देश–समाज शिक्षा समाचार स्थानीय

झापा मोडलमा विद्यार्थीहरुलाई संघीय संसदको नमुना अभ्यास

दमक\झापाको दमक–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई संघीय संसदको प्रतिनिधि सभा बैठक संचालनको नमुना अभ्यास गराएको छ । विद्यालयको सभाहलमा विहीबारदेखि शुक्रबार सम्म गरी २ दिन यस्तो अभ्यास गराइएको हो । नयाँ पुस्तामा राजनीतिक, कानुनी तथा राज्य संचालनको ज्ञान साथै नेतृत्व विकासका लागि यस्तो अभ्यास गराइएको झापा मोडलका संस्थापक निर्देशक जय बहादुर श्रेष्ठले जानकारी गराए ।
अबको युवा युवा पुस्ताको हो । उनीहरुलाई विधायकी ज्ञान, कानुनी व्यवस्था र लोकतान्त्रिक राज्यमा हुने संसदीय अभ्यासको ज्ञान दिलाएर बेलैमा क्षमतावान र राज्यको सबै संरचनाहरुमा काम लाग्ने जनशक्ति उत्पादन गर्न झापा मोडलले विगतका वर्षहरुदेखिनै यस्तो नमुना अभ्यास गर्दै आएको छ । साथै देशको नीति निर्माणमा विधायहरुको भूमिका कस्तो हुन्छ र त्यो कसरी निर्वाह गरिन्छ भन्ने कुरालाई व्यवहारमै प्रयोगात्मक तरिकाले दुई दिन सम्म विद्यार्थीहरुलाई नै पात्र बनाएर गरेर देखाइएको झापा मोडलका प्रिन्सिपल सागर श्रेष्ठले बताए । यस्तो अभ्यास विरलै स्कूलहरुले गर्ने गरेका छन् ।
संघीय संसदको यो नमुना अभ्यासबाट कक्षाकोठामा पढेको सैद्धान्तिक ज्ञान प्रयोगात्मक रुपमा व्यवहारमा सिक्ने मौका सहभागी विद्यार्थीहरुलाई प्राप्त भएको झापा मोडलका शिक्षक तथा चर्चित युवा कवि धनकुटे कान्छाले प्रष्ट पारे । ‘ ‘हामीहरुलाई झापा मोडलले भविष्यमा जानिने कुरा विद्यार्थी जीवनमा यो कलिलो उमेरमानै सिकाएको छ । यस्तो मौकाका लागि विद्यालयलाई धन्यवाद दिनुपर्छ ।’ झापा मोडलकी विद्यार्थी इन्सानी खतिवडाले प्रतिक्रिया जनाइन् । नमुना अभ्यासको आयोजना झापा मोडलले गरेकोमा दमकका ढुकुरपानी मा.वि., भृकुटी मा.वि, सरस्वती मा.वि.इटाभट्टा, सरस्वती आधारभूत विद्यालय बेलडाँगी, स्कूलचौन मा.वि. गौरादह र कमल गाउँपालिकाको स्मारिका मा. वि. का कक्षा ८ देखि १२ सम्मका १२५ भन्दा बढी छानिएका विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस्तो कार्यक्रम शुक्रबारनै समापन पनि गरिएको छ ।
संघीय संसदको नमुना अभ्यासका लागि सहजीकरण गर्ने काम नेपाल ल क्याम्पस काठमाडौं र काठमाडौं विश्वविद्यालयको कानुन संकायका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले गरेका थिए । सहजकर्तामध्येका काठमाडौ विश्वविद्यालयका कानुन संकायका विद्यार्थी मन्दीप पौडेलले यस्तो नमुना अभ्यासको आयोजना गर्नु निकै चुनौतीपूर्ण भएपनि सफलतापूर्वक सम्पन्न गरेको र सहभागी विद्यार्थीहरुले कानुन र व्यवहारिक अभ्यासको राम्रो जानकारी लिन पाएको बताए ।
जेनजी आन्दोलन पछि राजनीतिमा नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने माग र आवश्यकता महशूस भइरहेका बेला विद्यार्थीहरुका लागि संसदीय अभ्यासको अवसर प्रदान गरिनु सकारात्मक भएको उनको भनाई छ । यस कार्यक्रमको उद्घाटन सत्रमा कोशी प्रदेशका सभासद गोपाल तामाङ तथा समापन सत्रमा संविधान सभा सदस्य दिपक कार्की प्रमुख अतिथि रहेका थिए । तामाङ र कार्कीले विद्यार्थी जीवनमानै व्यवस्थापिका संसदको अभ्यास गराउने कार्य प्रशसंनीय भएको भन्दै त्यसबाट सवल र सक्षम युवा पुस्ताको विकास हुने बताए । अभ्यासका क्रममा प्रतिनिधि सभामा कसरी विधेयकहरुमाथि विभिन्न समितिमा छलफल हुन्छ र त्यसलाई कानुनका रुपमा विकास गरिन्छ भन्ने प्रकृयाका बारेमा पनि स्वयं विद्यार्थीहरुलाईनै विभिन्न भूमिकाको नमुना पात्र बनाएर जानकारी प्राप्त गर्ने अवसर प्रदान गरिएको थियो । समापन कार्यक्रममा दमक नगरपालिकाका शिक्षा अधिकृत सोमनाथ गुरागाईले झापा मोडलले गरेको यो पृथक किसिमको कार्यक्रमले विद्यार्थीहरुमा नयाँ अनुभूति र ज्ञान दिलाएको आफूले पाएको प्रतिक्रिया दिए ।

Author

You may also like