सबै साधु मानिस हुन्, तर सबै मानिस साधु होइनन् ।
सबै मानिस विद्यार्थी हुन्छन तर सबै विद्यार्थी शिक्षक हुँदैनन ।
शिक्षक पेशा उज्यालोको अनुपम उपहार हो । यसको मानमर्दन, इज्जत र प्रतिष्ठामा आँच आउनु वा पु¥याउनु भनेको अध्यारो खोज्नु सरह हो । शिक्षा विना संसारमा विकास असम्भव छ । जब मानिस चेतनशिल हुन्छ तब मात्रै भौतिकवादका निम्ति चेतनाको स्तर बृद्धि हुन्छ । सामाज रुपान्तरण र चेतना बृद्धिमा शिक्षकहरुको नै भूमिका हुन्छ । तिनै शिक्षक पढाएका विद्यार्थीहरु वकिल, डाक्टर, इन्जिनियर, नेता, पत्रकारलगायत विभिन्न क्षेत्रका दक्ष जनशक्ति बन्ने गर्दछन् । आफुले पढाईको विद्यार्थी कुनै पनि क्षेत्रमा दक्षता हासिल गरेको देख्दा नै शिक्षकको मनपेट भरिन्छ, प्रफु्ल्लित हुन्छ र आनन्द महसुस गर्दछ । उसको सफलता त्यती हो ।
यहि वर्ग यतिखेर आन्दोलनमा होमिएको छ । केही शिक्षकका सेवा सुविधा कुरा त केही नीतिगत सुधारका कुरा लिएर उनीहरु राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन । यो पहिलो पटको उनीहरुको आन्दोलन होइन । पटक पटकका आन्दोलनमा राज्यबाट धोका पाएकाहरु अहिले धोका नखाने गरी उनीहरुले खोजेको चिज लिएरै जाने गरी चैत्र २० देखि सडकमा बौद्धिकताका आधारमा आफुलाई प्रस्तुत गरिरहेका छन् । देशभरका लाखौं विद्वत वर्ग एउटा सहरको रोडमा गएर दैनिक कराईरहँदा, मागिरहँदा पनि शासकलाई लाज हुनुपर्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा त्यसको गलत म्यासेज नजाओस् भनेर बेलैमा समस्या समाधान गर्नुको सट्टा उनीहरुको जिम्मेवारीमाथि नै आँच पु¥याउँदै विद्यार्थी पास र फेलको कुरा जोडेर सरकार सकारात्मक नभएर बक्रदृष्टि लगाईरहेको प्रतित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली हरेक दिनजसो तिनै शिक्षकहरुलाई पार्टीका मञ्चबाट मात्र होइन निजी विद्यालयको मञ्चमा उभिएर सामुदायिक विद्यालयका शिक्षकहरुलाई गालीगलौज गरिरहेका हुन्छन । देशको सबैभन्दा ठूलो गरिमामय पदमा बसेको व्यक्तिबाट त्यस्तो निच स्वभावको कल्पना समेत शिक्षकले गरेका थिएनन् । आफुले जिताएर पठाएका प्रधानमन्त्रीबाट हाम्रा माग समयमै सम्बोधन हुन्छन अनि घर फकौला भनेर उनीहरु सडकमा आएका थिए तर २२ औं दिनसम्म पनि सडकमै छन । सार्वजनिक शिक्षाको जग हल्लाउने गरी यतिखेर शैक्षिक क्षेत्र अस्तव्यस्त बनाइएको छ । एकातिर नयाँ शैक्षिक सत्र सुरु भएको छ । यसलाई अभियानको रुपमा लैजाने गरेका विगतको निरन्तरता अवरुद्ध भएको छ । अर्कोतिर एसईई परीक्षा दिएका विद्यार्थीका कापीमा धमिरा पसिसकेका छन् । चेकजाँच गर्ने छेकछनक छैन, कक्षा १२ को परिक्षा, परिक्षा हुनु २ दिन अगाडिसम्म जसरी पनि गर्ने भनेर अहंकार प्रदर्शन गर्ने काम सरकारले गरे पनि अन्ततः त्यसबाट पछाडि सरेर परीक्षा सारिएको छ । यस्ता अनेकन समस्यामाथि समस्या आउन नदिन शिक्षकका मागमाथि बेलैमा छलफल गरेर घर पठाउनुपर्ने दायित्व सरकारको भएपनि उनीहरुलाई अझ चिढ्याउने र सरकारप्रति नै वितृष्णा पैदा गर्ने काम गरेको छ । जसले शिक्षकको मान, सम्मान र स्वाभिमानमा चोट पुगेको बुझाइ शिक्षकको छ । देशको शैक्षिक क्षेत्रमा यति ठूलो क्षति दिनदिनै भईरहँदा पनि शासक ब्युँझिन नसक्नु दुःखद् र विडम्बना मान्नुपर्छ ।
मानिस जातिको आदिकालदेखि प्राकृतिक, जैविक वंशानुगत, सामाजिक र विस्तारै प्राविधिक रूपमा पनि विचारहरू पुस्तान्तर हुँदै गएर आजको चेतनाको स्तर निर्माण भयो, जुन प्रक्रियाको मानवीय माध्यम शिक्षक हो भन्ने हेक्का पनि हुनु जरुरी छ । ऋषि, महर्षी, गुरु, सद्गुरुदेखि अध्यापक, प्राध्यापक, प्रशिक्षक, सहजकर्ता, लेखक, साहित्यकार, पत्रकारको लगाव र मेहनतबाटै आजको चेतनाको अभिवृद्धि भएको भुल्न हुन्न । मानिसका यिनै विचार र बुद्धिअनुसार अनेकौं काम गरिएर आजको भौतिक र भावनात्मक संसार बनेको छ । के पनि बुझौ भने शिक्षक हजारौं लाखौं सम्मानले हावा भरिएको बेलुनझै फुकेको हुन्छ । एउटै पनि असम्मानले च्वास्स घोच्दा फुटेर आकारविहीन बन्न जान्छ । तर राजनेता वा अन्य केही पेशाकर्मीहरू चाहिँ आफूभित्र सम्मानको फलामे आकृति बनाउँछन्, जसमा कसैले थुके पनि दाँत देखाएर हाँस्न सक्छ, माला लगाइदिए भने गर्वले कुर्लन्छ। स्वाभिमान र अभिमानको फरक पनि यसरी नै हुन्छ । यद्यपि सम्मानको पहिलो हकदार भने शिक्षक नै हो । उसको स्वाभिमानमा चोट पु¥याउने शैक्षिक सन्तुलन खलबल्याउने र समाजलाई अन्धकारमा धकेल्ने प्रयत्न कहिँ कसैबाट हुनुहुन्न ।
शिक्षकका मागका सम्बन्धमा सरकारको ढिलासुस्ती, प्रतिक्रियाशील र आश्वासनले होइन नतिजा दिने गरी आश्वस्त बनाएर फर्काउनु जरुरी छ । अन्यथा आन्दोलनले यस्तो विन्दु छोइसकेको छ, जहाँ ‘सम्झौता गर्न सकिने अवस्था नियन्त्रणबाहिर जान सक्ने’ चिन्ता थप गहिरिँदै गएको छ । शिक्षकको आन्दोलन सरकारको रमिताले भोलिका दिनमा आम विद्यार्थी र अभिभावक सडकमा आएपछिको अवस्थाको अजरअन्दाज कसैले गर्ला र ?