पालिका गतिविधि स्थानीय

प्रकृति र सृजना जोड्दै

पथरी, २१ माघ । मोरङको पथरी शनिश्चरेमा प्रकृति र सृजना जोड्ने कार्यक्रमहरु बेलाबखत हुने गरेको सन्दर्भमा यसपटक विश्व सिमसार दिवसको दिन त्यस्तै प्रकारको कार्यक्रम हुन पुग्यो ।

पथरी शनिश्चरे वडा नम्बर १ को शान्ति सामुदायिक वन र डिभिजन वन कार्यालय मोरङको आयोजनामा शुक्रबार शान्ति भूल्के सिमसार क्षेत्रमा सिमसार दिवस मनाउने क्रममा एभरेष्ट आर्ट फ्यूजन र ललितकला संगम विराटनगरमार्फत प्रकृति र सृजना जोड्ने काम भयो । अर्थात हरियाली वनभित्रको सिमसार क्षेत्रको डिलमा बसेर चित्रकारहरुले त्यही सुन्दर प्रकृति नियाल्दै त्यसलाई क्यान्भासमा उतारे । हात्ती उसको बासस्थान, खानेकुरा र हिँड्ने बाटो समेत मासिएर बस्ती बस्दा उसमाथि परेको संकटलाई एभरेष्ट आर्टका कलाकारले सिमसार प्रवेशद्वारको भित्तामा चित्रमा उतारे । सिमसार दिवसमा प्रमुख अतिथिका रुपमा आमन्त्रित कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले त्यसको अनावरण गरे ।

अनौपचारिक रुपमै हात्तीको आकृति अनावरण गरेका मन्त्री उप्रेतीले त्यसपछि सिमसार परिसरमा सञ्चालित विद्यालयस्तरीय चित्रकला प्रतियोगिताको अवलोकन गरे । अनि अलि पर कलाकारहरुले सिमसारको डिलमा निर्माण गरेका सिमसार सहित प्रकृति संरक्षणको भाव बोकेका चित्रहरु पनि अवलोकन गरे । अष्ट्रेलियाबाट आएका चित्रकार रे मर्सदेन सहितका चित्रकारहरुको त्यसखाले कलाका बारेमा चासो लिएर हेर्दै कुराकानी समेत गरे । ‘पर्यावरण संरक्षणको सन्देश दिने यस्ता निधिको प्रवद्र्धनमा मन्त्रालय लाग्छ ।’– साहित्यकार समेत रहेका उनले संक्षिप्त प्रतिक्रिया दिए ।

‘सिमसार र मानव कल्याण’ प्रमुख नाराकासाथ तय गरिएको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै मन्त्री उप्रेतीले सिमसार क्षेत्रको संरक्षणले पर्यावरण जोगाउने उल्लेख गर्दै यसको संरक्षण आवश्यक रहेकोमा जोड दिए । उनले सिमसार, वन तथा वन्यजस्तु सहितका वस्तुहरुले पर्यावरण जोगाएर पर्यापर्यटनको ठूलो सम्भावना बोकेकाले त्यसको प्रवद्र्धन गर्न प्रदेश सरकार पनि लागि पर्दै जाने उल्लेख गरे । सिमसारलाई पर्यटकको आकर्षकस्थलसँगै विभिन्नखाले आयआर्जनको क्षेत्र बनाउन सकिने पनि सुनाए । उनले नेपालका ९ वटा सिमसार रामसार क्षेत्रमा सूचिकृत भएको उल्लेख गरे । त्यसमध्ये कोशीमा कोशीटप्पु वन्यजस्तु आरक्ष केन्द्र, माइपोखरी र सोलुखुम्बुको गोक्यो हिमताल रहेको जनाउँदै उनले भने ‘सिमसार जोगाएर पर्यटन प्रवद्र्धन गरौं, पर्यटन प्रवद्र्धन आजको आवश्यकता हो ।’

यसैगरी, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्राकृतिक सम्पदा सिमसारलाई दीगो रूपमा संरक्षण गरी यसबाट लाभ लिन सक्नुपर्ने बताए । ‘जमिन लुक्दैन, पानी सुक्दैन’ त्यसैले सिमसारको महत्व छ,’ उनले भने, ‘प्रकृतिलाई बचाउन सकिएन भने भावी सन्ततीले प्राकृतिक संकट व्यहोर्छ ।’

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरे र झापा डिभिजनका प्रमुख मेघराज रायले पाँच प्रतिशत सिमसारले ओगटेको हाम्रो भूभागलाई प्राकृतिक सौन्दर्यता दिन सिमसारले महत्वपूर्ण कार्य गरिरहेको बताए । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले सिमसारले गर्दा प्राकृतिक प्राणीलाई बाँच्न सजिलो हुने भएकाले यसको संरक्षण एवम् प्रवद्र्धन गर्न नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताए । सो अवसरमा एभरेष्ट आर्ट फ्यूजनकी संस्थापक अध्यक्ष एवं पथरी शनिश्चरे नगरको पहिलो प्राज्ञ चित्रकार सरोजा खड्गीले कला र प्रकृति जोड्दै पर्यावरण जोगाएर मानिसहरुलाई सृजनशील बनाउने काममा नगरमा आफुहरु लागिपरेको बताइन् । उनले एभरेष्ट आर्टको पहलमा नगरमा प्लस टु मा ललितकलाको कक्षा सञ्चालन भएको र नेपालकै पहिलो सेरामिक पार्क निर्माणको चरणमा अघि बढेको जानकारी गराइन् ।

शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलमणि गुरुङको अध्यक्षताको कार्यक्रममा चित्रकला प्रतियोगिता क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने जनता मावि कक्षा ७ की प्रकृति पुरी, एभरेष्ट बोर्डिङ कक्षा ९ की स्नेहा वनेम र अरुणोदय बोर्डिङ कक्षा ६ की समीक्षा तामाङ र एभरेष्ट बोर्डिङका सुजित केदेमलाई पुरस्कार वितरण गरियो । कार्यक्रममा विभिन्न विद्यालयबाट सिमसार संरक्षणको सन्देश बोकेको व्यानर र पम्प्लेट सहित र्यालीकासाथ विद्यार्थीहरु कार्यक्रममा सहभागि भएका थिए । त्यहाँ नगरको प्रथम नागरिक धिमाल जातिको साँस्कृतिक नृत्य पनि प्रस्तुत भयो ।

यसैगरी, डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन कार्यालय धाइजनको सहजीकरणमा बिर्तामोड नगरपालिका ६ स्थित हरियाली सामुदायिक वन परिसरमा विविध कार्यक्रमका साथ दिवस मनाइएको छ । हरियाली समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिवन वन कार्यालय झापाका वन अधिकृत ऋषिराज पराजुलीले सिमसार दिवस सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

You may also like