देश–समाज मुख्य समाचार स्थानीय

बाढीको जोखिम न्युनिकरणमा बाँध धमाधम निर्माण गरिँदै

दमक/ बर्षौं देखि झापाका विभिन्न भागमा बाढीले निरन्तर दुःख दिएपछि यो वर्ष क्षति हुन नदिनेतर्फ सजगतापूर्वक काम अगाडि बढेको छ । यस क्षेत्रमा पछिल्लो समय बाढीबाट प्रभावित क्षेत्रको पहिचान गरी धमाधम बाँध निर्माणको काम भईरहेको छ । संघीय सरकार सहित विभिन्न कार्याक्रमबाट ऋण तथा सहयोगमा झण्डै ६५ करोड बजेटमा दुई दर्जन बढी स्थानमा बाँध निर्माणको काम हुँदै आएको हो
२०८१ सालको असोज महिनामा आएको वेमौषमी बर्षा र बाढीले झापाका धेरै स्थानमा लगाएको बाँध समेत फुटाएर बाढी बस्तीमा पसेर वितण्डा मच्चाएको थियो । सयौं विगाह जमिन बगर बने भने सयौं घर परिवार विस्थापित भए । तर पछिल्लो समय रतुवा खोलाको गौरादह नगरपालिका क्षेत्रमा भने धमाधम बाँध निर्माण हुन थाले पछि स्थानीय बासिन्दालाई बाढीबाट बाँचिने आशा पलाएको छ । यस अघि बर्खामा टापुमा परिणत हुने तेलियाडाँगी गाउँ यस बर्ष देखि सुरक्षित हुने आशा पलाएको स्थानीय अगुवा यारीलाल शर्मा बराइले बताउँछन् । यस अघिका बर्षमा भएको २ विगाह जग्गा बगर बने पछि अहिले बनिवुतो गरेर जिविकोपार्जन गर्दै आएको उनले बताए ।
अति जोखिम क्षेत्रको २२ वटा प्याकेजमा कामको प्रकृया हालै आएर थालिएको छ । रतुवाको जोखिम क्षेत्रमा १ हजार ८ सय मिटर लम्बाईको बाँध निर्माण गरी तारजालीको काम सम्पन्न हुने चरणमा पुगेको जिल्लामा नदि नियन्त्रणमा काम गर्दै आएको जनताको तटबन्ध कार्यक्रमको कार्यालय प्रमुख विजयकुमार रेग्मीले बताए । रेग्मीमा अनुसार केही योजनाहरू ठेक्काको चरणमा रहेका छन् भने केही ठेक्का लागि धमाधम काम हुँदै आएका छन् । यस अघि रतुवा खोला पूर्वी क्षेत्रमा मात्र पनि गौरादह नगरपालिकाको धेरै वटा वस्तीमा बाढी पसेर क्षति गरेको थियो । यो बर्ष पूर्व मनसुन शुरु भइसकेकाले बाँध निर्माणको काम पुरा नहुँदा समस्या आउन सक्ने जोखिम क्षेत्रका बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । यो साल समेत पानी परेर बाढी आउन थालेकाले कतै बालुवाको बाँध उठाएको क्षेत्रमा तारजाली लगाउँन नभ्याउँदा बगाउने पो हो कि भन्ने चिन्ता बढेको अर्का बाढी पीडित सतनलाल शर्माले बताए ।
बाढी आउँदा झण्डै एक सय घर परिवार रहेको तेलियाडाँगी गाउँ टापुमा परिणत भइ जोखिममा बस्दै आएका छन् ।
नदि तथा खोलामा बाढीको जोखिम नियन्त्रणका लागि चालु आर्थिक बर्षमा संघीय सरकारको अर्थ मन्त्रालयबाट १८ करोडको ८ वटा प्याकेज र विपद पूर्नलाभ कार्याक्रम मार्फत २० करोडमा १४ वटा प्याकेजको काम हालै आएर शुरु भएका छन् । यस बाहेक एशियाली विकास वैंकको झण्डै २७ करोड ऋणमा ४ हजार ३ सय मिटर बाँध निर्माणको काम ४ महिना अघि देखि नै हुँदै आएको जनताको तटबन्ध कार्यक्रम कार्यालय गैंडेले जानकारी दिएको छ ।

Author

You may also like