हिजो मौन थियौ
बोल्दै बोलेनौ
तिम्रो अभिष्ट पुरा भयो
अहिले के गर्दैछौ , कमरेड , जय नेपाल ?
कि कमरेट र भयवाद नेपाल पो भएर होकि
कमाउरेड र समाजवाद हुँदा त बोल्दैनथ्यौ
बरु जनता बोल्थे
घच्घच्याउथे
लेवी तिर्थे
पर्चा पम्प्लेट बाढथे
चिया चमेना गृहमा
तिम्रै भजन गाउँथे
प्रचारबाजी गर्थे
के – के गरेनन र ?
तिम्रा लागि गोली खाए
अङ्गभङ्ग भए
परिवार त्यागे
वीपी
गणेशमान
किसुन जि
गिरिजाबाबु
सुशील दा
माक्र्स
लेनिन
एङगेल्स
माओत्सेतुङ
पुष्पलाल
मनमोहन
मदन
जीवराजले छोडेर गएको वादहरुमा
हिजोदेखि आजसम्म परेड खेल्यौ हैन ?
कि स्वीकार गर्दैनौ यो कुरा ?
कि आरोप लगाउछौ
यो स्वतन्त्र कलमलाई ?
नलगाउन चुप लागेर बस
सत्ता र पदका लागि अझै दगुर्दैछौ नि
न लाज न घिन
केही लाग्या छैन नि
घरले जा जा र बनले आइज आइज भन्ने उमेरमा
अझै प्यानल चलाउदैछौ
गुटबन्दी गर्दैछौ हैन ?
नचलाउ न महाशय
चुप लागेर बस
युवाहरूको जमातलाई आरोप नलगाउ
बचेखुचेको साख जोगाउ
के बोले के बोलिन , छुट्ट्याउ ?
जनताको मन कहिले टाल्ने नेताज्यू ?
आफूलाई तराजुमा जोख
चलखेल नगर
शिर उचो राखि अघि बढ
निरन्तर निरन्तर निरन्तर
अविरल अविरल अविरल ………………………?
यतिबेला देश प्रसव पीडामा छ । जहाँपनि जतापनि मनपरीतन्त्र छ । यहाँ कसले कसलाई आदर , सम्मान , सत्कार गर्नुपर्ने हो त्यो सम्म बुझेर गरेको देखिन्न । अनुशासन कुन चरीको नाम हो ? भन्ने अवस्था आयो नयाँ नेपालमा । लाग्छ कि – यो देशमा भलो चिताउने नेताको अभाव छ । जबसम्म युवाहरुको सफल नेतृत्व बलियो रहन्न तबसम्म देशमा बुढाखाडाहरुले देशै बेच्छन र देशलाई बुरुण्डी बनाउने रहेछन भन्ने कुराको प्रतित उनीहरूको व्यबहारले प्रमाणित गरिदिइ सकेको छ । अहिलेपनि युवाहरुको बलियो नेतृत्व कहिँ छैन बरु टुट र फुट छ , युवाहरूमा । बयोबृद्द नेताहरुकै पेरिफेरिमा देश चलेको छ । युवाहरु जति सबै कि त खाडी कि त शक्ति सम्पन्न राष्ट्रतिर श्रम उमार्न बिदेशिएका छन । यो अवस्था कसले बनायो त ? बनाउने तिनै दलका दलाल हुन जसले बारबार युवाहरुलाइ अनेकन नाम दिएर संघसंगठनका नाममा पद दिएर भाला , खुकुरी , तरबार खेलाउन सिकाए । आखिर लोकतान्त्रिक गणतन्त्रको उपादेयता यही रहेछ हैन । बालबनिता देखि बृद्धअबस्थासम्मका सबैले बुझिसकेको अवस्था छ । एकतन्त्रीय पन्चायती शासनको राज्यसत्ता ढालेर लोकतान्त्रिक गणतन्त्र आउँदासम्म आम नेपाली जनताले के पाए ? जहाँपनि जतापनि भ्रष्टाचारै भ्रष्टाचार बढदो छ । न्यायको अनुभूति कसैले गर्न पाएका छैनन । यो देशमा कुन राजनीतिक दल राम्रो छ र तिनका नेतृत्व कस्ता छन ? र केकेमा फसिसकेका छन त्यो त अहिलेका युवाहरुले बुझिसकेका छन कि अब कुनै दलका नेतृत्व पङतिहरु नचोखिए हुन्छ कि यहाँ हाम्रा पार्टी होइन राम्रा मान्छेहरुको जमात खोजेको छ , देशले । नखोजुन पनि कसरी ? एउटै बयोबृद्द ब्यक्ति ४÷५ पटकभन्दा पनि बढी देशको शासन सत्ताको बागडोर सम्हालिराख्दा देशको अवस्था के भएको होला हिजो , सबैले थाहा पाएकै कुरा हो । न भ्रष्टाचार रोक्छन , न सुशासन राम्रो दिन्छन , कुनै