र्यो त्यही दिन बिहान रथयात्रा गर्ने चलन थियो । सबैको बिदा परेको हुनाले पनि राति १२ बजे श्री कृष्ण भगवानको जन्म हुने, रातीको व्यवस्थापनमा कठिनाई भएपछि परिस्थितिजन्य कहिले काँही दिउँसोको १२ बजे पनि श्रीकृष्ण जन्माउने काम हुन्थ्यो । विशेष गरेर यो रथयात्रालाई व्यस्थापन गर्ने र सबैको अपनत्व हुने कुरामा श्री राधाकृष्ण मन्दिर र प्रणामी मन्दिरले अलग–अलग गदै आएको हुँदा एकजुट भएर श्रीकृष्ण जन्माष्ठमीको अवसरमा निकालिने रथयात्रा छुट्टाछुट्टै नगरेर एकै ठाउँमा गरौं भनेर तत्कालिन सचिव कृष्ण अधिकारीले ल्याएको प्रस्ताव उपर व्यापक रुपमा सम्बद्ध सबै पक्षहरुलाई विशेष गरेर दमकका धार्मिक संघसंस्थाहरु राखेर बृहत् बैठक र छलफल पछि निस्किएको निस्कर्षका आधारमा आज दमकको सिंगो रथयात्राले एक दशक यात्रा पार गर्ने तयारीमा जुटेको छ । मन्दिरको म (प्रेम भट्टराई) उपाध्यक्षको हैसियतबाट पनि उक्त प्रस्ताव सकारात्मक लागेर छलफल अगाडि बढाइएको थियो । धार्मिक एकता, धार्मिक सहिष्णुता बढाउँदै विवादरहित ढंगबाट दमकबासीलाई जोड्ने पुलको काम रथयात्राले गरेको अनुभव भएको छ ।
रामासीस साहको नेतृत्वमा गाडीमा सिंगारेर २०७२ सालमा सामान्य तरिकाले निकालिएको रथयात्राको अनुभवबाट त्यसपछि मानबहादुर बुढाथोकीको नेतृत्वमा भारतको रथखोलाबाट कालिगढ झिकाएर काठैकाठको रथ बनाएर अलि बृहत् रुपमा रथयात्रा अगाडि बढ्यो । दकममा बसोबास गर्ने सबै धार्मिक संघ–संस्था, उद्यमी, व्यवसायी, उद्योग वाणिज्य संघ, सामाजिक संघसंस्था, वैचारिक संघसंस्था, नगरबासी सबैको साथ लिएर भव्य रुपमा रथयात्रा मनाउने गरिएको छ । यो रथ यात्रामा मुस्लिम समुदाय, क्रिश्चियन समुदाय समेत सहभागी हुने गरेका छन् । यसर्थ पनि यो रथ यात्रामा तेरो, मेरो भन्ने छैन । दमक नगरको सम्पत्तिको रुपमा यसलाई अगाडि बढाइको छ । यसको अभिभावक नै दमक नगरपालिका रहेको छ । विधानमा पनि व्यवस्थापन त्यस्तै रहेको छ । यसलाई वैधानिक ढंगले विधिवत् रुपमा अगाडि बढाउनुपर्छ भन्ने लागेर २०७९ सालदेखि दर्ता भएर रथयात्रालाई भव्य रुपमा मनाउँदै आएका छौं । भगवान श्री कृष्णको प्राकृतिक उत्सव हर्षोल्लाषका साथ मनाएर भोलिपल्ट ऐतिहासिक रुपमा भव्य र सभ्य श्रीकृष्ण रथयात्रामा सहभागी हुन सबै नगरबासी लालयित र उत्साहित देखिनुभएको छ । सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिएर गरिएको यो रथयात्रामा स्थानीयबासी, धार्मिक, सामाजिक, राजनीतिक, शैक्षिक, व्यवसायिक सबैको साथ, सहयोग, समर्थनले रथयात्रा आजको अवस्थामा आइपुगेको छ ।
रथयात्राको धार्मिक महत्व पनि छ कि आस्था मात्र प्रकट गरेको हो भन्ने प्रश्नमा उनले भने
राधाकृष्ण भनेको भगवानका प्रमुख नै रहेको भन्ने हामीले शिक्षा पाएका छौं । त्यसकारणले भगवान श्री कृष्णको आराधनामा ठूलो आस्था, विश्वास र भरोसा रहन्छ । भगवान श्रीकृष्ण सबैका साझा हुन् । जो जसले जुन जुन भगवानको नाम पुकारे पनि अन्ततः साझा भगवान भनेका श्रीकृष्ण नै भएको धार्मिकशास्त्रले बताउँछ । भगवानको नाम पुकार्दा सबैका आ–आफ्ना ठाउँमा महत्व र उपादेयता छ तर पनि भगवान श्रीकृष्णलाई पुकार्नु सर्वश्रेष्ठ मानिन्छ । जीवनमा एक पटक मात्र श्री कृष्णलाई प्रणाम गरियो भने पुण्य प्राप्त हुन्छ । अन्जानमा गल्ती भएको दोष पनि मेटिन्छ भन्ने मान्यता रहिआएको छ । सबैका घरमा पुराण लगाउन सकिँदैन । सबैका घरमा कथा गर्न सकिँदैन । सबैका घरमा धार्मिक अनुष्ठान गर्न