क्षेत्रमा । सबैतिर बेहालै बेहाल बनाइदिएर देश दोहन गरिसक्दा बल्ल जेन – जी नेतृत्वको भनौ या कुनै अदृश्य ब्यक्तिहरुको चलखेलले गर्दा हो सरकार यतिबेला पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार हुँदा सम्म एउटा जनप्रभावी काम भएकै छैन । यो बेलामा त यो सरकारले आगामी फागुन २० सम्ममा काम गरेर देखाउनु पर्ने हो अनि हिजोका भ्रष्टाचारी , कमिसनखोरीहरुलाइ पक्रेर जेल हाल्नुपर्ने होइन र ? त्योसम्म काम गर्न सकेन , यो सरकारले । जेन – जीहरुको बलिदान र उत्सर्गले हिजो सत्ताको वहिर्गमन भए पश्चात् अहिले बनेको सरकारले जनताको मन जित्ने काम गर्न सकेन । उनीहरूलाई पनि सरुवा , बढुवामै ब्यस्त भएको देख्दा अब हेर्नुहोस अनिष्टको सङकेत देखापर्दैछ , हाम्रो देशमा । यहाँ चिन्ता र सरोकारको कुरा गर्नेहरु कहिँ देखिन्न । हिजोका दिनमा जे जस्तो थियो आज त्यस्तै छ कहिँ कतै परिवर्तन देखिन्न । फागुन २१ गतेको निर्वाचन आउन पनि अब धेरै दिन छैन , रहे छुटेका कामहरु गर्न अझै बाकी छन तर पूरा हुने आशानै जागेको छैन । यतिबेला चटारो छ ठूला दलहरुलाइ , एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि छनौटमा प्यानल – प्यानलबाट निर्वाचित भएर आएका छन । अरु ठूला दलहरुको सामूहिक एकता भएर नेपाली कम्युनिस्ट पार्टीको निर्माण भयो भने सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस मौन रहदै परिवारवाद हावी भएको पुरानो विरासत कसरी तोढ्ने भन्ने अवस्थामा छन ।
उनीहरूपनि कसलाई सभापतिमा निर्वाचित गराउने हो , सभा, सम्मेलन र सेमिनारमा ब्यस्त छन । सबै आ– आफ्नै गठजोडमा ब्यस्त हुँदा यहाँ नेपाली जनताको काम गर्न सकेन, यो सरकारले । हिजो महान जनयुद्ध र ४६ सालको जनआन्दोलन अनि ६२÷६३ को जनआन्दोलनले ल्याएको पुरानो विरासत सबै भत्किएर जादासम्म दलहरु “ चु “ सम्म बोल्न नसक्नु कतिसम्म लज्जास्पद कुरा हो । यो दोष एमाले , नेपाली काङ्ग्रेस र माओबादी पार्टीका शीर्ष नेताहरूले अहिलेपनि आफूले गरेको भूल स्वीकार गर्न सकेका छैनन । उनीहरूका जिल्ला देखि केन्द्र अनि स्थायी समिति सदस्य जतिका नेताहरूले सामाजिक संजालमा छरेको भ्रमपूर्ण कपोकल्पित भनाइबाटै सोझै अनुमान गर्न सकिन्छ कि उनीहरू अझै देशमा अर्को अनिष्ट आओस भन्न चाहन्छन । “ कहाँ जालास मच्छली मेरै ढडिया “ भन्ने दाउपेचमा देखिएका छन । जनतामा किन निराशा जन्मियो ? यो निराशाले तेस्रो शक्तिहरुलाइ अर्को दाउपेच हुन्छ हुन्न होला ? योसम्म सोच मनन गर्न सकिरहेको देखिन्न । हिजो आफ्ना नेताले गरेको गल्तीका कारण अहिले के परिणाम भोग्नुपरेको छ भन्ने कुरा नबुझ्नु कतिको नालायकीपन हो भन्ने कुरा बुझ्न नसक्नु जुम्सोपन हो ।
हिजो जे गर्यौ , के गर्यौ ? सबैलाई थाहै छ , तर अबको हाम्रो बाटो के हो ? कसरी यो राजनीतिक निकास खोज्ने आगामी दिनमा । बेलैमा सदबुद्धि आउन सकोस । अब यहाँ दर्शन छाटेर , वादका भ्रम फ्याकेर हुनेवाला केही छैन । हिजोको जनमत फेरि आउला कि भन्ने नसोच । बचेखुचेका साख जोगाउ । जनताको मन कहिले टाल्ने नेताज्यू ?