सकिँदैन । त्यसमा आर्थिकदेखि अनेकन कारणहरु जोडिएका हुन्छन् । तर यो श्रीकृष्ण जन्म भएको रथयात्राको दिन त्यो रथको डोरी छोएर, रथमा विराजमान भगवान श्री कृष्णको मुर्तिलाई दृश्यावलोकन गरेर दुई पाइला हिंडदैमा पनि नसोचेको फल प्राप्त हुन्छ । रथमा सहभागी हुनाले वा डोरी तान्नाको धार्मिक रुपबाट आफ्नै लागि आफैले गर्ने काम नै रथयात्रामा सहभागी हुने हो । कसैले रथयात्रामा बोलाएनन् म जान्न भन्नु गलत हुन्छ । स्वस्थ मानिसले पनि दुई पाइला मात्रै हिड्दा पनि त्यसको प्रतिफल लाभकार हुन्छ । त्यति गर्न सकिँदैन भने रथयात्राको रुट हुँदा आफ्नो आँगनमा आरती गर्ने, त्यो पनि सकिँदैन माथिबाटै फुल छर्किने, पुष्प बर्साई दिने, आफ्ना नानीहरुलाई गोपगोपिनीको भेषमा, बाँसुरी राखेर सजाएर निकाल्ने, रथको रुटका घरहरु सिंगारपेटार गरेर २ वटा घडा राखिदिने, गर्नाले शोभनीय पनि देखिने, उहाँहरुलाई धार्मिक लाभ पनि प्राप्त हुने र रथयात्रामा सहभागीहरुलाई हौसला पनि प्रदान गर्ने गर्दछ ।
आउँदो ११ गते मंगलबार दमक धार्मिक पर्यटन जस्तो, बिन्द्रावन जस्तो बनाउन सबैको सहयोग चाहिन्छ । रथयात्रा समिति भनेको माध्यम हो । अध्यक्ष रोहित आचार्य सचिव म वा अन्य पदाधिकारीहरुले मात्र चाहेर केही हुँदैन । यहाँका तमाम व्यक्तिहरुको विचार मन्थन, सरसल्लाह, छलफलबाट निस्केका निस्कर्षलाई लागु गराएर आब्ह्वान गर्ने दायित्व समितिमा रहन्छ । रथयात्रा दमक नगरबासीको गहना, दमकको गहना हो । कुनै जातजाति, लिंग वा कुनै पनि साम्प्रदायिकमा सीमिति छैन । सबैको साझा अपनत्व हुने गरी रथयात्रा गर्ने गरिएको छ । प्रणामी, कविर, नेपाल मानव धर्म सेवा समिति, किराँत धर्म साहित्य उत्थान, मारवाडी सेवा समिति, स्कोनलगायत विभिन्न धार्मिक आस्थाका पुञ्ज छन् ती कसैको पनि होइन रथ । यो त सामूहिक साझा र छाता गहना हो । यी सबै धार्मिक आस्थाका पुञ्ज, सामाजिक संघसंस्था, राजनीतिक संघसंगठनहरु, खेलकुदका विभिन्न विधागत संघ–संस्था, व्यापारी व्यवसायीका संघसंस्थालगायत धेरै संघ–संस्थाहरुले रथयात्रालाई सुरुदेखि नै अपनत्व हुने गरी विवादरहित ढंंगबाट साथ, सहयोग गर्दै आएका छन् । भक्तजनहरुले पानी, फ्रुटी लगायतका चिज खाएर फ्याँकेका फोहोर संकलनदेखि कसैलाई केही स्वास्थ्यमा गडबडी भएमा दमकका सबै स्वास्थ्यकर्मी, चिकित्सक वा भनौं अस्पताल, सुरक्षा व्यवस्थाका लागि सबै सुरक्षा निकायहरुबाट सुरक्षाको प्रबन्धलगायत धेरै कुराको तयारी भईसकेको छ । त्यसकारण हरेक कोणबाट अत्यन्तै व्यवस्थित ढंगबाट रथयात्रा सञ्चालन गर्न लागिएको हुँदा निसंकोच उपस्थित भई रथयात्रामा सहभागी हुन आग्रह, अनुरोध छ ।
यो यात्रा भोलिका दिनमा बृहत्तर बनाउँदै नेपालकै ठूलो विराटनगर भनिएको छ । सकेसम्म त्यसकै हाराहारी नभए पनि त्यसपछि रथयात्रामा दमकको नाम आउने गरी कार्ययोजना अगाडि बढाउने रणनीति लिएको छ । यसका लागि दमक क्षेत्र र आसपासका केही क्षेत्रहरु समेटिएका छन् । राधाकृष्ण मन्दिर अलि साँघुरो ठाउँमा भएको कारणले त्यसलाई क्षेत्र हेरेर फराकिलो र सुन्दर ठाउँमा बनाउने र त्यसैको प्राङ्गणमा रथ राख्ने र त्यहीबाट रथ निकाल्ने गरीका योजना पनि छ । नगरप्रमुख राम थापा यसमा सकारात्मक हुनुभएको छ । यो धार्मिक एकताले दमकबासीबीचको प्रेम अझ गाढा रहन्छ । सबैलाई सबै ठाउँबाट जोड्ने माध्यम बनेको यो रथयात्रा कसरी हुन्छ दमकको भाग्य र भविष्य कोर्नेतर्फ डो¥याएर लौजाउ । प्रस्तुति खगेन्द्र कार्की